• ११ मंसिर २०८१, मङ्गलबार

खुसी भित्र्याउने महोत्सव

blog

वर्षायाम सकिएर शरद ऋतु सुरु भएपछि एक खालको आनन्द सुरु हुन थाल्छ । पारिलो घामसँगैको मानिसको चहलपहलले उत्सवको सङ्केत दिन्छ । कामकाजी मानिसबाहेक घरमा बस्ने केटाकेटी र सदस्यमा दसैँको आगमनले पुलकित तुल्याउँछ । आमरूपमा अधिकांश नेपालीलाई दसैँले पुनर्ताजगीको अवसर पनि दिन्छ । 

हरेक चाड समयसँगै रूपान्तरित हुँदै जान्छन् । उहिले वर्षभरमा अघाउन्जेल मासु खाने र केटाकेटीले नयाँ नाना पाउने अवसर थियो दसैँ तर अब दसैँको महत्व मनोरञ्जनका रूपमा स्थापित हुँदै गइरहेको छ । मनाउने शैली फेरिएको छ र मनोरञ्जनका अन्य उपाय उपलब्ध भएकाले पनि यसमा परिवर्तन हुन थालेको छ तर पनि आफन्तसँगको भेटघाट र आफूभन्दा ठुलाको आशीर्वाद ग्रहण गर्ने संस्कृतिलाई अद्यापि जोगाइरहेको छ यस चाडले । वर्षभर काम गर्ने र दसैँको समय रमाइलो गर्ने, भेटघाटमा बिताउने तथा जीवनलाई स्फूर्ति दिलाउने हिसाबले यो संस्कृतिको विकास भएको जस्तो देखिन्छ तर केही दशकयता रवाफ देखाउने प्रवृत्ति, फजुल खर्च, जुवा र मदिरा सेवनलाई ज्यादा प्राथमिकता दिनाले दसैँ पारिवारिक मिलनको उत्सवबाट फुस्किएर जुवा रक्सीको सङ्गमतर्फ उन्मुख देखिन्छ ।

चाडबाडमा खानपान, लत्ताकपडा र पारिवारिक आत्मीयताको आदानप्रदानसँगै मनोरञ्जनको पनि उत्तिकै महत्व हुन्छ । उहिले केटाकेटी र युवकयुवतीका लागि दसैँमा मनोरञ्जन भनेकै पिङ, चमच्चा हुन्थ्यो तर पहिले गाउँ र टोलपिच्छे भेटिने पिङ, चमच्चाको दर्शन पछिल्ला वर्षमा दुर्लभ भएको छ । काठका लट्ठेपिङ, रोटेपिङ, चर्खेपिङ र चमच्चा बनाउने व्रmम विस्तारै हट्दै गएको छ । पहाडी जिल्लामा चर्खेपिङ बनाउने खुबै प्रचलन थियो । सम्भवतः गाउँ गाउँमा पनि युवा जनशक्ति बिदेसिनु पनि एउटा कारण हुन सक्छ, दसैँमा पिङको चहलपहल घट्नुमा । 

पहिले दसैँ भनेको आमनेपालीलाई पुख्र्यौली गाउँघर फर्काउने चाडका रूपमा स्थापित थियो । गाउँ जाँदा दसैँको छुट्टै रौनकता, उमङ्ग, उत्साह थियो । दसैँमा गाउँघरमा बन्ने स्वतःस्फूर्त माहोलले जीवनका दुःख, कठिनाइ बिर्सादिएको आभास हुन्थ्यो । अहिले गाउँघर फर्किए पनि मानिस घरमै मोबाइल र टिभीमा व्यस्त हुने, साथीभाइबिच मदिरा, भोजभतेर गरेर बिदा मनाएको देखिन्छ । प्रविधिले यतिसम्म मानिसलाई नियन्त्रित गरिरहेको छ कि चाडपर्वको रमाइलो, उमङ्ग, मौलिकतामा पनि नजानिँदो हिसाबले हस्तक्षेप गरिरहेको छ । चाडपर्व, संस्कार, संस्कृति समयसापेक्ष हुनु पर्छ तर कुनै पनि चाडको मौलिकता नहराओस् भन्ने विषयमा चनाखो र जागरुक हुन आवश्यक छ ।

