• ६ वैशाख २०८३, आइतबार

अन्नपूर्ण प्रथम हिमालमा वसन्तयामको पहिलो सफल आरोहण

blog

अन्नपूर्ण हिमाल । फाइल तस्बिर

ठाकुरप्रसाद आचार्य 
म्याग्दी, वैशाख ६ गते ।
अन्नपूर्ण प्रथम हिमालको चुचुरोमा वसन्तकालिन यामको पहिलो सफल आरोहण भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङस्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथमको चुचुरोमा शनिबार सात जना विदेशी आरोहीले सफल आरोहण गरेका हुन् ।  

अनुकूल मौसमको अवसर छोप्दै विदेशी आरोहीसहितको टोलीले शनिबार अन्नपूर्णको सफल आरोहण गरेको सेभेन समिट ट्रेकका सञ्चालक थानेश्वर गुरागाइँले जानकारी दिनुभयो ।

सेभेन समिट ट्रकबाट आरोहणका लागि पुगेको टोलीले वैशाख १ गते आधार शिविरबाट प्रस्थान गरेर बाक्लो हिउँ र चुनौतीपूर्ण मार्ग पार गर्दै अन्नपूर्णको शिखर यात्रा पूरा गरेको सेभेन समिट ट्रेकका सञ्चालक गुरागाइँले जानकारी दिनुभयो । उहाँका अनुसार यसअघि फिक्सिङ टोलीले मार्ग खुला गरेपछि आरोहण सम्भव भएको उहाँको भनाइ छ ।

यस सफल आरोहणमा पाँच विदेशी आरोही र पाँच जना शेर्पा गाइडसहित १० जनाको टोली शिखरमा पुगेको उहाँले बताउनुभयो । शिखरमा पुग्ने आरोहीहरुमा क्यानडाका चाल्र्स पेज, रसियाका भालेरी बाबानोभ, भ्लादिमिर अफानास्येभ युरी क्रुग्लोभ र अजरबैजानका इस्रफ्ली अशुर्ली रहनुभएको छ ।

आरोहणमा सहयोग गर्ने नेपाली शेर्पा गाइडहरूमा लाक्पा शेर्पा, छेवाङ शेर्पा, दावा नुर्बु शेर्पा, पासाङ दुक्पा शेर्पा र छाङ्बा शेर्पा रहनुभएको छ । त्यस्तै तारामान तामाङ र पासाङ शेर्पाले समेत आरोहण व्यवस्थापनमा महत्त्वपूर्ण सहयोग गरको उहाँले बताउनुभयो । आरोहीहरु सबै सुरक्षित रुपमा क्याम्प दुईमा आइपुगेको सेभेन समिट ट्रेकले जनाएको छ ।

निरन्तरको हिमपात र कठिन भौगोलिक अवस्थाका बाबजुद बसन्तकालिन सिजनको प्रारम्भमै भएको यो सफल आरोहणलाई महत्वपूर्ण उपलब्धिका रुपमा लिइएको मौरिस हर्जोग पदमार्गका अभियान्ता समेत रहनुभएका स्थानीय पर्यटनकर्मी तेज गुरुङले बताउनुभयो । अन्नपूर्ण हिमाल विश्वकै जोखिमपूर्ण आठ हजार मिटरभन्दा अग्ला हिमालमध्ये एक मानिन्छ ।

आरोहणको सिजन सुरु भएसँगै चार हजार एकसय ९० मिटर उचाइमा रहेको आधार शिविरमा यतिखेर आरोही, शेर्पा, पथप्रर्दशक, मजदुर र पर्यटकहरुले भरिएको छ । पर्यटन विभागका अनुसार वसन्तयाममा अन्नपूर्ण  आरोहणका लागि चार  समूहका आठ महिलासहित २७ जनाले अनुमति लिएका छन् ।

अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरबाट २२ किलोमिटरसम्म सवारीसाधनको यात्रा गरी होमखोलासम्म पुगेपछि त्यहाँबाट २१ किलोमिटरको पदैलयात्राबाट आधार शिविर पुग्नसकिन्छ । पदमार्गमा रहेको फुतफते झरना, आधार शिविरमा रहेको आकर्षक पञ्चकुण्ड ताल र हिमालको प्राकृतिक सुन्दरताले गर्दा यो क्षेत्र पछिल्लो समय आकर्षक पर्यटकीय गन्तव्यका रुपमा विकास भएको छ ।