• १५ वैशाख २०८२, सोमबार

जन्डिसको सुइ लगाएको दुई मिनेटमै मृत्यु

blog

स्थानीय मेडिकल उपचारका क्रममा मृत्यु भएको निरजबहादुर शाही । तस्बिर : चाँदनी आचार्य

चाँदनी आचार्य
घोडाघोडी(कैलाली), वैशाख १५ गते ।
कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ८ का निरजबहादुर शाहीको स्थानीय मेडिकलमा सुई लगाएको दुई मिनेटमा निधन भएको छ । ३५ वर्षीय शाही सोमबार बिहान टाउको दुखेपछि नजिकै रहेको दहित मेडिकलमा पुग्नुभएको थियो ।

उक्त मेडिकल सञ्चालक इन्द्र दहित काठमाडौँ गएको अवस्थामा मेडिकलमा कार्यरत ल्याब असिस्टेन्ट महावीर चौधरीले जन्डिस छ भन्दै सुई लगाएको केही समयमै शाहीको निधन भएको प्रत्यक्षदर्शीले बताउनुभयो ।

झाडापखालको उपचार गराउन गएका सोही ठेगाना भएका खडकबहादुर साउँदले भन्नुभयो “मलाई सलाइन चढाएपछि निरज भाइलाई एउटा इन्जेक्सन दिइएको थियो । इन्जेक्सन दिने बित्तिकै खोक्न थाल्नुभयो । खोक्दा खोक्दै मुखबाट फिज आयो । एकछिनमा छटपटिन थाल्नुभयो, मुखबाट फिजसहितको लहरा जस्तो फाल्नुभयो ।”

बिरामीको अवस्था एक्कासी छटपटिएको देखेपछि साउँदले के भयो भन्दै प्रश्न गर्नुभयो । चिकित्सकले कसैकसैलाई इन्जेक्सनले यस्तै हुन्छ भन्दै मुखबाट कृतिम श्वास दिने प्रयास गरे पनि उहाँको मृत्यु भइसकेको प्रत्यक्षदर्शी साउँदले सुनाउनुभयो  ।

मृतक शाहीका ससुरा रामबहादुर शाहीले बिहानसँगै खाजा खाएर ज्वाइँ मेडिकल गएको  बताउनुभयो । शाहीले भन्नुभयो “सँगै चिया खाजा खाएर छोराछोरी स्कुल छोडेर टाउको दुखेको छ भन्दै मेडिकल जानुभएको हो । एकै छिनमा मृत्युको खबर सुन्न पर्‍याे। केहि नभएको मेरो ज्वाइँको मृत्यु कसरी भयो ? सुई लगाउने मान्छे किन भाग्यो ? हामीलाई न्याय चाहिन्छ ।”

निरजको निधन भएको केहि क्षणमै ल्याब असिस्टेन्ट चौधरी भागेका छन् । घटनाको जानकारी गराए लगत्तै  इलाका प्रहरी कार्यालय सुखडबाट आजैमात्र सरुवा भई आउनुभएका कार्यालय प्रमुख एवम् डिएसपी रमेश अवस्थीको नेतृत्वमा १० जना प्रहरी घटनास्थलमा खटिएका छन् ।

घटना भएलगतै फरार चौधरीको खोजी कार्य भइरहेको मेडिकल सञ्चालक इन्द्र दहितले जानकारी दिनुभयो । शव पोस्टमार्टमका लागि पठाउने तयारी भएको डिएसपी अवस्थीले जानकारी दिनुभयो । अहिले घटनास्थलमा मृतकका आफन्त तथा स्थानीयको भिडभाड लागेको छ ।