• २१ चैत २०८२, शनिबार

‘महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक’

blog

गोरखापत्र समाचारदाता

ललितपुर, चैत २१ गते । उपराष्ट्रपति रामसहायप्रसाद यादवले महिला उद्यमशीलता व्यक्तिगत आर्थिक सशक्तीकरण मात्र नभई सामाजिक रूपान्तरण र राष्ट्रिय विकासको संवाहक भएको बताउनुभएको छ । महिला उद्यमी महासङ्घ नेपालले ललितपुरमा शुक्रबार आयोजना गरेको ‘नवौँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला २०८२’को समुद्घाटन समारोहमा उपराष्ट्रपति यादवले महिला उद्यमी आत्मनिर्भर, समावेशी र दिगो समाज निर्माणतर्फका प्रेरक शक्ति भएको बताउनुभयो ।

उहाँले महिलाले उद्यममार्फत आफ्नो क्षमता प्रदर्शन गर्दा परिवार, समाज र राष्ट्रको समग्र विकासमा योगदान पुग्छ भन्दै व्यापार मेलाले जिल्लास्तरका महिला उद्यमीलाई प्रोत्साहन गर्ने, उनीहरूका उत्पादनलाई बजारसम्म पु‍¥याउने र राष्ट्रिय अर्थतन्त्रलाई मजबुत बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । महिला उद्यमीका उत्पादनले आयात प्रतिस्थापन गर्नुका साथै निर्यातलाई प्रोत्साहन गर्ने बताउँदै उहाँले भन्नुभयो, “यसले रोजगारी सिर्जना गर्ने, स्थानीय स्रोतसाधनको सदुपयोग गर्ने र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा टेवा पुग्छ ।” विगतमा घरधन्दा र पारिवारिक जिम्मेवारीमा सीमित महिला पछिल्लो समय साना घरेलु उद्योगदेखि व्यावसायिक प्रतिष्ठानसम्म सक्रिय भई लैङ्गिक समानता र सामाजिक सशक्तीकरणमा योगदान पु‍¥याउनु सकारात्मक रहेको उहाँको भनाइ थियो । उपराष्ट्रपति यादवले उद्यमशीलताले महिलालाई आर्थिक गतिविधिमा सहभागी गराउँदा समाजलाई समावेशी बनाउने उल्लेख गर्दै स्थानीय स्रोत र सिपमा आधारित उत्पादनले वातावरणमैत्री र दिगो विकासलाई प्रोत्साहन गर्ने बताउनुभयो ।

नेपालको संविधानले स्वदेशी उत्पादन, श्रम, सिप र स्रोतमा आधारित उद्योगलाई प्राथमिकता दिने व्यवस्था गरेको उल्लेख गर्दै उहाँले महिला उद्यमशीलतालाई प्रोत्साहन गर्ने संवैधानिक आधार रहेको बताउनुभयो । महासङ्घका अध्यक्ष दर्शना श्रेष्ठले मेलाले महिला उद्यमशीलताको राष्ट्रिय अभियानलाई सहयोग पु¥याउने जानकारी गराउनुभयो । महिला उद्यमी महासङ्घमा हाल पाँच हजार सात सयभन्दा बढी महिला आबद्ध रहेका उहाँले जानकारी दिनुभयो ।