वास्तवमा वैदिककाल साधना, सिद्धि, सामथ्र्य, शक्ति र सौन्दर्यताको सङ्गमको काल थियो ।  त्यहीँबाट दसैँको सुरुवात भयो । बडादसैँ सनातन परम्परा, संस्कार, संस्कृति, धर्म, आस्था र विश्वाससँग जोडिएको विषय मात्र नभएर अब यसको वैज्ञानिक महìवको विषय पनि रहेको पुष्टि भएको छ । यो समाजविज्ञान, मनोविज्ञान र व्यवहारविज्ञानसँग निकट रहेको छ ।

दसैँको आफ्नै खास विशेषता छ । यति बेला सबैले आफ्नो घरआँगन चिरिच्याट्ट बनाउँछन्, रङ्गरोगन गर्छन् । गाउँघरतिर कमेरो र रातो माटोले लिपपोत गर्ने चलन पनि छ । भनिरहनु नपर्ला दसैँमा आफन्त, इष्टमित्र भेटघाट गरिन्छ । टाढा टाढा रहेका आफन्त एकै ठाउँ भेला भएर रमाइलो गरिन्छ । मान्यजनबाट टीका थापेर आर्शीवाद लिइन्छ । 

मालश्रीको धुन

गाउँसहरमा मालश्री धुन गुन्जिन थालेपछि दसैँ आएको छनक पाइन्छ । घटस्थापनाका दिनदेखि रेडियो, टिभीमा यो धुन बज्ने भएकाले वातावरण मनमोहक बनाउँछ । सितार, तानपुरा र तबलालगायतका बाजाको सम्मिश्रणबाट बज्ने धुनले हर्ष र उल्लासको सन्देश दिइरहेको हुन्छ । त्यसबाहेक पन्चैबाजा, मादल, सारङ्गी, मुरलीलगायतका बाजाबाट पनि मालश्री धुन निकाल्ने प्रचलन छ । मालश्री धुनलाई दसैँ धुन पनि भनिन्छ । दसैँमा देवीको पूजा गरिने भएकाले देवीको गुणगानका लागि यो धुन बजाउने गरिएको ऐतिहासिक मान्यता रहेको छ ।

पिङको रमाइलो 

गाउँघरतिर मात्र होइन सहरबजारतिर पनि दसैँ आउनुपूर्व नै पिङ लगाउने चलन छ । गाउँघरतिर पाखाबारीमा भएका बाबियो काटेर सुकाउने अनि डोरी बाट्ने र सबैलाई पायक पर्ने स्थानमा लिङ्गेपिङ लगाउने चलन छ । विजयादशमीको दिन मान्यजनको हातको टीका लगाएर केही क्षण भए पनि धर्ती छोड्नुपर्ने लौकिक विश्वासका कारण पिङ खेल्ने प्रचलन छ । पहिले पहिले काठको रोटेपिङ हाल्ने चलन रहे पनि हाल भने यो बिस्तारै लोप हुन थालेको छ ।


चङ्गा चैट 

दसैँमा चङ्गा उडाएर रमाइलो गर्ने परम्परा पुरानै हो । पहिले पहिले नेपाली कागजको प्रयोगबाट बनेको हातेचङ्गा उडाइन्थ्यो । खुला चौर, कौसी तथा घरको छतमा उभिएर चङ्गाको मज्जा लिने चलन थियो । दसैँका बेला चङ्गा उडाउने प्रतियोगिता नै हुन्थ्यो नगरकोटमा केही वर्षअघिसम्म तर अचेल चङ्गा उडाउने प्रचलन घट्दै गएको छ । अरू बेला आकाशमा चङ्गा उडायो भने वरुण देवताले पानी पार्छन् र धान बिग्रन्छ भनेर बुढापाकाले उडाउन दिँदैनथे । चङ्गा उडाउन शरद ऋतुचाहिँ उपयुक्त मानिन्थ्यो । किंवदन्ती अनुसार उसबेला नेपालबाट उडाएको चङ्गा तिब्बतको केरुङसम्म पुग्थ्यो । केरुङमा बसेका गोर्खाली सेनालाई गोप्य सूचना प्रवाह गर्न चङ्गामा लेखेर पठाइन्थ्यो र नेपालबाट उडाएको चङ्गा हिमालपार भएपछि केरुङ पुग्ने विश्वास गरिन्थ्यो । 

