• १२ साउन २०८१, शनिबार

सांसदद्वारा शान्ति सुरक्षा हुनुपर्ने माग

blog

काठमाडौँ, असोज १८ गते । राष्ट्रियसभाका सांसदहरुले मुलुकमा हत्या हिंसा बढ्दै गएकाले त्यसको अन्त्य गर्दै शान्ति सुरक्षा हुनुपर्ने माग गरेका छन् । सभाको आजको बैठकको विशेष समयमा सांसद तुलसाकुमारी दाहालले देशका विभिन्न स्थानमा धार्मिक तथा जातीय सदभाव खलबलिएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद गोमादेवी तिमिल्सिनाले भूकम्पपीडितलाई उचित क्षतिपूर्ति दिनुपर्नेमा जोड दिनुभयो । 

सांसद युवराज शर्माले सरकारले कुनै पनि विधेयक ल्याउनुभन्दा अगाडि त्यसका बारेमा राम्रोसँग अध्ययन, अनुसन्धान गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “भर्खरै व्यापक हड्तालपछि शिक्षक महासङ्घ र सरकारबीच सम्झौता भएको छ । विश्वासको सङ्कट गहिरिदै गएका बेला ती सम्झौता कार्यान्वयन गर्ने सरकारको नैतिक जिम्मेवारी हो भने अर्कोतिर संविधानको पालना गर्नु बाध्यता छ । 

यस्तो धर्म सङ्कटमा प्रायः सरकार किन फस्ने गर्दछ ?” सरकारले सबैको विचार सुनेर मात्रै धारणा बनाउनुपर्ने उहाँको भनाइ थियो । सांसद शर्माले विकासका काम समयमै पूरा नहुनु ठूलो समस्या भएको बताउँदै शिक्षा र स्वास्थ्य क्षेत्रमा भएको महँगीका कारण जनतालाई समस्या भएको बताउनुभयो । 

उहाँले नेपालगञ्जमा भएको हिंसात्मक दङ्गा फैलिएको भन्दै त्यसबारेमा छानविन गर्नुपर्ने माग गर्नुभयो । सांसद राजेन्द्रलक्ष्मी गैरेले कर्मचारी निजामती ऐन नबनेकाले समस्या भएको बताउँदै जतिसक्दो चाँडो निजामती कर्मचारी ऐन ल्याउनुपर्ने माग गर्नुभयो । “आज धर्मका नाममा, जातिको नाममा ढुङ्गा हानाहान किन भइरहेको छ ? सरकारलाई कमजोर गराउनका निम्ति, देशमा अस्थिरता मच्चाउनका निम्ति यस्तो भइरहेको त छैन ?”, उहाँले प्रश्न गर्नुभयो । 

सांसद डा.विमला राई पौडेलले भन्नुभयो, “आम माफी दिने सवालमा सरकारले गम्भीरतापूर्वक सोच्नुपर्ने थियो ।” सांसद हरिराम चौधरीले सुदूपश्चिम प्रदेश वरिपरिका जिल्लामा भूकम्पका कारण घरविहीन भएका परिवारलाई व्यवस्थापन गर्नुपर्ने माग गर्नुभयो । कानुनी र नीतिगत भष्टाचारको अन्त्य गरिनुपर्ने उहाँको भनाइ थियो । रासस