• २२ वैशाख २०८१, शनिबार

महासचिवको सम्बोधनको पूर्ण पाठसहित

नेपाल विश्वको मित्र हो, म ज्यादै खुसी छु : महासचिव गुटेरेस

blog

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टनियो गुटेरेस नेपालको सङ्घीय संसदमा सम्बोधन गर्नुहुँदै । तस्बिर : गोरखापत्र

काठमाडौं, कात्तिक १४ गते । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टनियो गुटेरेसले नेपाल विश्वको मित्र भएको बताउनुभएको छ । सङ्घीय सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्नुहुँदै गुटेरेसले सो कुरा बताउनुभएको हो । 

सभामुख देवराज घिमिरेले सम्बोधनका लागि आग्रह गर्नुभएपछि महासचिव गुटेरेसले संसद्लाई सम्बोधन गर्नुभयो । “यो असाधारण देशको भ्रमण गर्न पाउँदा म ज्यादै खुसी छु । मैले देखेका कुराले एक सामान्य सत्यलाई पुष्टि गर्दछन् – नेपाल विश्वको मित्र हो । विश्व नेपालका लागि असल मित्र हुनुपर्छ” उहाँले भन्नुभयो । 

संयुक्त राष्ट्र सङ्घले यसलाई वास्तविकतामा रूपान्तरण गर्नका लागि सङ्घर्ष गर्न नछाड्ने उहाँले प्रतिबद्धता जनाउनुभयो । नेपालमा सङ्घीय सांसदहरूसँग साक्षात्कार हुन पाउनु आफ्नो लागि सम्मानको कुरा भएको उहाँले चर्चा गर्नुभयो । मनमोहक नेपालमा पुनः आउन पाउनु आफ्नो लागि सौभाग्य भएको उहाँले चर्चा गर्नुभयो । आफू पहिलो पटक नेपालमा सन् १९७० को दशकमा आएको पनि उहाँले बताउनुभयो ।

“जति पटक म यहाँ आएको छु, म छक्क परेको छुँ” महासचिव गुटेरेसले भन्नुभयो, “विगत केही दिनमा मैले देखेका र अनुभव गरेका कुरा मसँग सधैँ रहनेछन् । हिमालयमा सूर्यको किरण, जनसमुदायको न्यानोपन र समृद्ध सांस्कृतिक विविधताको अनि पक्कै पनि लुम्बिनीको पवित्रता । म र मेरो प्रतिनिधिमण्डललाई तपाईँहरूको निमन्त्रणा, तपाईँहरूको आतिथ्यता र स्वागतका लागि म नेपाल सरकारलाई धन्यवाद दिन्छु ।”

विश्वमा हिंसा र द्वन्द्व चुलिएका बेला आफू नेपालको भूमिमा आएको चर्चा गर्नुहुँदै महासचिव गुटेरेसले भन्नुभयो, “मध्यपूर्वको द्वन्द्व नेपालबाट हजारौँ माइल टाढा हुँदा पनि इजरायलमा हमासको क्रूर आक्रमणका कारण पीडितहरूमध्ये धेरै नेपाली पनि परे । मृत्यु भएका दश नेपाली विद्यार्थीको परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु र बेपत्ता रहनुभएका विपिन जोशीको सकुशल आगमनका लागि कामना गर्दछु ।”

भूराजनीतिक तनाव बढ्दै जाँदा विश्वव्यापी विभाजनहरू गहिरो र खतरनाक हुँदै गइरहेको पनि महासचिव गुटेरेसले भन्नुभयो । जलवायु प्रकोप घातक शक्तिका साथ तीव्र रूपले फैलिइरहेको चर्चा गर्नुहुँदै उहाँले भन्नुभयो, “सङ्कटहरूको प्रतिकार्य गर्न विश्वले नेपालबाट धेरै सिक्न सक्छ । यो देश शान्तिको प्रवर्द्धक, बहुपक्षवादको पक्षधर र दिगो विकास तथा जलवायुसम्बन्धी कार्यको कट्टर समर्थक हो ।”

दुई ठुला शक्तिका बिचमा रहेर आफ्नो सार्वभौमसत्ता र स्वाधीनताको रक्षाका लागि आफ्नो मार्ग नेपाल आफैले बनाएको उहाँले चर्चा गर्नुभयो । विगत २० वर्षको नेपालको शान्ति प्रक्रियाको यात्रा हेर्नलायक रहेको उहाँले बताउनुभयो । 

हेर्नुहोस् सम्बोधनको पूर्णपाठ


Author
लक्की चौधरी

उहाँ गोरखापत्र अनलाइनका उपसम्पादक हुनुहुन्छ ।