बुलबुले समाचारदाता
सुर्खेत, कात्तिक १९ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि राजनीतिक दलले आफ्ना गतिविधि सञ्चालन गर्न थालेका छन् । प्रारम्भिक चरणमा आन्तरिक छलफल सुरु भएका छन् । कर्णाली प्रदेशमा सक्रिय राजनीतिक दलहरूले पार्टीका गतिविधिलाई चुनावकेन्द्रित गराउने योजना बनाएका छन् ।
नेपाली कांग्रेसले सूक्ष्म तरिकाले चुनावको तयारीमा लाग्न पार्टीका तल्ला तहमार्फत परिपत्र नै गरिसकेको छ । नेपाली कांग्रेस कर्णाली प्रदेश समितिका अध्यक्ष ललितजङ्ग शाहीले पार्टीले अहिले सूक्ष्म ढङ्गले आफ्ना गतिविधि अघि बढाएको बताउनुभयो । निर्वाचनमा जानुको विकल्प नभएको भन्दै उहाँले स्थानीयस्तरमै निर्वाचनका कार्यक्रम बनाउन थालिएको पनि जानकारी दिनुभयो ।
नेकपा (माओवादी केन्द्र) ले पनि निर्वाचनलक्षित कार्यक्रम थालेको छ । पार्टी मतदाता नामावली दर्ताका लागि नागरिकलाई जानकारी गराउनेसहितका आन्तरिक तयारीमा जुटेको कर्णाली प्रदेश कमिटी अध्यक्ष विमला केसीले बताउनुभयो । अहिले पार्टी एजेन्डा मिल्ने विभिन्न दलसँग एकीकरणको तयारीमा रहेको भन्दै उहाँले पार्टी एकीकरण गरेर निर्वाचनलक्षित कार्यक्रम गर्ने योजना बनाइएको जानकारी दिनुभयो ।
माओवादीसँग एकताको तयारीमा रहेको नेकपा (एकीकृत समाजवादी) पार्टीले पनि निर्वाचनलक्षित गतिविधि बढाएको छ । पार्टी एकीकरणको चर्चा चलिरहेको भए पनि पार्टीले भने आन्तरिक छलफललगायतका कार्यक्रममा जोड दिएको छ । पार्टीका प्रदेश कमिटी अध्यक्ष ठगेन्द्र पुरीले जेनजी आन्दोलनपछि विशिष्ट परिस्थितिमा सरकार बनेकाले विवाद र अलमलमा नपरी पार्टीहरू निर्वाचनमा जानुपर्ने बताउनुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादीलगायत पनि घोषित मितिमा निर्वाचनमा होमिनेबारे आन्तरिक छलफलमा जुटेका छन् । निर्वाचनलक्षित गरी पार्टीहरूले मतदाता नामावलीलगायतका कार्यक्रमलाई सघाइरहेका छन् । केही पार्टीले गाउँ गाउँमा मतदाता शिक्षा कार्यक्रम पनि थालेका छन् । यसरी हेर्दा पार्टीहरू आन्तरिक तयारीमा जुटेको पाइएको छ । नेकपा (एमाले) ले भने तोकिएकै समयमा निर्वाचन हुनेमा आशङ्का व्यक्त गरेको छ । संसद् पुनस्र्थापनाको माग गरिरहेको एमालेले निर्वाचनकै लागि नभने पनि पार्टी गतिविधिलाई जनतासम्म जोड्ने योजना बनाएको छ । जसले आगामी निर्वाचनमा सघाउ पुग्ने अपेक्षा एमालेको देखिन्छ ।
केन्द्रीय रणनीतिक योजना अनुरूप वडा तथा पालिकास्तरमा आन्तरिक छलफलका अभियान सुरु गरिएको नेकपा (एमाले) कर्णाली प्रदेश कमिटीका सचिव धु्रव शाहीले बताउनुभयो । जेनजी आन्दोलनको बलमा संसद् विघटन भई विशिष्टि परिस्थिति उत्पन्न भएकाले पार्टीले बनाउने रणनीति अनुसार नै अघि बढ्ने उहाँले जानकारी दिनुभयो । एमालेमा चुनावमा जाने विषयमा अलमल देखिए पनि अन्य राजनीतिक दलहरूले भने चुनावकेन्द्रित भइसकेका छन् । जेनजी आन्दोलनको बलमा प्रतिनिधि सभा विघटन भई नयाँ चुनावको मिति घोषणा भाएको निर्वाचनमा जान दलहरूले आन्तरिक छलफल सुरु गरेका हुन् । पार्टीभित्र र बाहिर निर्वाचनका लागि वातावरण बनाउन दबाबसमेत आउन थालेको छ ।