नवीन परिधान

दसैँमा नयाँ लुगा किन्ने र लगाउने चलन पुरानै हो । गाउँघरतिर नयाँ कपडा किनेर टेलर्समा सिलाउन दिने होडबाजी नै चल्छ । वर्षा सकिएर हिलोमैलो कम हुने र मौसम घमाइलो हुने भएकाले नयाँ कपडा फेर्ने चलन अनुसार नेपाली समाजमा पनि दसैँमा नै नयाँ लुगा किन्ने प्रचलन रहिआएको बताइन्छ । बालबालिकालाई नयाँ लुगा किनेर चिटिक्क पार्ने गरिन्छ । त्यसैले दसैँको समयमा नयाँ कपडाको बजार चम्किन्छ ।

बलि 

बडादसैँको नवौँ दिन आश्विन शुक्ल नवमीका दिन मनाइने महानवमी पर्वका दिन दुर्गा भवानीको पूजाआजा गरी बलि दिने चलन छ । दसैँघर र कोतलगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती एवं देवीस्तोत्र पाठ गरिन्छ । पशुबलि नदिनेले कुभिन्डो, घिरौँला, मुला, काँक्रो र जटा नरिवलसमेत बलि दिई चढाउँछन् तर प्रायःजसो महाष्टमीका दिनमा बलि दिने र महानवमीका दिन मार हान्ने चलन छ । मांसाहारीले दसैँमा मासु अनिवार्य खाने गर्छन् । 

आशीर्वादसँगै दक्षिणा 

दसैँमा मान्यजन र आफन्तकोमा पुगेर टीका लगाउने चलन छ । टीका लगाउँदा आशीर्वाद दिइने गरिन्छ । टीका लगाउँदा दिने आशीर्वाद दसैँको भिन्नै हुन्छ । टीका, जमरा र आशीर्वादसँगै मावली, बुढोमावली, ससुरालीका मान्यजनबाट प्राप्त भएको दक्षिणाको महìव पनि ठुलै हुन्छ । टीका ग्रहण गर्न जानेले साथमा फलफूल, मिठाई, कपडालगायतको कोसेली लैजाने चलन छ । त्यसैले दसैँमा नयाँ नोट सटहीका लागि बैङ्कहरूले समय र सीमा नै निर्धारण गर्ने गर्छन् । 

रातो सेतो टीका र जमरा

दसैँमा रातो टीका लगाउने र जमरा सिउरिने चलन छ । टीका र जमरा दसैँको मुख्य पहिचान पनि हो । मान्यजनबाट टीका थापेर घटस्थापनाको दिन विधिपूर्वक राखिएको जमरा टिपेर रातो टीकाका साथ लगाउने गरिन्छ । टीका र जमरा अन्नबाट बन्ने र दही पशुपालनको प्रतीक भएकाले यसलाई अहिले वैज्ञानिक ढङ्गबाट कृषि उपजको परिचय गराउने पर्वका रूपमा लिइने गरेको छ । मान्यजनले टीका लगाइदिँदा सुख, शान्ति, समृद्धि र वैभव प्राप्त हुने जनविश्वास छ । परिवारमा टीका लगाई आफ्नो कुलकुटुम्ब र आफन्तजनसँगसमेत टीका लगाउन जाने परम्परा छ । यता धार्मिक दृष्टिकोणका अनुसार दैत्य महिषासुरको अत्याचार सहन नसकी दुर्गा भवानीले कालीको रूप धारण गरेर उनीहरूलाई समाप्त पारेर विजयोत्सव मनाएको दिन भनेर विजया दशमीमा रातो टीका र जमरा लगाएको पौराणिक मान्यता छ । त्यस्तै दसैँमा कतिपय जनजाति समुदायभित्र सेतो टीका र जमरा लगाउने प्रचलन छ । आदिवासी जनजातिले हरेक शुभ कार्य गर्दा दहीमा चामल मुछेर सेतो टीका लगाउने चलन भएकाले दसैँमा सेतै टीका लगाउने परम्परा छ । 

