• २६ वैशाख २०८१, बुधबार

भूकम्प पीडितको चर्किएकै घरमा बास

blog

बाजुराका स्थानीयवासी भूकम्पपछि पाल टाँगेर बस्दै गरेकाहरू पुनः चर्किएकै घरमा बस्न सुरु गरेका छन् । तस्बिर: शेरबहादुर सार्की

शेरबहादुर सार्की

बाजुरा, कात्तिक १२ गते । बाजुराका अधिकांश भूकम्प पीडित चर्किएकै घरमा बास बस्न थालेका छन् । भूकम्प पीडितको अन्य सुरक्षित ठाउँमा व्यवस्थापन हुन नसकेपछि उनीहरू अहिले फेरि चर्किएकै घरमा बास बस्न थालेका हुन् ।

गत असोज १३ गते गएको भूकम्पले घर चर्किएपछि त्रिपालको बास गर्दै आएको खप्तड छेडेदह गाउँपालिका – ५ डोगडीका पदम सार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “ गाउँमा चिसो बढ्दै गएपछि बाहिर त्रिपालमुनि बस्न नसकेपछि फेरि चर्किएकै घरमा आएर बसोबास गर्न थालेको छु ।”

भूकम्पले घर चिरा चिरा भयो । भत्किने डरमा बाहिर त्रिपालमा बसेका थिए । घर बासको व्यवस्थापन हुन्छ कि भनेर दुई महिनासम्म बाहिर बसियो । कतैबाट व्यवस्थापन नभएपछि अहिले फेरि चर्किएकै घरमा आएर बसेको सार्कीले बताउनुभयो ।

भूकम्पबाट प्रभावितले घर बासको व्यवस्थापन खरिदिनका लागि जिल्ला विभिन्न सरकारी तथा गैरसरकारी संस्थासँग माग राख्दै आएका छन् । बर्खामा त्रिपालको बास गर्दै आएका बाजुराका भूकम्प पीडितलाई हिउँदको चिसोमा कहाँ गएर बास बस्ने निकै चिन्ता छ ।

बर्खा तातो हुने भएकोले,त्रिपालमै बसेर गुजारा चलायौँ । अब हिउँद लाग्यो गाउँमा चिसो बढ्दै गयो । यो चिसोमा बाहिर त्रिपालमा छोरा छोरीलाई कसरी बसाल्ने भन्ने चिन्तामा परेको बूढीगङ्गा –१० तिमाडाका नरु सार्कीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “असोज १३ गते आएको भूकम्पले घर भत्किएपछि बाहिर त्रिपाल हालेर बसोबास गर्दै आएकी छु । अहिलेसम्म घरबासको कतैबाट व्यवस्थापन भएको छैन ।” गतवर्ष माघ १० गते आएको भूकम्पले चर्किएको घर असोज १३ गते गएको भूकम्पले भत्किएपछि अहिले घरबारविहीन भएको सार्की बताउनुभयो ।

बाजुराका अधिकांश स्थानीयहरूको घर भूकम्पले भत्काएपछि उनीहरूलाई अहिले गाँस , बास र कपासको समस्या हुँदै गएको छ । भूकम्प पीडितलाई खान त के राम्रो सँग बस्नलाई समेत कतैबाट व्यवस्था भएको छैन । 

जिल्लास्थित केही सरकारी तथा गैरसरकारी सङ्घ संस्थाले वितरण गरेको चामल, दाल, नुन, तेललगायतका केही खाद्यान्न सामग्रीले उनीहरूलाई केही छाक टार्न सहज भए पनि हिउँदको चिसोमा त्रिपालमुनि कसरी रात काट्ने भन्ने चिन्ता लागेको भूकम्प पीडित बताउँछन् । 

हिमाली, गौमुल, बडीमालिका, त्रिवेणी र बुढीगङ्गालगायतका झन्डै सयभन्दा बढी घरपरिवार यती बेला भूकम्पबाट निकै प्रभावित भएका छन् । स्थानीय प्रदेश र सङ्घीय सरकारले भूकम्पबाट प्रभावित घरपरिवारलाई अहिलेसम्म सुरक्षित ठाउँमा बसाल्न नसकेको भूकम्प पीडितले गुनासो गर्दै आएका छन् ।

तातो समय त्रिपालको बास गर्दै आएका पीडित घरपरिवारलाई हिउँदको चिसोमा कसरी दिन काट्ने  मनमा चिन्ता पसेको उनीहरू बताउँछन् । भूकम्पले बाजुराका १२६ पुर्ण १७६ आंशिक र ३०७ घरमा सामान्य क्षति भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

भूकम्प प्रभावित घरपरिवारलाई सुरक्षित ठाउँमा व्यवस्था गर्नका लागि गृह मन्त्रालयमा पत्राचार गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । 

भूकम्प पीडितलाई तत्काल खाद्यान्न त्रिपालको वितरण गर्नका लागि  प्रदेश र सङ्घीय सरकारलाई रकम माग गर्दै आएको जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बताउनुभयो ।