• ५ पुस २०८२, शनिबार

आर्थिक अवस्थाबाट निराश हुनु पर्ने कारण छैन : गभर्नर पौडेल

blog

कन्हैयालाल केशरी 

पर्सा, पुस ५ गते । नेपाल राष्ट्र बैँकका गभर्नर प्राध्यापक डा.विश्वराज पौडेलले मुलुकको अर्थतन्त्र विस्तारै सुधारको लयमा फर्किएको बताउनु भएको छ । 

शुक्रबार अबेर वीरगन्जमा आयोजित ‘अर्थतन्त्रको रूपान्तरणका लागि केन्द्र र मधश प्रदेशमा नेपाल राष्ट्र बैँकको भूमिका’ विषयक सरोकारवालाहरू सँगको अन्तर्क्रिया कार्यक्रममा बोल्दै उहाँले वित्तिय क्षेत्र तथा उधोगी व्यवसायीहरूसँग बोन्ड जारी गर्ने तथा आर्थिक क्षेत्रमा देखिएका विभिन्न पक्षमा छलफल भइरहेकोले निराशाबाट आशा जगाउने काम नेपाल राष्ट्र बैँकले गरिएको बताउनु भयो ।

उहाँले  प्रतिकुल परिस्थितिमा पनि मानिसले मिहिनेत गरेका छन् भन्दै सबै देश विपन्न हुनुका पछाडि विभिन्न कारण हुँदा यसबाट निराश नभई उच्च मनोबल लिएर काम गर्न वित्तिय संस्था र व्यवसायीहरूसँग आग्रह गर्नु भएको छ।        

गभर्नर डा.पौडेलले अर्थतन्त्रमा स्रोतको कमीभन्दा पनि आत्मविश्वास र मनोबलको कमी देखिएको उल्लेख गरे । यातायात पूर्वाधार र विद्युत् क्षेत्रमा लगानी बढिरहेकाले आत्तिनु पर्ने अवस्था नरहेको भन्दै उनले सबै क्षेत्रका समस्यालाई सम्बोधन गर्न राष्ट्र बैँक प्रयासरत रहेको जानकारी दिनुभयो ।

‘‘जसरी मानिसलाई बाँच्न हावा र पानी चाहिन्छ, त्यसरी नै व्यवसायका लागि ऋण पाउनु सबैको अधिकार हो,’ उहाँले भन्नुभयो, ‘‘ऋणका लागि कसैलाई भनसुन गर्नुपर्ने अवस्था आउनु हुँदैन ।’’

उनले बैँकहरूलाई साना र पहुँचविहीन समुदायसम्म कर्जा पुर्‍याउन तथा निजी क्षेत्रसँगको सम्बन्ध सुमधुर बनाउन निर्देशन दिनुभयो । मधेस प्रदेशमा पर्यटन क्षेत्रमा नयाँ अवसरहरू रहेको र त्यसमा थप मिहिनेत आवश्यक रहेको उहाँको धारणा थियो ।

नेपाल राष्ट्र बैँक वीरगन्ज शाखा कार्यालय पर्साका प्रमुख निर्देशक सुशील पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा वीरगन्ज उधोग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष माधवलाल राजपाल लगायतका उधोगी व्यवसायी र वित्तिय संस्था व्यक्तिहरूले मुलुकमा देखिएको आर्थिक अवस्थाका बारेमा आफ्नो धारणा राखेका थिए ।