तुलसीपुर समाचारदाता
तुलसीपुर, वैशाख ६ गते । तुलसीपुर उपमहानगरपालिका अन्तर्गत रहेको शान्ति उद्यानभित्र भीमकाय गौतम बुद्धको मूर्ति छ । तत्कालीन नेकपा माओवादीको युद्ध उद्गमस्थल मानिएको राप्ती अञ्चलमा शान्तिको कामना गर्दै स्थापना गरिएको शान्ति उद्यानले शान्तिको सन्देश मात्रै छरेको छैन । हाम्रा पुरानो पुस्ताले समय हेर्नका लागि बनाएको धूपघडीसमेत संरक्षण गरिरहेको छ ।
नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठका सहप्राध्यापक एवं धूपघडी निर्माणकर्ता सहप्राध्यापक जयन्त आचार्यका अनुसार नेपालमा सबैभन्दा पुरानो घडी लिच्छवीकालमै बनाइएको स्वयम्भूमा छ भने हनुमानढोका दरबार र घण्टाघरमा समेत धूपघडी रहेको छ । यी तिनै ठाउँमा रहेका घूपघडी जीर्ण अवस्थामा रहेका छन् ।
नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गत रहेको जनता विद्यापीठ बिजौरी र तुलसीपुर उपमहानगरपालिकाको सहकार्यमा तुलसीपुर उपमहानगरपालिका–७ मा रहेको राप्ती शान्ति उद्यानमा धूपघडी राखिएको छ । नेपाल संस्कृत विश्वविद्यालयको केन्द्रीय कार्यालयको दाता स्मारक स्तम्भ क्षेत्रमा समेत धूपघडी राख्ने तयारी गरिएको छ । विश्वविद्यालयका कुलसचिव प्राध्यापक माधव अधिकारीले त्यस क्षेत्रमा व्यवस्थापनको काम भइरहेको र त्यो काम सकेपछि धूपघडी राखिने बताउनुभयो ।
शान्ति उद्यान समितिका पूर्वअध्यक्ष एवं पार्क रहेको गणेश सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष डिल्ली भण्डारीले बुद्धको मूर्तिनजिकै राखिएको धूपघडीका बारेमा अवलोकन गर्न आउने पर्यटकले निकै चासो राख्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “धेरैले आफूले लगाएको घडीको समय र धूपघडीमा देखिएको समयका बारेमा समेत समय मिलेको देखेर आश्चर्यचकितसमेत हुनुहुन्छ ।” पार्क अवलोकनका क्रममा पुगेका तुलसीपुर दोघर्रेका सागर रेग्मीले धूपघडी आफूले पहिलो पटक देखेको र आफूले बाँधेको घडी र धूपघडीको समयसमेत मिलेको बताउनुभयो ।
निर्माणकर्ता सहप्राध्यापक जयन्त आचार्यले धूपघडी तयार पार्न एक लाख खर्च लागेको जानकारी दिनुभयो । राज्यका तर्फबाट तुलसीपुर उपमहानगपालिका र नेपाल संस्कृत विश्वविद्यालयले मात्रै चासो देखाएको देखिन्छ । तुलसीपुरमा राखिएको धूपघडी १८ इन्चको रहेको छ । तामाको छाया विशेष प्रकारको ग्रेनाइटमा पर्ने गरी धूपघडी तयार पारिन्छ ।
ग्रेनाइटमा छाया परेपछि त्यस स्थानको समय पत्ता लाग्ने सहप्राध्यापक खगोलविद् जयन्त आचार्यले जानकारी दिनुभयो । आचार्यले भन्नुभयो, “यो प्राचीन घडी हो, हाम्रो आधुनिक घडीको समय गणेश हिमाललाई आधार मानेर यकिन गरिएको छ तर धूपघडीको समय उत्तरी धु्रवलाई यकिन गरिएकाले तथ्यगत हुन्छ ।”