• १९ कात्तिक २०८२, बुधबार

‘प्रादेशिक अस्पतालमा दुई सिफ्ट काम गरौँ’

blog

वार्षिक समीक्षा कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री चेतनारायण आचार्य ।

दाङ/घोराही समाचारदाता 

दाङ, कात्तिक १९ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रादेशिक अस्पतालमा उपचार सेवा दुई सिफ्टमा सञ्चालन गरी सेवा प्रवाहलाई प्रभावकारी बनाउन सकिने बताउनुभएको छ ।

लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयको वार्षिक समीक्षा कार्यक्रमलाई मङ्गलबार राप्ती उपत्यका (देउखुरी) मा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले प्रादेशिक अस्पतालमा बिरामीको चाप बढ्दै गएको र समस्या समाधानका लागि उपचार सेवा दुई सिफ्टमा सञ्चालन गर्न निर्देशन दिनुभएको हो । 

उहाँले भन्नुभयो, “प्रादेशिक अस्पतालका सेवा दुई सिफ्टमा चलाउन सकिन्छ । जनशक्ति पर्याप्त छ, तर बिरामीहरू सहज रूपमा सेवा पाउन सकेका छैनन् । प्रादेशिक अस्पतालमा रचनात्मक रूपमा सेवा दिन सकिन्छ ।” उहाँले लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका सेवा दुई सिफ्टमा सञ्चालन गर्ने गरी योजना बनाउन निर्देशन दिनुभएको हो । 

मुख्यमन्त्री आचार्यले जिल्ला तहका अस्पतालको सेवा प्रभावकारी बनाउनुपर्ने बताउँदै बिरामी पुग्ने ठाउँमै उपचार हुने प्रणाली विकास गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “जिल्ला अस्पतालमै उपचार गर्न सकिने केसमा पनि बिरामीलाई अनावश्यक रूपमा रिफर गरिन्छ । यसले प्रादेशिक अस्पतालमा भिड बढाएको छ । सरकारी अस्पतालबाट निजी अस्पतालमा रिफर गर्ने प्रथा बन्द गर्नु पर्छ । यसमा स्वास्थ्यमन्त्री र सचिवले विशेष निगरानी बढाउनु पर्छ ।” 

उहाँले पोषण र स्वास्थ्यका सूचकमा सुधार देखिन थालेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “मातृ तथा बाल मृत्युदर घटाउन हाम्रा अभियान केन्द्रित छन् । समुदायस्तरका कार्यक्रम सञ्चालन गर्दा स्थानीय सरकारसँग अनिवार्य समन्वय गर्नु पर्छ ।” मुख्यमन्त्री आचार्यले रोग लागेपछि होइन, लाग्न नदिनेतर्फ केन्द्रित जनचेतना अभिवृद्धि गर्नुपर्ने बताउनुभयो । 

उहाँका अनुसार, सकेसम्म आयुर्वेद र प्राकृतिक उपचारलाई प्रोत्साहन गर्नुपर्ने छ । उहाँले भन्नुभयो, “प्राकृतिक उपचारबाट रोगको स्थायी समाधान गर्न सकिन्छ । अब दीर्घकालीन रूपमा समाधानका उपायमा जोड दिन जरुरी छ ।” 

कार्यक्रम स्वास्थ्य सचिव दुर्गालक्ष्मी श्रेष्ठको अध्यक्षता र मुख्यमन्त्री आचार्यको प्रमुख आतिथ्यता र स्वास्थ्यमन्त्री खेमबहादुर सारुको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख सचिव बाबुराम अधिकारीले आधारभूत र विशेष स्वास्थ्य सेवामा सबैको पहुँच बढाउनुपर्ने बताउनुभयो । प्रदेश योजना आयोगका उपाध्यक्ष डा. डिल्लीराज अर्यालले नतिजाकेन्द्रित योजना निर्माण र दोस्रो आवधिक योजनाले प्राथमिकतामा राखेका क्षेत्रहरूको कार्यान्वयनमा जोड दिनुभयो । स्वास्थ्य निर्देशनालयका तथ्याङ्क अधिकृत मानबहादुर ओलीले सूचकहरूमा सुधार देखिन थालेको तथ्याङ्कसहितको प्रतिवेदन प्रस्तुत गर्नुभयो । 

लुम्बिनी प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै गत आर्थिक वर्ष २०८१/८२ मा उल्लेखनीय उपलब्धि हासिल गरेको छ । प्रदेश स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको वार्षिक प्रतिवेदन अनुसार आधारभूतदेखि विशेष स्वास्थ्य सेवासम्म सुधार भएको उल्लेख छ । समीक्षा कार्यक्रममा मन्त्रालयले प्रदेश राजधानी देउखुरीमा ५० शय्याको सुविधासम्पन्न भालुवाङ अस्पताल स्थापना गरी सञ्चालनमा ल्याएको जनाएको छ । नवलपरासीस्थित पृथ्वी चन्द्र अस्पतालमा मिर्गौला डायलासिस सेवा विस्तार गरिएको छ भने कपिलवस्तु र अर्घाखाँची अस्पतालमा सो सेवा विस्तार अन्तिम चरणमा पुगेको जानकारी दिइएको छ ।

चार जिल्लामा सामुदायिक स्वास्थ्य सूचना प्रणालीमार्फत ‘परिवार स्वास्थ्य विवरण’ कार्यक्रम सुरु गरिएको छ, जसले महिला मात्र होइन, बालबालिकाको स्वास्थ्य र पोषण अवस्थाको निरन्तर अनुगमन गर्न सहयोग पुगोस् भन्ने लक्ष्य लिएको छ ।  प्रदेश लोक सेवा आयोगमार्फत पहिलो पटक विशेषज्ञ चिकित्सकसहित विभिन्न स्वास्थ्यकर्मीको पदपूर्ति र पदस्थापन गरिएको छ । साथै आठ जिल्लाका १३ स्थानीय तहमा ‘रोभिङ नर्स’ कार्यक्रम सञ्चालन गरी समुदायमै पुगेर जनस्वास्थ्य सेवा विस्तार गरिएको छ ।