अमरराज नहर्की
तनहुँ, वैशाख ६ गते । तनहुँको पवित्र तीर्थस्थल देवघाटधाममा सञ्चालित गुरुकुलहरूमा संस्कृत शिक्षा अध्ययनका लागि विद्यार्थीको थेगिनसक्नु चाप देखिएको छ । उपलब्ध कोटाको तुलनामा ६ गुणाभन्दा बढी आवेदन परेपछि यहाँका गुरुकुलहरूले प्रवेश परीक्षामार्फत विद्यार्थी छनोट गर्न थालेका छन् ।
देवघाट–५ स्थित श्रीहरिहर सन्यास आश्रमद्वारा सञ्चालित परमानन्द संस्कृत गुरुकुल विद्यापिठले शैक्षिक सत्र २०८३ का लागि ३० जना विद्यार्थी भर्नाको आवेदन खुलाउँदा १८९ जनाले फारम भरेका थिए । मागभन्दा ६ गुणा बढी आवेदन परेपछि शनिबार प्रवेश परीक्षा र अन्तर्वार्तामार्फत ३० जना विद्यार्थी छनोट गरिएको छ । त्यस्तै, देवघाटकै महेश संस्कृत गुरुकुलले ३२ जनाको कोटाका लागि आवेदन खुलाउँदा २५० भन्दा बढीले परीक्षा दिएका छन् । अर्को प्रतिष्ठित वेद वेदाङ्ग संस्कृत विद्यालयले पनि आवश्यक संख्याभन्दा निकै धेरै आवेदन परेपछि आगामी सोमबारका लागि प्रवेश परीक्षा तय गरेको छ । देवघाटका तिनवटै गुरुकुलले कक्षा ६ मा प्रत्येक वर्ष औसत २५ देखि ३५ जनासम्म मात्र नयाँ विद्यार्थी भर्ना लिने गरेका छन् ।
पछिल्ला वर्षहरूमा संस्कृत शिक्षा वा गुरुकुल पद्धतिमा अभिभावक र विद्यार्थीको आकर्षण बढेको परमानन्द संस्कृत गुरुकुलका सहायक प्राचार्य कृष्णदेव पाण्डेय बताउनुहुन्छ । उहाँका अनुसार देवघाटका गुरुकुलहरू देशमै ख्यातिप्राप्त रहेकाले पनि विद्यार्थीको आकर्षण बढ्ने गरेको हो । विगतमा संस्कृत अध्ययनका लागि पूर्वी नेपालबाट भारतको बनारस र वृन्दावन जाने प्रचलन थियो तर समयको परिवर्तनसँगै नेपालमा संस्कृत पढ्न भारतबाट समेत बटुकहरू आउन थालेका छन् । महेश संस्कृत गुरुकुलका प्रधानाचार्य फणिन्द्रप्रसाद पौडेलका अनुसार भारतको काशी र बनारस लगायतका विभिन्न ठाउँबाट समेत बटुकहरू अध्ययनका लागि देवघाट आउने गरेका छन् ।
गुरुकुलमै बसेर संस्कृत पढ्न चाहनेहरूको सङ्ख्या बढे पनि सिमित कोटाले गर्दा सबैले भर्ना हुन पाउने अवस्था छैन । आवाससहित निःशुल्क शिक्षा, संस्कारयुक्त वातावरण र हिन्दू धर्मप्रतिको बढ्दो चासोले गर्दा अभिभावकहरूले गुरुकुल रोज्ने गरेको प्रधानाचार्य पौडेलको भनाइ छ । देवघाटमा सञ्चालित सबै गुरुकुलहरू दाताकै भरमा चल्दै आएका छन् । सनातन धर्म, संस्कार र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले सञ्चालित यी गुरुकुलमा करिब सात सय बटुक अध्ययनरत छन् ।
महेश संस्कृत गुरुकुल र परमानन्द संस्कृत गुरुकुलमा आचार्य (स्नातकोत्तर) तहसम्म र वेद वेदाङ्गमा शास्त्रीसम्मको पठनपाठन हुन्छ । यी सबै गुरुकुलले राष्ट्रिय परीक्षा बोर्ड र नेपाल संस्कृत विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी आधुनिक र प्राचीन शिक्षाको सङ्गममका रूपमा अध्यापन गराइरहेका छन् । सरकारले देवघाटका हरेक गुरुकुललाई वर्षेनी एक जना शिक्षक बराबरको मात्र अनुदान उपलब्ध गराउँदै आएको छ । गुरुकुललाई मूलधारको शिक्षामा जोड्न नेपाल सरकारको पाठ्यक्रमलाई समावेश गरिए पनि संस्कृत शिक्षालाई हेर्ने सरकारी दृष्टिकोण र सहयोगमा वृद्धि हुनुपर्ने पौडेल बताउनुुहुन्छ ।