• ५ जेठ २०८१, शनिबार

पूर्व कमाण्डरको दैनिकी : परिवार पाल्न डोली बोक्नु बाध्यता

blog

भारतको केदारनाथमा डोली बोक्दै गरेका माओवादीका पूर्व लडाकु जगत फडेरा लगायत । तस्विरः प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा

कालीकोट, कात्तिक ५ गते । कालीकोटको रास्कोट नगरपालिका ३ का जगत फडेरा अहिले भारतको केदारनाथ क्षेत्रमा हुनुहुन्छ । तत्कालीन माओवादी आन्दोलनका लडाकु फडेरा परिवार पाल्न रोजगारी गर्न केदारनाथ पुग्नुभएको हो । 

एक वर्षदेखि केदारनाथमा उहाँ लगायतका पूर्व लडाकुहरुको समुहले डोली बोकिरहेको छ । जनमुक्ती सेनाका कम्पनी कमाण्डर फडेरा शान्तिप्रक्रियापछि वाइसिएलमा रहनुभयो । पार्टीको निर्देशनअनुसार आफुलाई वाइसिएलमा बस्न भनिएका कारणले सेना समायोजनमा पर्न नसकेको उहाँको भनाइ छ ।

अहिले परिवार धान्न समस्या भएपछि आफु केदारनाथ दर्शनका लागि आउने भक्तजनलाई डोलीमा राखेर मन्दीर पुगाउने काममा लागेको बताउनुभयो । पूजाको सिजन अर्थात् वर्षातको समयमा यहाँ यस्तै (डोली देखाउँदै) काम गर्छु भन्नुभयो । 

अब हिमपात हुन सुरु भएकाले आफूलगायत आफ्नो समूह तल्लो क्षेत्रमा काम गर्न जानेगरेको बताउनुभयो । २०५७ सालमा भुमिगत भएलगतै कलकलाउँदो युवा माओवादीले सेनामा काम गर्न लगायो । माओवादीका तत्कालीन भूमिगत नेता जनार्दन शर्मा, लेखराज भट्ट, हेमन्तप्रकाश ओली लगायतका नेताको सुरक्षागार्ड भएर धेरै समय जगत फडेराले काम गर्नुभएको थियो । 

तिनै सुरक्षा दिने लडाकु अहिले भारतका गल्ली चाहरिरहेका छन् भने नेताहरु महलमा बस्छन् । फडेरा सुदूरपश्चिमका तत्कालीन सरकारी सेनासँग हुने लडाइमा प्रत्यक्ष सहभागी हुने लडाकु भएको बताउनुभयो । कैलालीको खिमडीमा भएको ठुलो लडाइमा जनार्दन शर्मा, हेमन्तप्रकाश ओली घेरामा परेपछि फडेराले जिवन मरणको लडाइ लडी नेपाली सेनाको घेराबाट उहाँहरुलाई मुक्त गरेको सम्झनुहुन्छ । 

पसिना पुछ्दै फडेराले आफ्नो कसैसँग केही गुनासो नभएको र श्रमप्रति बिश्वास गर्ने भएकाले श्रम गरेर बसेको सुनाउनुभयो । सिजनमा केदारनाथ यही काम हुन्छ यहाँ हिमपात भएपछि तल झर्ने र मजदुरी गरेर आफूलगायत आफैंले चिनेका दुई सयभन्दा बढी पूर्व लडाकु यही क्षेत्रमा कार्यरत रहेको उहाँले बताउनुभयो । दुई वर्ष पुग्दैछ । स्थानीय चुनावमा मेयर जिताएर आएको त्यहाँदेखि घर नगएको उहाँले भन्नुभयो ।