• १३ मंसिर २०८१, बिहिबार

अनुदान शिक्षकले पाएनन पारिश्रमिक

blog

चङ्खेली गाउँपालिकाको कार्यालय । तस्बिर : राजन रावत

राजन रावत

हुम्ला, कात्तिक ९ गते । बडादसैंमा अनुदानमा पारिश्रमिक पाउँदै आएका शिक्षकहरुले पारिश्रमिक नपाएको गुनासो गरेका छन् । गाउँपालिकाले हिसाब मिलान नभएको कारण जनाउँदै  शिक्षकहरुलाई दसैंजस्ता चाडमा पनि पारिश्रमिक नदिएको हो ।  

चङ्खेली गाउँपालिका –२ को चिप्लेढुङ्गाको नवज्योति आधारभूत विद्यालयका शिक्षक सुरेन्द्र शाहीले शिक्षाक्षेत्र भाषणमा पहिलो नम्बरको प्राथमिकतामा पर्नेगरेको भए पनि दैनिक विद्यालयमा धाएर पठनपाठन गर्ने शिक्षकले चाडपर्वमा पारिश्रमिक नपाउनु दुःखद भएको बताउनुभयो ।

उहाँले अन्य दरबन्दीका शिक्षकले समेत दसैं पेश्कीसहित चार महिनाको पारिश्रमिक पाउनुपर्नेमा तीन महिनाको मात्र पाएको सुनाउनुभयो । शिक्षकले नियमअनुसार पाउनु पर्ने पारिश्रमिक समेत समयमै नपाउँदा विद्यालयमा पढाउन जोसजाँगर नचल्ने उहाँले बताउनुभयो । 

दसैंजस्तो चाडमा कसरी घरब्यवहार चलाउने भन्दै उहाँले शिक्षकमाथि वर्षेनी विभेद हुनेगरेको बताउनुभयो । चङ्खेली गाउँपालिकाको शिक्षा शाखाका प्रमुख परम पाण्डले गाउँपालिका भित्रका २५ वटा सामुदायिक विद्यालयमा गाउँपालिकाको अनुदान बजेटबाट भर्ना भएर कार्यरत शिक्षकले दसैंमा पारिश्रमिक नपाएको स्वीकार गर्नुभयो । 

उहाँले लेखा शाखाबाट हिसाब मिलान हुन नसेकेका कारण देखाउँदै अनुदानका ३४ जना शिक्षकलाई पारिश्रमिकको व्यवस्था नभएको बताउनुभयो । उहाँले गाउँपालिकाले अन्य सबै शिक्षकलाई दुई महिनाको मात्र पारिश्रमिक दिने तयारी गरिरहेको बेला कोष तथा लेखा नियन्त्रण कार्यालयलाई जानकारी गराउँदै हाल निकासा आएकै बजेटबाट पहिलो चौमासिक पारिश्रमिक  खुवाउनुपर्ने बताएपछि अन्य शिक्षकले तलब पाएको बताउनुभयो ।