काठमाडौं, असोज २६ गते । राष्ट्रिय सभाका सांसदहरुले अपाङ्गता भएका व्यक्तिहरुको अधिकार कार्यान्वयन गराउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
राष्ट्रिय सभाको शुक्रबारको बैठकमा अपाङ्गता भएका व्यक्तिको अधिकार कार्यान्वयनसम्बन्धी सङ्कल्प प्रस्तावमाथि छलफल गर्दै सांसदहरुले अपाङ्गता भएका व्यक्तिहरुको अधिकार कार्यान्वयन गराउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।
उनीहरुले अपाङ्गता भएका व्यक्तिहरुले संविधानप्रदत्त अधिकारसमेत नपाएको भन्दै उनीहरुले पाउनुपर्ने सबै अधिकारहरुको सुनिश्चित गर्न माग गरेका छन् । बैठकमा बोल्दै सांसद शारदादेवी भट्टले अपाङ्गता भएका व्यक्तिहरुलाई छुट्टै बजेट छुट्टयाउनुपर्ने बताउनुभएको छ । उहाँले उनीहरुले पाएका सेवा, सुविधाको कटौती गर्न नहुने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘अपाङ्गता भएका व्यक्तिको जLवनयापनका लागि नीतिगत व्यवस्था गर्ने, अपाङ्गता भएका व्यक्तिलाई छुट्टै बजेट छुट्याउने, राज्यले दिन हक, अधिकारबाट वञ्चित नगराउने, सेवा, सुविधामा कटौती नगर्ने, सरकारले दह्रो तरिकाले सहयोग गर्ने, अपाङ्गता भएका व्यक्तिले सबै अधिकार प्राप्त गरेका छैनन । सरकारसँग माग गर्दछु, अपाङ्ग भएका व्यक्तिलाई सम्मानजनक तरिकाले हेरियोस् ।’’
सांसद सिंगबहादुर विश्वकर्माले अपाङ्गता भएका व्यक्तिहरुको लालनपालन पोषणको ग्यारेन्टी राज्यले गर्नुपर्ने बताउनुभयो । उहाँले उनीहरुलाई अधिकार सम्पन्न बनाउन राज्य दिनप्रतिदिन चुक्दै गइरहेकाले राज्यप्रति निराश भइरहेका बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘ अपाङ्गता भएका व्यक्तिहरु वर्षौदेखि पीडादायी र कष्टकर जीवन बाँचिरहेका छन् । राज्यले उनीहरुको लालनपालन र पोषणको कुनै ग्यारेन्टी गर्न सकिरहेको छैन । संविधानले अपाङ्गताको आधारमा गरिने सबै भेदभाव निषेध गरेको छ । अपाङ्गता भएका नागरिकलाई अधिकार सम्पन्न बनाउने विषयमा राज्य दिनप्रतिदिन चुक्दै गइरहेको छ, जसले गर्दा अपाङ्गता भएका नागरिकहरु राज्यप्रति निराश छन् । उनीहरुको हक, अधिकार सुनिश्चित गर्न अनुरोध छ ।’’
सांसद तुलप्रसाद विश्वकर्माले अपाङ्गता भएका व्यक्तिहरुको हक, हितका लागि बनेका कानुन कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘प्रत्येक तह र तप्काका समुदायको हितमा बनेका हक अधिकार र कानुनहरु व्यवहारमा लागू हुन सकेका छैनन् । अपाङ्गता भएका व्यक्तिहरुको हक, हितका लागि बनेका कानुनलाई कार्यान्वयनका दिशामा सरकारले तदारुकता दिनका लागि र बदलिँदो परिस्थिति अनुसार अपाङ्गता भएका व्यक्तिहरुको हक, हितको निम्ति बन्नुपर्ने थप कानुन र थप व्यवस्थाहरुको बारेमा सरकारले चासो राख्नका लागि यो सङ्कल्प प्रस्ताव आएको छ । यो पक्षतिर सरकारको ध्यान जानेछ भन्ने विश्वास राख्दछु ।’’
सांसद भगवती न्यौपानेले अपाङ्गता भएका व्यक्तिहरुलाई सिपमूलक तालिम र व्यावसायिक तालिम दिनुपर्ने बताउनु भयो । उहाँले उनीहरुलाई सिप सिकाएर आय, आर्जन गर्नसक्ने बनाउनुपर्ने बताउनु भयो ।
सांसद खिमलाल देवकोटाले सङ्घीयताको सबलीकरण भएमा मात्र अपाङ्गता भएका लगायतका समाजका सबै वर्ग र समुदायको अधिकार सुनिश्चित हुने भएकाले सङ्घीयताको सबलीकरण गर्नुपर्ने बताउनुभयो ।
सांसद रमेशजंग रायमाझीले सरकारले कानुन र सन्धि, सम्झौतालाई कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । सरकारले कानुन कार्यान्वयनको अवस्था कस्तो छ भनि हेर्नुपर्ने पनि उहाँले बताउनुभयो ।
सांसद वामदेव गौतमले अपाङ्गता भएका व्यक्तिहरुको अधिकार कार्यान्वयन गर्न सरकारले कानुन, नियमावलीमा संशोधन गरेर सबै विषय समावेश गर्नुपर्ने बताउनुभयो । उहाँले आवश्यक परेमा संविधान संशोधन गर्न पनि तयार हुनुपर्ने बताउनुभयो ।
सांसद विमला राई पौड्यालले सबै खालका संरचनाहरु अपाङ्गतामैत्री बनाउनुपर्ने बताउनु भयो । अपाङ्गता भएका व्यक्तिहरु घरमा बस्ने वातावरण नभए ‘केयर होम’ पनि आवश्यक भएको बताउनुभयो । त्यसैगरी अपाङ्गता भएका व्यक्तिहरुलाई नीति निर्माण र निर्णय प्रक्रियामा सहभागि गराउनुपर्ने बताउनुभयो ।
उहाँले अपाङ्गता भएका व्यक्तिहरुलाई रोजगारीको सुनिश्चितता गर्नुपर्ने बताउनुभयो ।