• १४ मंसिर २०८१, शुक्रबार

सडक सञ्जालले खोसिएको रोजगारी

blog

यदुप्रसाद भट्ट

मनाङ, भदौ २७ गते । लमजुङको बेँसी सहरबाट सुरु हुने अन्नपूर्ण पदमार्गको यात्रा मनाङ हुँदै विश्वकै अग्लो हिमाली भञ्ज्याङ मानिएको थोराङ्ला पाँच हजार चार सय १६ मिटर पास हुँदै मुस्ताङको मुक्तिनाथ, जोमसोम र म्याग्दीबाट पोखरासम्म पुगेर टुङ्गिन्छ । 

चल्तीको यो पदमार्ग सडक सञ्जालको चपेटामा परेको छ । सडक सञ्जाल पुगेपछि कैयौँ पदमार्ग भत्किएका छन् भने केही पदमार्गबाटै सडक बनेको छ । पहाडी र उच्च हिमाली भेगको यातायातलाई सहज बनाउन निर्माण गरिएका सडक सञ्जालका कारण २१ दिनको पदमार्ग अहिले ७ देखि १० दिनमा पूरा गर्न सकिने भएको छ । 

पर्यटकीय सिजन सुरु भएकाले हालै मात्र अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) को सहकार्यमा प्रमुख जिल्ला अधिकारी र जिल्लास्थित सुरक्षा निकायका प्रमुख तथा जनप्रतिनिधिको टोली तिलिचोसम्मको अनुगमन भ्रमण गरेर फर्किएको छ । पहिले २१ दिन लाग्ने यस पदमार्गको मारमा यहाँका भरिया मात्रै नभई स्थानीय उद्यमी र पर्यटन व्यवसायी पनि परिरहेका छन् । ठाउँ ठाउँमा पदमार्ग भत्किँदा, ट्रेलहरू बिग्रँदा, बोर्डहरू मेटिँदा पर्यटकलाई असुविधा भएको छ भने सडक सञ्जालले गर्दा दैनिक मजदुरी गरेर खाने वर्गको रोजीरोटी खोसिएको छ ।

बेँसी सहरबाट पुमाखोला पुल तरेपछि आउने दोस्रो बस्ती हो चनौटे । चनौटेको धूले सडकमा जिप हुइँकिँदा यहाँका स्थानीयको रोजगारी पनि खोसिएको छ । यही बाटोमा भारी बोकेर खाने यहाँका भरियाले गाडी हिँड्न थालेपछि यिनैले उडाएको धूलो सास्तीसँगै उपहार बनेर आएको छ । बेँसी सहरबाट चामेसम्मको ६५ किलोमिटर सडकको ट्रयाक खुलेसँगै भारी बोक्ने काम बिस्तारै सुस्तायो । 

मालसामान सबै जिपमा ओसार्न थालेपछि ०७१ सालदेखि त भरियाको काममै पूर्णविराम लागेको छ । “हेर्दाहेर्दै गाडीले भारी बोक्न थाले”, जिपपछाडि राखेका भारी देखाउँदै गोरखाका ४० वर्षीय श्यामबहादुर गुरुङले भन्नुभयो, “काम खोसिएपछि छोराछोरी हुर्काउनै पो धौधौ परिरहेको छ ।” बेँसी सहरको मनाङे चौतारादेखि मनाङसम्म भारी बोक्नुभएको गुरुङले भन्नुभयो, “कहिले गोराको भारी बोकियो त कहिले साहुको ।”

मनाङमा ०५० सालसम्म खासै होटल थिएनन् । चक्रीय अन्नपूर्ण पदमार्गको पनि प्रचारप्रसार थिएन । सन् १९९२ मा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना स्थापना भएपछि यसले संरक्षण र पर्यटनमा काम गर्न थाल्यो । सन् १९९६ देखि चक्रीय अन्नपूर्ण पदमार्गमा आउने पर्यटकको तथ्याङ्क लिने र यसको प्रचारप्रसार गर्न थाले । त्यतिबेलासम्म पनि मनाङमा खासै खच्चड हिँड्ने थिएनन् । 


