जयकृष्ण यादव
इनरुवा, वैशाख ६ गते । इनरुवा नगरपालिका–९, बबियाका किसानले इन्धनको भाउ बढेपछि हलगोरुले खेती गर्न सुरु गरेका छन् । दशकअघिदेखि हलगोरु पाल्ने किसान घट्दै गएकोमा पच्छिलो समय डिजेलको मूल्य बढेर खनजोत प्रविधिमासमेत त्यसको असर परेकाले त्यसलाई ध्यानमा राखेर केही किसान पुरानै खेती प्रणाली हलगोरुले खेत जोत्न थालेका छन् ।
इन्धनको मूल्य बढेकाले हलगोरुको आवश्यकता महसुस भएर इनरुवाका किसान पुरानै खेती प्रणाली हलगोरुले खेत जोत्न थालेका हुन् । ट्याक्टरले खेत जोत्दा प्रतिकट्ठा दुई सय रुपियाँ लाग्दै आएकोमा इन्धनको भाउ बढेको भन्दै प्रतिकट्ठा जोताइमा चार रुपियाँ लिन थालेपछि बाध्य भएर खेत जोत्न हलगोरुको प्रयोग गरेको इनरुवा नगरपालिका–९, बबियाका बेचु साहले बताउनुभयो । साहले इन्धनको भाउ अझँ भढ्दै गएको खण्डमा किसानका लागि हलगोरु प्रोत्साहनका लागि सरकारले अनुदान दिनुपर्ने अवस्था आउन सक्ने बताउनुभयो । एकातर्फ परम्परागत कृषि प्रणालीको संरक्षण र कृषकलाई आर्थिक भार कम गर्न हलगोरु प्रयोग गरेको अर्का किसान मुसहरु साहले बताउनुभयो ।
अहिले बजारमा डिजेल, मटितेलको भाउ प्रतिलिटर २३७ रुपियाँ पुगेको छ । यो महँगीले गर्दा ट्याक्टर, पावरटिलरसमेतको जोताइ ज्याला बढेकाले बाध्य भएर हलगोरुले खेत जोत्न बाध्य भएको साहको भनाइ छ । पछिल्लो समय गाउँ गाउँमा गोरु पाल्न छाड्ने व्रmम बढ्दै गएकोमा विश्वबजारमा युद्धको असरपछि इन्धनको भाउँ एकाएक बढेकाले हलगोरु पाल्नेतर्फ र खेतीका लागि किसान पुरानै खेती प्रणाली हलगोरुले खेत जोत्नुपर्ने अवस्था आएको अर्का किसान सबरी साहले बताउनुभयो । हलगोरुले जोताइ ढिलो भए पनि किसानको आर्थिक, सामाजिक, पर्यावरणीय र सांस्कृतिक महìवलाई जोगाइ राख्न टेवा पुग्ने भएकाले आफूले हलगोरुको प्रयोग गरेर मुगी र जुटको खेती लगाएको किसान दशरथ साहुले बताउनुभयो । किसानको उत्पादन लागत घटेर आम्दानी बढ्ने, सामूहिक श्रम र पराम्परागत कृषि अभ्यासको पुनर्जीवनमा टेवा पुग्ने विश्वासका साथ हलगोरुको प्रयोग थालेको उहाँको कथन छ । यान्त्रिक प्रविधिको प्रयोगबाट छिटो हुने भए पनि महँगो हुने र लागत बढ्ने भएकाले त्यसको सट्टामा वातावरणमैत्री विधिको प्रोत्साहनका लागि मितव्ययिताका लागि पनि हलगोरु प्रयोग थालेको साहुले बताउनुभयो । उहाँले भन्नुभयो, “पछिल्लो समय गोरु पाल्ने चलन हराउँदै गएको छ, हाम्रो परम्परा मेटिँदै गएको छ । एकातिर हाम्रो परम्पराको संरक्षण हुने, लागत खट्ने र अर्कोतर्फ जैविक मल घरमै उत्पादन गर्न सकिने भएकाले गोरु पाल्नेतर्फ लागेका हौँ ।” इनरुवा–९ का किसान उपेन्द्र यादवले दुई हलगोरु, शिवनारायण यादवले एक हलगोरु, दीपेन्द्र यादव, गणेशी यादव, फुलेसी यादवसहितका दर्जन बढीले एक हप्तायता एक÷दुई हलगोरु किनेका छन् ।