धनगढी, भदौ १४ गते । खप्तड ३२ सय मिटरको उचाइमा रहेको, खप्तड बाबाले ५० वर्ष तपस्या र साधना गरेको पवित्र भूमि हो । यसलाई भू स्वर्ग र अलौकिक भर्जिन ल्याण्डका रूपमा पनि चिनिन्छ । खप्तडमा ठुलठुला पाटन (चौर), पाटनभरि फैलिएका रङ्गीबिरङ्गी फूल, दह, जीवजन्तु र हिमालको प्राकृतिक सौन्दर्यले सुशोभित खप्तडबारे स्कन्द पुराणमा समेत चर्चा गरिएको पाइन्छ । धार्मिक किंवदन्तीअनुसार पाण्डु पुत्र युधिष्ठिर खप्तडको बाटो हुँदै स्वर्ग जानुभएको थियो ।
त्रिवेणी धाम, केदार ढुङ्गा, नाग ढुङ्गा, खप्तड दह, खप्तड आश्रम, सहस्र लिङ्ग, खप्तड बाबाको कुटीजस्ता पवित्र धार्मिक सम्पदाले यहाँको धार्मिक गरिमालाई थप उचाइ दिएको छ । २२ पाटन, २५ मैदान र ५२ वटा थुम्का (झोती) ले भरिपूर्ण जैविक विविधताको फूलबारी खप्तड सयौँ प्रजाति चरा, ३७२ प्रजातिका वनस्पति र १३० थरिका जडीबुटीले भरिपूर्ण छ । समुद्री सतहबाट तीन हजार दुई सय मिटरको उचाइमा झन्डै २२५ वर्ग किलोमिटरमा फैलिएको खप्तड क्षेत्रमा सदियौँदेखि लाग्ने विविध सांस्कृतिक मेलामध्ये गङ्गा दशहरा, जनै पूर्णिमामा हजारौँ तीर्थयात्री त्यहाँ पुग्ने गरेका छन् । खप्तड घुम्नका लागि जेठ, असारदेखि मङ्सिरसम्मको समय उपयुक्त मानिन्छ ।
यस्तो सुन्दर ठाउँको बारेमा सुदूरपश्चिमबाहिर समेत त्यति धेरैलाई थाहा छैन । खेचरादी पर्वतका रूपमा धार्मिक पुराणहरूमा व्याख्या गरिएको खप्तडलाई छिमेकी मुलुक हरिद्वार लगायतका अन्य धाम जस्तै पवित्र, आध्यात्मिक र धार्मिक केन्द्रका रूपमा विकास गर्नु पर्छ भन्ने सोच विगत वर्षदेखि नै निर्माण भएको थियो । र छिमेकीमुलुको करोडौँ आध्यात्मिक पर्यटकहरूलाई खप्तड क्षेत्रको महिमाको बारेमा जानकारी दिएर खप्तडमा भ्रमण गराउने योजना बन्यो । खप्तड क्षेत्रको थप अध्ययन अनुसन्धान, भाषा, संस्कृति, सभ्यता, प्रकृति, आरोग्य ता र खप्तड बाबाको तपस्या र दर्शनलाई हामीले विश्वभर फैलाउनु थियो ।
सुदूरपश्चिम क्षेत्रको पर्यटनको मुख्य भागमा रहेको खप्तड क्षेत्रलाई नमुनाका रूपमा विकास गरेर बाजुराको बडीमालिका लगायत सुदूरपश्चिमका सम्पूर्ण पर्यटकीय गन्तव्य ऐतिहासिक तथा पुरातात्त्विक स्थलहरूको संरक्षण संवर्द्धन गरेर आर्थिक समृद्ध गर्ने सोच बन्यो ।
यही सोच हामीले स्थानीय तह, प्रदेश सरकार, पतञ्जलिका मुख्य व्यक्तिहरू, राजनीतिज्ञदेखि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसम्मलाई सुनायौ । त्यसपछि प्रथम अन्तर्राष्ट्रिय खप्तड आध्यात्मिक सम्मेलन गर्ने कुरा भयो । धेरैले सम्मेलन गर्न सकिँदैन पनि भने तर हामीले आँट्यौ र भव्यताका साथ ऐतिहासिक रूपमा सम्मेलन (२०८० जेठ २३–२५) भयो । मुख्य राजनीतिक दलका बिचमा खप्तडको पर्यटन विकास तथा सम्मेलन सफलताका लागि अभूतपूर्व एकता र सहमति निर्माण भयो । व्यक्ती, स्थानीय सरकार, प्रदेश, नेपाल सरकार र अन्तर्राष्ट्रिय प्रतिष्ठित संस्था पतञ्जलि लगायतका क्षेत्रबाट विभिन्न खालको सहयोग भयो । सम्मेलनको माध्यमद्वारा खप्तडको विश्वव्यापी रूपमा प्रचारप्रसार भयो ।
