• ११ मंसिर २०८१, मङ्गलबार

अनुगमन नहुँदा सामुदायिक विद्यालयमा बेथिति

blog

कुश्मा नगरपालिका –६ को शिवालय मावि कुश्मा ।

प्रनिश गिरी

कुश्मा (पर्वत), असोज १९ गते । पर्वतको कुश्मा नगरपालिकाको सामुदायिक विद्यालयमा अनुगमन नहुँदा पठनपाठनको गुणस्तर खस्किएको छ । विभिन्नखाले शैक्षिक बेथिति बढ्दो छ । 

विद्यालयको अनुगमन गर्नुपर्ने निकाय मानिने पालिकाको शिक्षा शाखाका कर्मचारीले आफ्नो जिम्मेवारी नभएको बताउँछन् । कुश्मा नगरपालिका १४ मा प्रावि ४७ वटा, निमावि २ वटा र मावि १८ गरी जम्मा ६७ वटा सामुदायिक विद्यालय छन् । अध्ययनरत विद्यार्थी सङ्ख्या करिब ६ हजार छ । 

सामुदायिक विद्यालयको शैक्षिक गतिविधिबारे अहिलेसम्म प्रभावकारी अनुगमन भएको छैन । विद्यालयको अनुगमन फितलो हुँदा विद्यालयमा आर्थिक अनियमित्ता बढ्दो छ भने पढाइको गुणस्तर घट्दो रहेको अभिभावकको गुनासो छ । विद्यालयले समयमा सामाजिक लेखा परीक्षण गरेका छैनन् । 

कुश्मा सदरमुकाममा रहेको नमुना मावि अन्तर्गत पर्ने नारायण माविमा विद्यार्थीसँग लिइएको भर्ना शुल्कमा आर्थिक अनियमितता भएको छ । विद्यार्थीसँग विविध शीर्षकमा करिब २४ लाख रकम लिएर विगत २०७८ भाद्रदेखि प्रध्यापक गोविन्दप्रसाद पोख्रेलको नेतृत्वमा ल्याब सहायक तुलसीप्रसाद श्रेष्ठ, लेखा सहायक शिशिर शर्मा पौडेलले हिनामिना गरेको भनी अख्तियार अनुसान्धान कार्यालय पोखराले छानबिन गरिरहेको छ । 

कुश्मा नगरपालिकाको शिक्षा शाखाका अधिकृत दीपक सुवेदीले विद्यालयको अनुगमन सम्बन्धमा भन्नुभयो, “शिक्षा शाखाका कर्मचारीलाई विद्यालय अनुगमनभन्दा पनि प्रशासकीय जिम्मेवारी दिइएको छ । मुलुकमा सङ्घीयता लागू भएसँगै जिल्ला शिक्षा खारेजी भयो ।” 

पहिले विद्यालयको अनुगमन गर्ने विद्यालय निरीक्षक र स्रोत व्यक्तिलाई सरकारले शिक्षा शाखाको प्रशासकीय कार्यमा खटाएको छ । अहिले विद्यालयको अनुगमन गर्ने खास जिम्मेवारीबारे अन्याेल छ ।” अधिकृत सुवेदीका अनुसार पालिकामा रहेका शिक्षा शाखाका दुई कर्मचारीलार्ई तलव निकासा, कार्य सम्पादन मूल्याङ्कन, फाइल व्यवस्थित लगायतका प्रशासकीय काम छन् ।

कुश्मा नगरपालिका १३ वडामा रहेको भगवती प्राविले विद्यालयको विभिन्न स्रोतबाट सङ्कलन भएको करिव ६ लाख रुपियाँ शिक्षा ऐन विपरीत गैरकानुनी ढंङ्ले व्यक्तिलाई ब्याजमा लगानी गरेको भनी शिक्षा विकास तथा समन्वय एकाइ पर्वतले रकम फिर्ता गरी विद्यालयकै खातामा बचत गर्न पत्र काटेको छ । 

पालिका १ पाङको धैरनी उच्च माध्यमिक विद्यालय व्यवस्थापन समितिले शिक्षक छनौटमा मनपरी गरेको भनी उजुरी परेपछि शिक्षक छनाेट गर्दाका सबै कागजपत्र मागेर अख्तियार अनुसन्धान कार्यालयले छानबिन गर्दैछ । कुश्मा नगरपालिकाको उपप्रमुख स्वस्थानी रिजाल व्यवस्थापन समिति अध्यक्ष रहेको उक्त विद्यालयमा रिजालले नै राजनीतिक शक्तिको दुरुपयोग गरी प्रश्नपत्र पहिले नै बाहिर ल्याइ आफ्नो मान्छेलाई शिक्षकमा छनाेट गरेको आरोप छ । 

नगरपालिकाको वडा १२ स्थित शहीद शुक्र प्राथमिक विद्यालयमा एक वर्षदेखि १ जना विद्यार्थीलाई ३ जना शिक्षकले पढाइरहँदा समेत दरबन्दी मिलान गर्ने काम भएको छैन । नगरपालिकाकै शिवालय मावि कुश्मा, हिमालय मावि पाङलगायत कतिपय विद्यालयले सरकारले शैक्षिक सुधार कार्यक्रम अन्तर्गत अनुदानमा दिएको लाखौं रकम खातामा राखेका छन् । 

कुश्मा नगरपालिकाका पहिलेका शिक्षा प्रमुख हाल प्रशासनिक अधिकृत विष्णु तिवारीले सामुदायिक विद्यालयका गतिविधिबारे धेरै नै उजुरी आउने गरेको बताउनुभयो । अधिकृत तिवारीका अनुसार नगरपालिकामा स्वीकृत शिक्षक दरवन्दी सङ्ख्या प्रावि २५२, निमावि ७१, मावि ८१ र उमाविमा २१ गरी जम्मा ४२५ छ ।