पर्यटक र स्थानीय कतैकतै डोरी र भर्‍याङमार्फत हिँड्थे । यहीबेला धेरै भरियाले रोजगारी पाएको पर्यटन व्यवस्थापन समिति मनाङका अध्यक्ष विनोद गुरुङ बताउनुहुन्छ । उहाँका अनुसार सवारी नचलेको केही ठाउँमा पर्यटकका व्यक्तिगत सामान बोक्नलाई भरिया प्रयोग गरिन्छ । त्यो पनि न्यून मात्रामा छ । गाडी चलेपछि खच्चड र भरिया विस्थापित भएको उहाँको भनाइ छ । व्यवसायी गुरुङले भारी बोक्ने खच्चड पनि बिस्तारै घट्दै गएको र हाल नार्पाभूमि गाउँपालिकातिर मात्रै भारी बोक्न खच्चड प्रयोग हुन थालेको बताउनुभयो ।

वि.सं. ०६९ मा मनाङ सदरमुकाम चामे सडक सञ्जालमा जोडिएको दुई वर्षभित्रै माथिल्लो मनाङसम्म मोटर चल्यो । चामेबाट माथिल्लो मनाङ गाउँसम्म मोटर चल्न थालेपछि पहिले भरिया लिएर बाटोमा क्याम्पिङ गर्दै पदमार्गमा जाने पर्यटक अहिले सिधै होटलमा बास बस्न थालेका छन् । होटलमा बस्न थालेपछि खानपान र भाँडाकुँडा बोक्नुपरेन । गाडी चल्न थालेपछि पर्यटक पनि गाडीमै, सामान पनि गाडीमै । भरियाबिनै काठमाडौं–पोखराबाट बेँसी सहर हुँदै सिधै माथिल्लो मनाङ पुग्ने गरेका छन् ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय मनाङका अनुसार सन् २०१३ अघिका वर्षमा चक्रीय अन्नपूर्ण पदमार्गमा बर्सेनि १९ हजारको हाराहरीमा विदेशी पर्यटक यहाँ भित्रिन्थे । सन् १९९९ मा आठ हजार पर्यटकले चक्रिय अन्नपूर्ण पदमार्गको भ्रमण गरेका थिए । पर्यटकको तथ्याङ्क राखिए पनि कुनै पनि निकायले भरियाको तथ्याङ्क राखेका छैनन् । बेँसी सहरसम्म मोटर चल्ने भएकाले पर्यटकहरू बेँसी सहर बास बस्न आउँथे । बेँसी सहरबाटै भरिया लैजान्थे । जिल्ला समन्वय समिति मनाङका प्रमुख चीनबहादुर घलेका अनुसार २ जना बराबर १ जना भरिया हुन्थे । 


करिब दुई दशक पथप्रदर्शक रहेका गोरखाका ईश्वर अधिकारीका अनुसार चक्रीय अन्नपूर्ण पदमार्गमा ०५० सालतिर भरियारले प्रतिदिन २ सय ५० रुपियाँ लिन्थे । ०६५ तिर प्रतिदिन ५ सय रुपियाँ लिन्थे । पछिल्लो समय ०६९/०७० तिर प्रतिदिन १ हजार रुपियाँ लिन थालेको अधिकारीले बताउनुभयो । “पर्यटकीय मौसमको ६ महिनामा एक जना भरियाले मात्रै सवा लाख बढी आम्दानी गर्थे,” उहाँले भन्नुभयो, “अरू महिना मनाङसम्म खाद्यान्न, निर्माण सामग्री बोक्थे । उनीहरूको गुजारा चल्थ्यो । अहिले सिधै पोखरा–काठमाडौँबाट केही भरिया ल्याउँछन् ।” पहिले बेँसी सहरदेखि मनाङ–मुस्ताङ हुँदै बेनी–पोखरासम्मको २१ दिनका लागि बेँसी सहरबाट भरिया लगिन्थ्यो । अहिले मोटर चलेपछि काठमाडौं–पोखराबाट पर्यटक सिधै मनाङ पुग्छन् । 

खाङसारदेखि तिलिचो र माथिल्लो मनाङदेखि थोराङ्ला पास हुँदै मुक्तिनाथसम्म तीन–चार दिनका लागि चाहिने भरिया उतैबाट ल्याउँछन् । “अहिले यताका भरिया त कता हराए कता, सबै पलायन भएजस्तो छ,” अधिकारीले भन्नुभयो ।

