सन्तोष दहित
दाङ, वैशाख १५ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भालुबाङ अस्पतालको उद्घाटन गर्नुभएको छ । उपस्वास्थ्य चौकी, स्वास्थ्य चौकी, प्रस्तावित अस्पताल हुँदै भालुबाङ अस्पताललाई ५० शय्यामा स्तरोन्नति गरिएको हो ।
प्रस्तावित भालुबाङ अस्पतालले अस्पतालको रूपमा मान्यता पाएपछि सोमबार मुख्यमन्त्री आचार्यले उद्घाटन गर्नुभयो । मुख्यमन्त्री आचार्यले भालुबाङ अस्पताललाई विशिष्टीकृत अस्पतालको रूपमा प्रदेश सरकारले अघि बढाएको र जनशक्तिको व्यवस्थापनसहित गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गरिने बताउनुभयो । दाङ, अर्घाखाँची, प्युठान, रोल्पालगायतका जिल्लाका नागरिकले उपचार पाउने भरपर्दो अस्पतालको रूपमा अगाडि बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
त्यस्तै, मुख्यमन्त्री आचार्यले प्रदेश सरकार मातहत रहेका अस्पतालबाट विशेषज्ञ उपचार सेवा प्रभावकारी रूपमा सञ्चालन गरिने बताउनुभयो । अस्पतालहरूलाई पूर्वाधार सम्पन्न, विशेषज्ञ जनशक्तिको व्यवस्थापनसहित उपकरण र सेवा प्रवाहलाई चुस्त बनाउनेगरी सरकार अघि बढेको उल्लेख गर्नुभयो । दुर्गम क्षेत्रका अस्पतालमा विशेषज्ञ डाक्टरको व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राखिएको र सुगम क्षेत्रका अस्पतालमा थुप्रिएको जनशक्ति अन्य स्थानमा पठाउन सरकार लागिपरेको बताउनुभयो ।
नयाँ विशेषज्ञ जनशक्ति भर्ना गर्न खोलिएको विज्ञापनमा अपेक्षित आवेदन नआएकोप्रति चिन्ता व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले प्रदेशमा आउने विशेषज्ञ चिकित्सकलाई सरकारले प्रोत्साहन गर्ने स्पष्ट पार्नुभयो । ‘सुगम क्षेत्रका अस्पतालमा विशेषज्ञ जनशक्ति थुप्रिने तर अन्य अस्पतालमा जनशक्ति नहुने अवस्थालाई अन्त्य गर्न चाहन्छौं’ मुख्यमन्त्री आचार्यले भन्नुभयो, “सरकारले यस्ता समस्यालाई गम्भीर रूपमा लिन्छ र सुधारका लागि पहल गर्छौं ।’
मन्त्री खेमबहादुर सारुले सबै नागरिकको स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न जरुरी रहेको बताउनुभयो । प्रदेश सरकारले सुशासन, पारदर्शिता र भ्रष्टाचार निवारणमा ध्यान दिँदै गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउन प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो । अस्पतालहरूमा विशेषज्ञ चिकित्सकको जनशक्ति व्यवस्थापनमा सरकारले विशेष ध्यान दिएको जानकारी गराउनुभयो ।
राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टले यसअघि विशेषज्ञ सेवा लिन अन्यत्र जानुपर्ने बाध्यता रहेको र अब उक्त बाध्यता अन्त्य भएको बताउनुभयो । साथै, अस्पतालको जग्गा प्राप्तिको विषयलाई छिटो टुङ्गोमा पुर्याउन जोड दिनुभयो ।
स्वास्थ्य सचिव दुर्गालक्ष्मी श्रेष्ठले भालुबाङ अस्पतालमा विशेषज्ञ उपचार सेवा विस्तार गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “स्वास्थ्य संस्थामा जनशक्तिको व्यवस्थापनमा प्रदेश सरकारले ध्यान दिएको छ । गुणस्तरीय सेवा प्रवाह सुनिश्चित गर्दै नवीन उपकरणहरूको प्रयोगमा ध्यान दिएका छौं । स्वास्थ्य संस्थाहरूलाई आत्मनिर्भर बनाउनेतर्फ पनि ध्यान दिन जरुरी छ ।’
स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक रोशनलाल चौधरीले सबैको सहकार्य र योगदानको आधारमा अस्पतालको सेवा विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।
अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. आकाश बेल्वासेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा डा. रणबहादुर बोगटीले उपस्वास्थ्य चौकी, स्वास्थ्यचौकी हुँदै प्रस्तावित अस्पताल भएर भालुबाङ अस्पतालको रूपमा अगाडि बढेको जानकारी दिनुभयो । २०७८ सालमा प्रस्तावित अस्पतालको रूपमा स्वीकृत भइसकेको अस्पतालमा अहिले विशेषज्ञ सेवा विस्तार गरिएको हो ।
अस्पतालमा जटिल प्रसुति सेवा अन्तर्गत शल्यक्रिया गरिँदै आएको छ । हालसम्म ५१ वटा जटिल प्रसूतिको शल्यक्रिया गरिएको छ । साथै, सर्जरी सेवा विस्तार गरिएको र अब रक्त सञ्चार केन्द्र आवश्यक रहेको जानकारी गराइएको थियो ।