खप्तड जस्तो कठिन तर सुन्दर भूमिमा पहिलो पटक सम्मेलन सफल भयो । स्थानीय जनताको ठुलो सहभागिता भयो । सुदूरपश्चिम प्रदेश सरकार खप्तडको पर्यटन प्रवर्द्धनका लागि आफ्नो नीति कार्यक्रम पछाडि सार्यो ।
सम्मेलनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, योगऋषी स्वामी रामदेव जी महाराज, आर्युवेदशिरोमणी आचार्य वालकृष्ण महाराज, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, पूर्व प्रधानमन्त्री झालनाथ खनाल, सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशी, मुख्यमन्त्री कमलबहादुर शाह, नेपाल सरकारका परराष्ट्र मन्त्री नारायणप्रकाश साउद, सभामुख भीमबहादुर भण्डारी सहित सिङ्गो सरकार, पूर्वउप्रधानममन्त्री, मन्त्रीहरू, योजना आयोगका उपाध्यक्ष, लगानी बोर्डका कार्यकारी अधिकृत, सङ्घीय सांसद, प्रदेश सभा सदस्यहरू र स्थानीय तहका प्रमुखहरू सहभागिता हुनु पनि खप्तडको लागि ठुलो उपलब्धि हो ।
प्रधानमन्त्रीले खप्तडको पर्यापर्यटन र आध्यात्मिक केन्द्रको रूपमा विकास गर्न लुम्बिनी, पशुपति विकास कोष जस्तै वा प्रतिष्ठानको रूपमा गठन गरेर विकास गर्ने प्रतिबद्धता गर्नुभयो । बाबा रामदेवले पनि निःशुल्क रूपमा खप्तडको विश्वव्यापी प्रचारका लागि प्रचार दूत बन्ने घोषणा गर्नुभयो । उहाँले त्यो क्षेत्रको विकासका लागि जस्तो सुकै लगानी गर्ने तयार हुनु पनि हाम्रो लागि उपल्व्बधि हो ।
नेपाल सरकारले गुरुयोजना बनाएर लगानी बोर्ड मार्फत सार्वजनिक, निजी साझेदारीमा खप्तड एकीकृत पर्यटन परियोजना स्वीकृत गरेर १० वर्ष भित्रमा करिब २२ अरब रुपियाँको लगानीमा त्यो क्षेत्रको समग्र विकासका लागि काम अघि बढ्ने कुराको प्रतिबद्धता भएको छ ।
यसका साथै निजी क्षेत्रबाट समेत लगानी जुट्ने अवस्था सृजना भएको छ । त्यस अन्तर्गत केबुल कार बन्ला, आर्युवेदको लागि अध्ययन, अनुसन्धान गरेर मध्यवर्ती क्षेत्रमा खेती तथा प्रशोधन केन्द्रहरू निर्माण हुने, खप्तडलाई योग ध्यान तथा साधनाका लागि चैँ विश्वभरबाट मानिस ल्याउने गरेर केन्द्रहरू निर्माण हुने वातावरण सृजना भएको छ । स्थानीय समुदायले प्रत्यक्ष लाभ लिने र उनीहरूको जीवनस्तरमा परिवर्तन हुने अवस्था सृजना भएको छ ।
प्रथम अन्तर्राष्ट्रिय खप्तड आध्यात्मिक सम्मेलनको उपलब्धि
नेपालका प्राय सबै भागबाट सम्मेलनमा सहभागिता रह्यो । खप्तडको सम्मेलन सौन्र्दयता नेपाली मिडियाका साथै भारतीय आस्था र संस्कार च्यानलका पत्रकारहरूले टेलिजिनमार्फत खप्तडलाई देखाए । जसले गर्दा नेपाल, भारत र अन्य मुलुकका करोडौँ मानिसले खप्तडको महिमा बुझ्ने अवसर पाए । आगामी दिनमा अहिलेको पर्यटकको सङ्ख्यामा निक्कै वृद्धि हुनसक्छ । अहिले भारत लगायतका तेस्रो मुलुकबाट खप्तड आउनेको सङ्ख्या तीन अङ्क भन्दा माथि उक्लन सकेको छैन ।