भेटघाट र रमाइलो खेल

चाडपर्वमा भेटघाट गर्ने सुनौलो अवसर हो । दसैँ भेटघाट जुराउने उपयुक्त अवसर हो । विभिन्न देश तथा टाढा टाढा रहेका मानिस दसैँमा फर्किने चलन छ । आफ्नो व्यस्ततालाई थाति राखेर दसैँको छेकोमा मानिस गाउँघर फर्कने गर्छन् । त्यसैले दसैँ भेटघाटको रमाइलो अवसर पनि हो । दसैँमा तास खेलेर रमाइलो गर्ने चलन छ । सङ्गठित रूपमा जुवा तास खेल्न प्रतिबन्ध रहे पनि आफन्त र साथीहरू मिलेर रमाइलोका लागि दसैँमा तास यत्रतत्र खेलिन्छ । 

चलचित्र

चाडपर्वका बेला दर्शक पनि रमाइलो गर्ने चाहनामा हुने भएकाले निर्माता–निर्देशकहरू आफ्ना नयाँ चलचित्र प्रदर्शनका लागि अवसरको खोजीमा हुन्छन् । नयाँ वर्ष, तिज, दसैँतिहार, माघे सङ्व्रmान्ति, फागुपूर्णिमा लगायतका बिदामा चलचित्र चलाउन निर्माता अगाडि सर्ने गर्छन् । दसैँको अवसर पारेर प्रदर्शनको तयारीमा रहेका तीन चलचित्र परदेशी–२, पशुपति प्रसाद : भस्मे डन र दिमाग खराब सर्वत्र चर्चामा छ । परदेशी–२’ घटस्थापनाको दुई दिनअगाडिबाटै प्रदर्शनमा आएको छ भने ‘पशुपति प्रसाद २ः भस्मे डन’ पूर्वनिर्धारित मिति कात्तिक ४ गतेदेखि प्रदर्शनमा आउने छ । यस वर्ष दसैँमा मात्र होइन, तिहारमा पनि नेपाली चलचित्रको चाप छैन । तिहारको अवसर पारेर निश्चल बस्नेतको निर्देशन रहेको चलचित्र ‘दिमाग खराब’ प्रदर्शनमा आउँदै छ । योबाहेक अरू नेपाली चलचित्रले तिहारका लागि प्रदर्शन मिति तोकिसकेका छैनन् । दसैँतिहार चलचित्र प्रदर्शनका लागि तुलनात्मक रूपमा राम्रो समय हुने गरेको मान्ने गरिएको छ । अरू बेला काम वा व्यवसायमा व्यस्त मानिसको दसैँतिहार चाडपर्वमा घुमघाम गर्ने, चलचित्र हेर्ने योजनामा हुन्छन् ।  सोही कारण अरू समयभन्दा चाडपर्वमा चलचित्रको कमाइ राम्रो हुने गरेको छ । दसैँमा नै चलचित्र प्रदर्शन गर्न निर्माता निर्देशकबिच होडबाजी चल्ने गरेको छ । चलचित्रले बजार लिए पनि नलिए  प्रायः सबै निर्माता निर्देशक दसैँलाई लक्षित गरेर आफ्नो चलचित्र प्रदर्शन गर्ने तयारीमा रहेका हुन्छन् । अन्य समयको तुलनामा चाडपर्वका बेला चलचित्र धेरै चल्ने चलचित्रकर्मीको बुझाइ छ ।

यति बेला सर्वत्र दसैँको उल्लास छाएको छ । के गाउँ, के सहर दसैँको रङ चढेको छ । के दुर्गम, के सुगम, दसैँको रौनक छाएको छ । दसैँ यस्तो पर्व हो, जसले नेपाली समाजलाई चलायमान बनाइदिन्छ । किनमेल गर्नेदेखि भेटघाट गर्नेसम्मको यो अपूर्व अवसर पनि हो । यसैले त दसैँसँग सामाजिक, सांस्कृतिक, आर्थिक, भावनात्मक सबै पक्ष जोडिएर आउँछन् । माथि भनिएझैँ दसैँ भड्किलो मनोरञ्जनमा रूपान्तर हुँदै नजाओस्, पारिवारिक मिलनको उदाहरण बनोस् र वर्षभरि काम गर्ने नेपालीले केही समय सुस्ताएर आफूभित्र पुनर्ताजगी महसुस गरुन् ।