• १२ साउन २०८१, शनिबार

विदेशबाट राहदानी लिन सकस

blog

काठमाडौँ, असोज २४ गते । काम तथा अध्ययन गर्न र अन्य पेसाका लागि विदेश जाने नेपालीको पहिलो सम्पत्ति भनेकै राहदानी हो । त्यही राहदानी बनाउन विदेशस्थित नेपाली नागरिकले अनेक समस्या खेप्नुपरेको गुनासो छ । अझ वैदेशिक रोजगारीका लागि अत्यधिक नेपाली जाने मुलुकमा नवीकरणसँगै नयाँ राहदानी लिनु भनेको ठुलो युद्ध जितेजस्तो हुने गरेको त्यहाँस्थित नेपाली नागरिक बताउनुहुन्छ। 

लामो समयदेखि दुबईमा कार्यरत नवलपरासीका मोहन बस्यालले भन्नुभयो, “धेरै नेपाली दुबईमा बस्छन्, दूतावास भने आबुधाबीमा छ । त्यहाँ पुग्नै लामो समय लाग्छ ।” नेपालमा छुट्टी हुँदा पनि दूतावास बन्द हुने र दुबईमा छुट्टी हुँदा पनि बन्द हुने समस्याले राहदानी बनाउन अर्को चुनौती दोहोरिने गर्छ । दुबईबाहेक रस अल खेमा, अजमान, फुजेरा क्षेत्रका नेपाली नागरिकलाई अझ अपायक छ ।

दूतावासले सेवा राम्रो नदिएकै कारण त्यहाँ लामो समय बसेका नेपाली आफैँले आवेदन फाराम भर्न टाइपिङ सेन्टर खोलेर सहज बनाउने प्रयास गरेका छन् । खाडी मुलुकमा मात्र हैन, युरोप, अमेरिकामा रहेका नेपालीले पनि समयमा नयाँ राहदानी बनाउन र नवीकरण गर्न नपाउने गुनासो उस्तै छ । पोर्चुगलमा रहनुभएकी चितवनकी पुनम गौतमले घुम्ती शिविर नआए राहदानी नवीकरणको सम्भावनै नरहेको सुनाउनुभयो । उहाँले भन्नुभयो, “छ महिनाअघि शिविर आएको थियो, त्यो बेला बनाउन नपाएका र नभ्याएका तनावमै छन् ।” 

पछिल्लो समय युरोपमा रोजगारी र अध्ययनका लागि जाने नेपालीको सङ्ख्या बढ्दो छ । त्यस्तोमा सुविधा सहज उपलब्ध गराउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही समयअघि नेपालमा भएको कूटनीतिक सम्मेलनमा निर्देशन दिनुभएको छ । तर परराष्ट्र मन्त्रालयले जनशक्ति व्यवस्थापनको मार्ग खुला गर्न सकेको छैन । ‘ओएनएम’ खुलाउन पहल भइरहेको प्रवक्ता सेवा लम्सालले बताउनुहुन्छ । 

राहदानी विभागका महानिर्देशक लक्ष्मण खनाल विदेशका नियोगमा राहदानी दिलाउन समस्या रहेको स्विकार्नुहुन्छ । इनरोलमेन्टको मिति नै नपाएको भन्ने गुनासो बढी विभागमा आउने गरेको छ । दूतावासको क्षमता सानो छ तर सेवाग्राही विदेशमा धेरै भएकाले गाह्रो छ । उहाँले भन्नुभयो, “विदेश जानेको सङ्ख्या धेरै गुणा बढिसक्यो तर सेवा दिने जनशक्ति र क्षमता पुरानै छ ।” आवेदन लिएर इनरोलमेन्ट गर्नकै लागि विदेशका नियोगमा पर्याप्त जनशक्ति नहुँदा पनि आवश्यकता अनुसार थप्न नसकिएको जिकिर उहाँ गर्नुहुन्छ । 

उहाँका अनुसार मध्यपूर्वसहितका खाडी मुलुकका श्रम गर्न गएका नेपालीको पीडा मेट्न त्यहाँस्थित दूतावासको सेवाले सकेको छैन । अझ युरोप र अमेरिकातिर नेपाली नागरिकको पहुँच बढ्दै जाँदा सो अनुसारको सेवा दिन नसकिएको उहाँले बताउनुभयो । उहाँले थप्नुभयो, “विभागले १५ देखि २० दिनमा राहदानी बनाएर पठाएकै छौँ तर पनि समस्या उस्तै देखिन्छ ।” 

परराष्ट्रले राजदूतावास र महावाणिज्य दूतावास नभएका स्थानमा घुम्ती टोली खटाएर सेवा दिन नखोजेको हैन । त्यसमा निरन्तरताको कमी छ । युरोपमा राहदानी आपूर्तिभन्दा माग बढी भएकाले पनि समस्या बढेको हो । जनशक्ति अभाव पूर्ति गर्न फेरि पनि गृह मन्त्रालयसँग काजमा कर्मचारी माग गर्न छलफल जारी रहेको उहाँले जानकारी दिनुभयो ।

