• १९ कात्तिक २०८२, बुधबार

आम्दा अस्पताल तीन सय शय्यामा विस्तार

blog

बुटवल समाचारदाता

बुटवल, कात्तिक १९ गते । बुटवलको सिद्धार्थ बाल तथा महिला (आम्दा) अस्पतालले सेवा विस्तार गर्ने भएको छ । जापानको आम्दा इन्टरनेसनलको सहयोगमा स्थापना भएको अस्पतालले एक सय शय्याबाट सेवा प्रदान गर्दै आएकोमा अब तीन सय शययामा विस्तार हुने भएको छ । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे र जापानको आम्दा इन्टरनेसनलका अध्यक्ष डा. सुगेरु सुगानामीबिच अस्पतालको क्षमता बढाउने सम्झौतापत्रमा हस्ताक्षर भएको छ । 

बुटवल उपमहानगर प्रमुख खेलराज पाण्डेले अस्पतालको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाउने काम भइरहेको बताउनुभयो । बुटवल उपमहानगर उपप्रमुख सावित्रादेवी अर्यालले आम्दा अस्पताल बुटवललाई बालबालिका र महिलाको विशिष्टीकृत अस्पताल बनाउने र आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई मेडिकल कलेजका रूपमा स्थापना गर्न प्रयास भइरहेको बताउनुभयो । 

यसैबिच बुटवलमा २७ वर्षअघि स्थापना भएको आम्दा अस्पतालले आइतबार वार्षिकोत्सव मनाएको छ । त्यस अवसरमा आम्दा माइन्ड्स जापानका अध्यक्ष सुन्सके सुजुकीको ३२ लाख रुपियाँ एकल लगानीमा अस्पतालमा तीनकोठे शैक्षिक भवन निर्माण भएको छ । 

उक्त शैक्षिक भवनको अध्यक्ष सुन्सके सुजुकीले वार्षिकोत्सवकै अवसरमा उद्घाटन गर्दै आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । 

अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. विनोद पराजुलीले सीमित  स्रोतसाधनमा आम्दा अस्पताल बुटवलले पहुँचयोग्य र गुणस्तरीय सेवा प्रदान गर्दै आएको बताउनुभयो । २०५५ असोज २१ गते स्वास्थ्य सेवा विभागबाट स्वीकृति पाएपछि २०५५ कात्तिक १६ बाट अस्पतालले बहिरङ्ग सेवा सुरु गरेको थियो र यसै दिनलाई आम्दा बुटवलले स्थापना दिवस मनाउँदै आएको छ । 

यस अस्पतालमा रुपन्देहीलगायत कपिलवस्तु, नवलपरासी, पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, प्युठान, रोल्पा, दाङ, रुकुमपूर्व जिल्लाका साथै भारतका विभिन्न स्थानबाट महिला तथा बालबालिका उपचार सेवाका लागि आउने गरेका छन् । उक्त अस्पतालमा बालबालिका र महिलाको उपचार हुने गरेको छ । 

यसै गरी अस्पतालमा स्वास्थ्य सेवा मात्रै नभएर विपन्न र सीमान्तकृत समुदायका विद्यार्थीलाई लक्षित गरी बुटवल उपमहानगरपालिका, बुटवल उद्योग वाणिज्य सङ्घ, आम्दा इन्टरनेसनल र आम्दा नेपालको संयुक्त सहकार्यमा शैक्षिक सत्र २०८० देखि पारामेडिकल अध्ययनका लागि आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालन भएको छ ।