• १८ पुस २०८१, बिहिबार

राष्ट्रपति पौडेल तनहुँ आउनु हुने

blog

राष्ट्रपति रामचन्द्र पौडेल ।

अमरराज नहर्की
तनहुँ, असोज २ गते ।
राष्ट्रपति रामचन्द्र पौडेल असोज ६ गते शनिबार आफ्नो गृह जिल्ला तनहुँ आउनु हुने भएको छ । राष्ट्रपतिले दमौलीमा निर्माण गरिएको जिल्ला सभाहलको समुद्घाटन गर्नुहुने कार्यक्रम छ ।

जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले राष्ट्रपति पौडेलको जिल्ला भ्रमणको क्रममा जिल्ला सभाहलको समुद्घाटन गर्ने कार्यक्रम तय भएको जानकारी दिनुभयो  ।

राष्ट्रपतिले उद्घाटन गर्ने सभाहल सङ्घीय सरकारको सहयोगमा २३ करोडको लागतमा निर्माण गरिएको उहाँको भनाइ छ । उक्त सभाहल सम्पन्न भएपछि जिल्लाभित्र हुने ठूला सेमिनार, गोष्ठी, महाअधिवेशन जस्ता कार्यक्रम गर्न सहज हुनेछ । भवन डाँफे एमए प्रतिष्ठान जेभीले निर्माण गरेको हो । करिब छ हजार ५०० वर्गफिट क्षेत्रफलमा दुई ब्लकमा गरी भवन निर्माण गरिएको छ भने लम्बाइ ७५ र चौडाइ ४५ सेन्टिमिटरको बिम निर्माण गरिएको छ ।


दोस्रो तलामा स्टेज, तेस्रोमा सेमिनार हल र चौथोमा अतिथिका लागि कपडा परिवर्तन गर्ने र आराम गर्ने कक्ष रहेका छन् । राष्ट्रपति पौडेलले नेपाली कांग्रेसको वरिष्ठ नेता भएको समयमा  सभाहलको निर्माणका लागि पहल गर्नुभएको समवन्य प्रमुख वाग्लेले जानकारी दिनुभयो ।

राष्ट्रपतिले बिपीको सालिक अनावरण गर्नुहुने  
जिल्ला आवागमनको क्रममा राष्ट्रपति पौडेलले व्यास नगरपालिका–३ बिपी वनवाटिकामा निर्माण भइरहेको नेपालका जननिर्वाचित प्रथम प्रधानमन्त्री बिपी कोइरालाको सालिकको अनावरण गर्नुहुने भएको छ ।

सालिक कोइरालाले २०३६ साल असोज ६ गते बेलचौतारीबाट जनसभालाई सम्बोधन गरेको स्मरणमा बिपी वनवाटिका निर्माण गरिएको सोही ठाउँमा बिपीको सालिक बनाउने काम धमाधम भइरहेको जननायक बिपी कोइराला  स्मृति ट्रष्टका महासचिव तथा संविधानसभा सदस्य रामचन्द्र पोख्रेलले बताउनुभयो । बिपीको सालिक तथा त्यसवरपरको संरचना १५ लाख रुपियाँको लागतमा निर्माण गरिएको उहाँले जानकारी दिनुभयो । गण्डकी प्रदेश  सरकारको दश र पाँच लाख रुपियाँ चन्दा सङ्कलन गरी १५ लाखको लागतमा निर्माण गरिएको पोखरेलको भनाइ छ । पोखरेलका अनुसार बिपी सो समयमा बेलचौतारीबाट पहिलोपटक बिपीले यस्तो उद्गार गर्नुभएको थियो । उहाँले भन्नुभयो, ‘‘सबै नेपाली मै सरह’’ भन्दै म चाहन्छु, सबै नेपालीको एउटा बस्ने घर होस्, एउटा दुहुनो गाई होस्, बिहान र बेलुका खान पुगोस्, केटाकेटीलाई पढाउन सकुन् र बिरामी पर्दा ओखतीमूलो गर्ने सामर्थ्य होस् ।’’

बिपी वनवाटिका र सभाहलको आडैमा छ । पौडेल राष्ट्रपति बनेपछि पहिलो पटक जिल्लाा आउन लाग्नुभएको हो । राष्ट्रपति पौडेल तनहुँको व्यास नगरपलिका–७ रिस्ती (साविक रिस्ती गाविस) मा जन्मनुभएको हो । यसअघि नै पौडेल तनहुँ आउने कार्यक्रमको तयारी गरिएको भए पनि स्वास्थ्यमा समस्या परेकाले आउन ढिलाइ भएको समन्वय प्रमुख वाग्ले बताउनुहुन्छ ।