विभागका प्रवक्ता कुमार राईले क्षमता अनुसार सेवा दिए पनि बढ्दो जनसङ्ख्या अनुसार विदेशका नियोगमा जनशक्ति र क्षमता विस्तार गर्न नसकिएकाले समस्या बल्झिएको पुष्टि गर्नुभयो । विदेशका ३० दूतावाससहित ४० स्थानबाट राहदानी र विदेशमा आवश्यक अन्य कागजात बनाउने गरिन्छ । जस अनुसार महावाणिज्य दूतावासमध्ये चीनको छेन्दुबाहेक हङकङ, ग्वाङजाउ, ल्हासाबाट सेवा दिइन्छ । छेन्दुमा चाँडै महावाणिज्य दूतावास स्थापना गर्ने तयारी छ । त्यस्तै कलकत्ता, अमेरिकाको न्युयोर्क, साउदीको जेद्दा, अस्ट्रिया र जेनेभामा महावाणिज्य दूतावासले सेवामा सघाइरहेको छ । 

एउटै दूतावासले धेरै देश हेर्नुपर्ने भएकाले सर्वत्र सेवा पुग्न नसकेको राईले औँल्याउनुभयो । नेपालीको सङ्ख्या बढ्दै गएको पोर्चुगल र न्युजिल्यान्डमा महावाणिज्य दूतवास छैन । त्यहाँ फ्रान्सले हेर्ने गरेको छ । त्यहीँ पुगेर सेवा दिन सक्ने अवस्था छैन । न्युजिल्यान्ड अस्ट्रेलियाबाट हेर्छ । अस्ट्रेलिया आफैँमा ठुलो देश छ । अमेरिकाजस्तो शक्तिसम्पन्न र सुरक्षा भएको देशको दूतावासले पनि विस्तारित सेवा दिन सकेको छैन । राईले थप्नुभयो, “त्यहाँको क्यानबेरा र सिड्नीमै सेवा दिन हम्मेहम्मे छ । अनि कसरी अर्को देशमा सेवा सहज हुन्छ ।” 

सार्क मुलुककै माल्दिभ्समा राहदानी वितरण सेवा श्रीलङ्कास्थित दूतवासले दिन्छ । श्रीलङ्कालाई आर्थिक सङ्कटले घेरेपछि माल्दिभ्समा पछिल्लो समय नेपालीको आकर्षण बढ्दै गएको छ । अहिले पनि त्यहाँ १५ हजारभन्दा बढी नेपाली सेवा क्षेत्रमा कार्यरत छन् । साउदी अरबको रियादमा अर्को ठाउँमा सेवा दिन दुई हजार किलोमिटर टाढा पुग्नु पर्छ । 

बढे राहदानी लिने

विभागबाट नियोग र स्वदेशका गरी दैनिक छ हजार राहदानी जारी हुँदै आएको छ । विदेशका दूतावास महावाणिज्य दूतावासले गत वर्ष सन् २०२२ मा ९६ हजार ८४६ थान राहदानी वितरण गरेको थियो । सन् २०२३ को हालसम्म एक लाख ७५ हजार तीन थान राहदानी वितरण गरिसकेको छ । यसले पनि गत वर्षभन्दा यो वर्ष विदेशमा नेपालीको सङ्ख्या दोब्बरभन्दा बढी हुँदै गएको देखाउँछ । 

यो वर्ष सकिन करिब तीन महिना बाँकी रहँदा हरेक मुलुकमा दोब्बर बढीले राहदानी लिएको देखिएको छ । विभागका अनुसार सबैभन्दा बढी मलेसियामा गत वर्ष १९ हजार ६७२ र यो वर्षको हालसम्म ३९ हजार ३२३ जनाले राहदानी लिएका छन् । त्यसपछि दोस्रोमा कतारमा गत वर्ष १८ हजार ६०५ जनाले र यो वर्षको हालसम्म २६ हजार ७०३ जनाले राहदानी लिएका छन् । तेस्रोमा संयुक्त अरब इमिरेट्समा गत वर्ष १३ हजार ५३९ र यो वर्षको हालसम्म २५ हजार २५७ जनाले राहदानी लिए । 

त्यस्तै रियादबाट गत वर्ष १३ हजार ३२७ र यो वर्षको हालसम्म १८ हजार ४१४ जनाले राहदानी लिए । युरोप अमेरिकातर्फ अस्ट्रेलियामा गत वर्ष पाँच हजार २३१ जनाले र यो वर्ष नौ हजार ४३८ जनाले राहदानी लिए । त्यस्तै बेलायतमा गत वर्ष दुई हजार २७७ जनाले र यो वर्ष पाँच हजार १४५ जनाले राहदानी लिए । सबैभन्दा कम कोलकाताबाट गत वर्ष तीन र यो वर्ष सात जनाले तथा ब्राजिलमा गत वर्ष तीन र यो वर्ष १० जनाले राहदानी लिएका छन् ।