नेपाली सेनाले मनाङ सदरमुकाम चामेसम्म सडकको ट्रयाक खोलेर हस्तान्तरण गरेसँगै धेरै भरियाको पेसा सङ्कटमा पर्न सुरु भयो । विकट नार्पाभूमि गाउँपालिकामा भने खच्चडको प्रयोग यथावतै रहेको अध्यक्ष कोन्जो तेन्जिङ लामाले बताउनुभयो । उहाँले भन्नुभयो, “सडक सञ्जालले यो पालिकालाई छुन सकेको छैन, मालसामान ढुवानीको एक मात्र माध्यम खच्चड नै हो, भरिया पाउन त मुस्किल नै छ ।”

बस्तीहरू समेत नभएको पहाडी बाटोमा भारी बोकेर हिँड्ने काम सजिलो भने होइन । भारी बोक्दाका दुर्घटना र कहाली लाग्दा घटना श्यामबहादुरको सम्झनामा अहिलेसम्म ताजै छन् । भारी बोकेर मनाङ पुगेकाहरू फर्किँदा रित्तै फर्किनुपर्ने भएपछि ३ रुपियाँ किलोमा आलु किन्थे र बेँसी सहर ल्याएर ६ रुपियाँ प्रतिकिलोमा बेच्थे । प्रतिगोटा स्याउ १–२ रुपियाँमा किन्थे र बेँसी सहर ल्याएर प्रतिगोटा ३–४ रुपियाँमा बेच्थे । ग्रामीण अर्थतन्त्रको यो स्वरूप गाडी गुड्न थालेपछि अहिले फेरिएको छ । ‘धान, मकै र कोदो खेती नहुने मनाङमा आलु र फापर फल्छ । मनाङको आलु धेरैजसो मनाङमै बिक्री हुन्थ्यो । हिजोआज आलु मनाङमा बिक्री हुँदैन । “पहिले फापर फलाउँदै आएका किसानले खेती गर्न छाडेका छन्”, मनाङ ङिस्याङ गाउँपालिका अध्यक्ष कान्छा घलेले भन्नुभयो, “आलु भने बेँसी सहर हुँदै पोखरा–काठमाडौँसम्म पुग्छ । आफ्नै गाउँ ठाउँमा बिक्री गरेजस्तो मनाङीलाई बाहिर लगेर बेच्न सहज भने छैन ।”


एक समय बेँसीसरहबाट हिँडेर दुई दिनमा पुगिने मनाङको धारापानीसम्म अचेल जिपमा चार घण्टामै पुगिन्छ । धारापानीदेखि तिल्चे (मनाङ) सम्म पनि यातायात चल्छ । त्यसपछि भीमथाङ, लार्के (मनाङ-गोरखा) सिमाना हुँदै सामागाउँ एक सातामा पुगिन्छ । मनास्लु पदमार्गको यो बाटोमा अहिले खच्चड प्रयोग हुन्छ । तिलिचोतर्फ खाङ्सारसम्म जिप एकै दिनमा पुग्छ । खाङ्सारदेखि तिलिचो बेसक्याम्प एक दिनमै पुगिन्छ । लमजुङ बेँसी सहरबाट थोराङ्लातर्फ मनाङगाउँसम्म एकै दिनमा पुगिन्छ । त्यहाँबाट २ दिनको यात्रामा थोराङ्ला बेसक्याम्प पुगिन्छ ।

यस्तै, ०६९ सालसम्म बेँसी सहरको मनाङे चौतारा, पुमाखोला, चनौटे, बेलौती बिसौना आसपास बस्ने भरियाहरूले विदेशी पर्यटकको भारी बोक्दै २१ दिनको चक्रीय अन्नपूर्ण पदमार्गको यात्रा गर्थे । कोही मनाङ प्रवेशपछि मनास्लु पदमार्गको बाटो गोरखा लार्केपासतर्फ लाग्थे । सिङ्गो मनाङमा भरियाले नै खाद्यान्न पुर्‍याउँथे । मङ्सिरदेखि फागुनसम्म चार महिना गाउँमा नबस्ने मनाङी भरियाले बोकेको खाद्यान्न खाएर अरू ८ महिना गाउँमै बस्थे ।