• २६ वैशाख २०८१, बुधबार

ग्यास आयात आठ अर्बले घट्यो

blog

काठमाडौँ, कात्तिक १६ गते  । बजारमा खाना पकाउने एलपी ग्यासको खपत घटेको छ । 

ग्यासको आयात घटेसँगै खपतमा कमी भएको हो । विगतका वर्षमा वार्षिक १० देखि १५ प्रतिशत ग्यासको खपत बढ्ने गरेकामा गत आर्थिक वर्षमा पाँच प्रतिशतले खपत घटेको हो । पछिल्लो समय विद्युतीय चुलो (इन्डक्सन) को प्रयोग बढ्दै गएकाले पनि ग्यासको खपतमा कमी आएको देखिन्छ । 

बिजुली र अन्य स्रोतभन्दा सस्तो पर्ने हुँदा ग्यासको खपत बढी हुने गरेको छ । नेपाल आयल निगमका अनुसार आर्थिक वर्ष २०७९/८० मा ५३ अर्ब रुपियाँ बराबरको पाँच लाख १२ हजार मेट्रिक टन ग्यास आयात भएको छ । आव २०७८/७९ मा ६१ अर्ब रुपियाँ बराबरको पाँच लाख ३६ हजार ६९८ मेट्रिक टन ग्यास आयात भएको थियो । अघिल्लो वर्षको तुुलनामा आठ अर्ब रुपियाँ बराबरको ग्यास आयात कम भएको छ ।

निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र साहले खाना पकाउनका लागि बिजुलीको प्रयोग बढ्दै गएपछि ग्यासको आयातमा कमी आएको जानकारी दिनुभयो । 

आर्थिक गतिविधि कम हुँदा ग्यासको खपत घटेसँगै आयातमा कमी आएको उहाँको भनाइ छ । विद्युत् आपूर्ति नियमित हुनु र आर्थिक मन्दीका कारण ग्यासको आयातमा गिरावट आएको उहाँको भनाइ छ । बिजुलीभन्दा सस्तो पर्ने र पकाउन छिटोछरितो हुने हुँदा उपभोक्ता इन्डक्सनतिर आकर्षित हुन थालेकाले ग्यासको खपत घट्न गएको उद्योगीको भनाइ छ । ग्यास बिक्रेता महासङ्घका पूर्वअध्यक्ष ज्ञानेश्वर अर्यालले व्यावसायिक प्रयोगमा ग्यासको खपतमा गिरावट भएको जानकारी दिनुभयो । 

आर्थिक सङ्कटका कारण होटल, रेस्टुरेन्टको व्यापारमा कमी हुनु, विद्युत्को आपूर्ति नियमित हुनु, बढ्दो महँगीले गर्दा सर्वसाधारणले खर्च कटौती गर्दा खपत कम हुन गएको उहाँको भनाइ छ । मुलुकमा देखिएको आर्थिक सङ्कटका कारण ठुला रेस्टुरेन्टमा कारोबार घटेकाले ग्यासको खपतमा कमी आएको उहाँको भनाइ छ । 

निगमका अनुसार आव २०७७/७८ मा ३४ अर्ब २४ करोड ६० लाख ५८ हजार रुपियाँ बराबरको चार लाख ८१ हजार २५८ मेट्रिक टन ग्यास आयात भएको छ । आव २०७६/७७ मा २८ अर्ब ६२ करोड, ७६ लाख ५१ हजार रुपियाँ बराबरको चार लाख ४८ हजार ५४९ मेट्रिक टन आयात भएकामा आव २०७५/७६ मा ३३ अर्ब ९३ करोड ३९ लाख छ हजार रुपियाँ बराबरको चार लाख २९ हजार ५०२ मेट्रिक टन ग्यास आयात भएको थियो । 

यस्तै आव २०७४/७५ मा २५ अर्ब ५७ करोड ६३ लाख ५४ हजार रुपियाँको तीन लाख ७६ हजार ५१२ मेट्रिक टन आयात भएकामा आव २०७३/७४ मा १९ अर्ब ४२ करोड १६ लाख ४९ हजार रुपियाँको तीन लाख १४ हजार ४३७ मेट्रिक ग्यास आयात भएको निगमको तथ्याङ्क छ । 

औद्योगिक प्रयोजनका लागि प्रयोग हुने ग्यासमा विशेष गरी सिसा उद्योग, छड र फलाम उद्योगमा प्रयोग हुने गर्छ । यी उद्योगमा फर्नेस आयलको प्रयोग हुने गरेकामा फर्नेस आयल महँगो हुँदा ग्यासको प्रयोग हुने गर्छ । ग्यास प्रयोग हुने उद्योगहरू आर्थिक मन्दीका कारण पूर्ण रूपमा चल्न नसक्दा खपतमा कमी आएको व्यवसायीको भनाइ छ । बजारमा विद्युत्को प्रयोग बढ्दै गएपछि ग्यासको खपतमा कमी भएसँगै आयातसमेत खस्किन थालेको छ । ग्यासभन्दा बिजुली सस्तो पर्ने हुँदा पछिल्लो समय विद्युतीय चुलो (इन्डक्सन) को प्रयोग बढ्दै गएको पाइन्छ । मुलुकमा खपत ७० प्रतिशत परम्परागत दाउरा, गुइँठा, बायोग्यास, ३० प्रतिशत ग्यास कोइला, बिजुलीबाट हुन्छ । 

राष्ट्रिय जनगणना २०७८ अनुसार मुलुकभर ४४ प्रतिशत घरधुरीले ग्यासको प्रयोग गर्ने गरेका छन् । पछिल्लो समय सहरी क्षेत्रमा मात्र नभएर गाउँ गाउँमा समेत ग्यासको प्रयोग बढ्दै गएको छ । हाल बजारमा प्रतिसिलिन्डर ग्यासको मूल्य एक हजार ८९५ रुपियाँ छ । निजी उद्योगी व्यवसायीले भारतका विभिन्न रिफाइनरीबाट ग्यास आयात गर्दै आएका छन् । छिमेकी मुलुक भारतका विभिन्न रिफाइनरी केन्द्रबाट खाना पकाउने ग्यास आयात हुने गर्छ । मुलुकमा विभिन्न ५५ वटा ग्यास उद्योगले आयात गरी बजारमा वितरण गर्ने गरेका छन् ।