• १४ मंसिर २०८१, शुक्रबार

देशभित्रै सम्भावित रोजगारीको क्षेत्र खोजेर तालिम दिनुपर्छ : अर्थमन्त्री डा. महत

blog

काठमाडौं , असाेज १८ गते । बदलिँदो अवस्थालाई मध्यनजर राखेर देशभित्रै रोजगारी सिर्जना गर्ने र सम्भावित रोजगारीको क्षेत्र खोजेर तालिम दिन अर्थमन्त्री डा. प्रकाशशरण महतले सुझाव दिनुभयो । 

स्थापनाको नवौँ वर्ष पूरा भएको अवसरमा नेपाल तालिम तथा रोजगार व्यवसायी महासङ्घले आयोजना गरेको सिपमूलक तालिमका सम्भावना र योजना विषयक नीतिगत छलफल कार्यक्रम मन्त्री डा. महतले यस्तो सुझाव दिनुभएको हो । 

उहाँले भन्नुभयो, ‘‘नयाँ प्रविधि भित्रिरहेको छ, त्यसलाई पनि मध्यनजर राखेर सरकार, गैरसरकारी र निजी क्षेत्रलाई एकमुष्ठ बनाएर सम्भावना खोज्दा राम्रो हुनेछ ।’’

नेपालमै रोजगारी सिर्जना गर्नु राष्ट्रिय महत्वको विषय भए पनि यसको आलोचना र समालोचना दुवै हुने गरेको मन्त्री डा. महतले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘ठुलो सङ्ख्यामा युवाहरू बिदेसिएका छन् । बिदेसिएका युवाहरू पनि दक्ष छैनन् । दक्ष हुँदा जति आम्दानी हुन्थ्यो, त्यो अवस्था रहँदैन ।’’

देशमा शिक्षाको विस्तार भएको छ । तालिम प्राप्त मानव संसाधनको पनि विकास नभएको होइन, सरकारकै लगानीमा पनि सिटिभिटीमार्फत धेरै संस्था बनायो । त्यसपछि यसकै सम्बन्धन लिएर धेरै सङ्घ संस्था खडा भएको मन्त्री डा. महतले बताउनुभयो ।  

‘वैदेशिक रोजगारसँग जोडिएका तालिमहरू हुन्छन् । गैरसरकारी संस्था तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूले आफ्नै किसिमले तालिमका कुरा गरिरहेका हुन्छन् । 

सरकारी निकायले पनि आ–आफ्नो किसिमको तालिम दिइरहेका हुन्छन्’ मन्त्री डा. महतले भन्नुभयो, ‘‘यसमा धेरै किसिमका डुब्लिकेशन, आवश्यकतालाई मध्यनजर गरिएको हुँदैन, कतिपय कुरा औपचारिकता पूरा किसिमको हुन्छ । विनियोजित बजेटलाई खर्च गर्न सन्दर्भमा कतिपय त्यस्ता तालिम हुने गर्छन् । जसबाट ठोस परिणाम आउँदैन ।’’

बद्लिँदो परिस्थितिअनुसार अहिलेको माग के छ, औपचारिक शिक्षाभन्दा पनि विशेष आवश्यकता के छ ? तत्काल रोजगार सिर्जना गर्ने अवसर कहाँ कहाँ छ ? त्यसलाई मध्यनजर गरेर व्यावसायिक तालिमलाई विस्तार गर्न मन्त्री डा. महतले सुझाव दिनुभयो । निश्चित समयावधिलाई मध्यनजर राखेर पाठ्यक्रम बनाएर तालिम दिन सकियो भने धेरै राम्रो हुने सुझाव मन्त्री डा. महतको थियो ।

‘देशभित्रै ठुलो सङ्ख्यामा मानव संसाधनको अभाव खड्किरहेको भए पनि हरेक मानिसलाई विकल्प रोज्ने अधिकारबाट वञ्चित गरिनु हुँदैन’ मन्त्री डा. महतले भन्नुभयो, ‘‘अङ्ग्रेजी, विज्ञान र गणित विषयका शिक्षकसमेत आवश्यकताअनुसार निवेदन परेको छैन ।’’