• १२ साउन २०८१, शनिबार

एमसिसीको व्याख्यात्मक टिप्पणी स्वीकार

blog

काठमाडौं, असोज १७ गते । अमेरिकी अनुदान सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसनले नेपालले एमसीए सम्झौता अनुमोदनका क्रममा गरेको व्याख्यात्मक विश्लेषणलाई विशेष अवस्थाको सिफारिसका रूपमा स्वीकार गरेको छ । एमसीए नेपालको कार्यान्वयनको अवस्था बुझ्न नेपाल भ्रमणमा आउनु भएकी एससिसीकी प्रमुख कार्यकारी अधिकृत एलिस पिटर्सन अलब्राइटले नेपाल सरकारले गरेको त्यो व्याख्यात्मक विश्लेषणलाई अमेरिकी सरकारले स्वीकार गरेको बताउनु भएको हो ।

राजधानी काठमाडौँमा मङ्गलबार आयोजित पत्रकार भेटघाटमा उहाँले भन्नुभयो, “हाम्रो सरकारले यो व्याख्यात्मक विश्लेषणलाई असाधारण रूपमा गरिएको सिफारिसका रूपमा स्वीकार गरेको छ ।”

पत्रकार सम्मेलनमा यो आफ्नो दोस्रो नेपाल भएको बताउँदै प्रमुख कार्यकारी अधिकृत अबल्राइटले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग फलदायी भेटवार्ता भएको जानकारी गराउनुभयो ।

त्यस्तै उपप्रधानमन्त्री, अर्थमन्त्री, उर्जामन्त्रीसँग पनि एमसिसी सहकार्यका विषयमा गहन छलफल भएको औँल्याउनुभयो । नेपालमा बढी विश्वासिलो विद्युत, ऊर्जा, सडक सञ्जाल र सम्भावित निर्यात बजारको सिर्जना गर्नै नेपाली जनताको जीवन सन्तुष्ट बनाउन एमसिसीअन्तर्गतको ट्रान्समिसन लाइनले सघाउने दाबी अलब्राइटले गर्नुभयो । यो वर्ष एमसिसी कार्यान्वयनसँगै नेपाल अमेरिका सम्बन्धको अर्को कोसेढुङ्गा भनेको दुई देशबिचको ७६ औँ वर्षगाँठ रहेको औँल्याउनुभयो । यो सम्झौता नेपाली जनताका लागि नेपाल सरकारसँग मिलेर अमेरिकी सरकारले तयार पारेको  अति महत्त्वाकाङ्क्षी योजनाअन्तर्गत रहेको चर्चा उहाँले गर्नुभयो । अबको पाँच वर्षभित्र सम्झौता कार्यान्वयन सफलतापूर्वक सकिने आशा राखेको स्पष्ट पार्नुभयो । 

एमसिसीलाई अझ बलियो पार्न नेपाल सरकारले गरेको महत्त्वपूर्ण लगानीको बारेमा उहाँले त्यसको सराहना गर्नुभयो । एमसीए सम्झौताको अनुगमन र मूल्याङ्कनको सवालमा एमसिसी र एमसीए नेपाल दुवैले काम गरिरहेको उहाँले जानकारी दिनुभयो । नेपाल सन् २०२६ पछि विकासशील मुलुकमा स्तरोन्नति हुँदै गर्दा एमसिसी अन्तर्गत थप सहयोग कस्तो रहन्छ भन्ने सवालमा उहाँले पहिलो सम्झौता सफल भएको खण्डमा मात्र दोस्रो सम्झौतामा जान सकिने आधार बन्ने स्पष्ट पार्नुभयो । एमसिसी सम्झौता गर्न विभिन्न सूचक रहेका छन् । जसमध्ये कम आय भएको देश हुनुपर्ने सँगै त्यो देशले अमेरिकी सरकारले तय गरेको स्कोर कार्डको अनुरूपको सूचकाङ्कमा अटाउनुपर्ने जानकारी उहाँले दिनुभयो ।

एमसिसीका बारेमा अनेकन् धारणा बनेकाले सुरुवातमा यसले धेरै खालको चुनौती थेग्नु परेको स्मरण गर्दै अब भने कार्यान्वयन सहज हुने अपेक्षा रहेको बताउनुभयो । एमसिसीका उपाध्यक्ष जोनाथन बु्रक्सले अमेरिकी सरकारले गरेको लगानीको एक–एक डलरको अनुगमन र मूल्याङ्कन गरेर परियोजना सफल पार्न सघाउने  बताउनुभयो ।

एमसिए नेपालका प्रमुख कार्यकारी निर्देशक खड्गबहादुर विष्टले सम्झौता कार्यान्वयनको चरणमा प्रवेश गरिसकेको बताउँदै सामान्य विषयहरुमात्र थाती रहेको औँल्याउनुभयो । परियोजना कार्यान्वयनका लागि सरकारले भरमग्दुर सघाएकाले पनि पाँच वर्षभित्र सफल रूपमा सम्पन्न हुने विश्वास उहाँले दिलाउनुभयो ।

नेपालका लागि अमेरिकी राजदूत डिन रिचार्ड थम्पसनले एमसिसी नेपाली जनताको जीवनस्तर सुधार गर्न सहायक हुने विश्वास व्यक्त गर्दै यो लगायत अन्य विभिन्न परियोजनाले गरेका विकास कार्यले नेपालको विकासशील मुलुकमा हुन लागेको स्तरोन्नतिलाई सघाउने दाबी गर्नुभयो ।

यस परियोजनाका लागि अमेरिकी सरकारको पाँचसय मिलियन डलर र नेपाल सरकारको १९७ मिलियन डलरको साझेदारी रहेको छ ।

नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेसन बिच भएको अनुदान सहायता सम्झौता मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसिसी) यही भदौ १३ गते कार्यान्वयन चरणमा प्रवेश गरेको हो ।

सम्झौतामा तोकिए अनुसारका सर्त पुरा गरेसँगै कार्यान्वयनले गति लिएको छ । अमेरिकी सरकारले सन् २००४ मा स्थापना गरेको मिलेनियम च्यालेञ्ज कर्पोरेसनले आर्थिक अवस्था कमजोर भएका राष्ट्रहरूलाई थ्रेसहोल्ड र कम्प्याक्ट नामक अनुदान प्रदान गरेर पूर्वाधार क्षेत्रको विकास गरी आर्थिक समृद्धि हासिल गर्न सघाउने गरेको छ ।

यसमार्फत विस्थापित स्थानीयलाई विभिन्न जीविकोपार्जन सम्बन्धी तालिम तथा कार्यक्रम सञ्चालन गरी स्थानीयलाई पुनर्स्थापित गराउन र आर्थिक स्तरलाई अभिवृद्धि गरिने कार्यक्रम सञ्चालन गरिएका छन् ।

विविध अवरोधका बाबजुद एमसिसी कम्प्याक्ट नेपालको संसद्बाट २०७९ साल फागुन १५ गते अनुमोदन भएको थियो । बुधवार एमसीए कार्यान्वयनको सफल प्रवेशको अवसरमा विशेष समारोहको आयोजना गरिँदैछ ।