स्थानीय समुदायको पर्यटन पर्वद्धन र विकासमा सहभागिता जुट्ने र दिगो पर्यटन विकासका लागि वातावरण सृजना भएको छ । स्थानीय सरकारले यो क्षेत्रको पर्यटन विकास र पर्वद्धनका लागि योजनाबद्ध कार्यको थालनी गर्ने कामको सुरुवात भएको छ । स्थानीय जनताको क्षमता वृद्धि र हस्पिटालिटी व्यवस्थापनमा विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरूलाई परियोजना निर्माण गरेर कार्य गर्नका सहज हुने भएको छ । खास गरेर यो सम्मेलनले आध्यात्मिक पर्यटनको माध्यामद्धारा आर्थिक वृद्धि गर्न सक्ने अवस्था आएको छ ।
खप्तड क्षेत्रको समग्र विकासका लागि स्थानीयदेखि अन्तर्राष्ट्रिय स्तरबाट सहयोग जुट्ने वातावरण भयो ।
आगामी दिनमा गर्नुपर्ने काम
आगामी दिनमा पनि प्रत्येक दुई वर्षमा खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन आयोजना गर्न जरुरी छ । जसले गर्दा खप्तडलाई बिर्सेका र खप्तड साैन्दर्यता , आध्यात्मिकता बारे जानकारी नभएका नेपाली र विश्व समुदायलाई जानकारी दिइरहने छ ।
यो बिचमा नेपाल सरकार लगायतबाट भएका प्रतिबद्धता पूरा भएर उचित पहुँच मार्ग, अन्तर्राष्ट्रिय ध्यान तथा साधना केन्द्रको निर्माण हुनुपर्छ । यसका साथै नीति तथा नियमहरू त्यहाँको जैविक विविधतामा कुनै असर नहुने गरेर पर्यटन मैत्री र निजी तथा सार्वजनिक क्षेत्रलाई लगानी मैत्री वातावरण हुनुपर्छ । स्थानीय जनताको सक्रिय सहभागिता गराउनुपर्छ । खप्तड क्षेत्र रहेको बाजुरा, बझाङ, डोटी र अछाम र सुदूरपश्चिमको मात्र होइन समग्र नेपालको सम्पत्ति हो भन्ने सोचले नीति निर्माताहरुले काम गर्नुपर्यो ।
हामीले यो बिचमा विश्व सम्पदा सूचीमा सूचीकृत गरेर लुम्बिनी जस्तै संयुक्त राष्ट्र सङ्घ लगायतका निकायलाई पनि यसको विकास र संरक्षणका लागि अनुरोध गर्न जरुरी छ । सन् १९७० संयुक्त राष्ट्र सङ्घले लुम्बिनीलाई विकास गर्नका लागि अन्तर्राष्ट्रियकरण विकास समिति निर्माण गरेको पाइन्छ । लुम्बिनी जस्तै गरेर अघि बढाउन संयुक्त राष्ट्र सङ्घमा नेपाल सरकारले पहल गर्नु आवश्यक छ ।
यस्तो कदमले समग्र सुदूरपश्चिमको गरिबी निवारण र समृद्धिका लागि कोषेढुंगाको काम गर्ने छ ।
खप्तड बाबाको विचार, दर्शनको प्रचार गर्न जरुरी छ । खप्तड बाबा ६५ वर्षको उमेरमा खप्तड पुग्नुभयो । उहाँले त्यसपछि ५० वर्ष साधना गर्नुभयो र ११७ वर्ष बाँच्नुभयो । आधुनिक मानव इतिहासमा यस्तो साधना, यति कठिन र अत्यधिक चिसो भूमिमा भएको पाइँदैन । यस्तो साधनाबाट निर्मित विचार र दर्शन मानव जीवनको रूपान्तरण शान्ति र समृद्धिका लागि उपयोग गर्न जरुरी छ । खप्तडको वातावरण लामो साधनाका लागि उपयुक्त छ भन्ने खप्तड बाबाको उदाहरण पर्याप्त छ । संसारलाई यो ढङ्गबाट पनि खप्तडलाई चिनाउनुपर्छ । खप्तड जानु भनेको शान्ति र सुख निर्माणका लागि जानुपर्छ भन्ने सन्देश विश्वमा दिनपर्छ ।
(खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका कार्यकारी निर्देशक भीमबहादुर खड्कासँग गोरखापत्रका सुदूरपश्चिम संयोजक प्रकाशविक्रम शाहले गरेको कुराकानीमा आधारित )
तस्बिर: डिलबहादुर सिंह