• १४ साउन २०८१, सोमबार

सुदूरपश्चिमका भूमि व्यवस्था मन्त्री थापा बर्खास्त

blog

धनगढी, साउन १४ गते । सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीलाई बर्खास्त गर्नु भएको छ । आर्थिक मामिला मन्त्री अक्कलबहादुर रावलका अनुसार मुख्यमन्त्रीको निर्देशन नमानेका कारण थापालाई आइतबार बर्खास्त गरिएको हो । 

बर्खास्तमा पर्नु भएकी थापाले आइतबारको प्रदेशसभा बैठकमा सहभागी हुनु भएको थियो । सरकारले प्रदेश सभा बैठकमा सहभागी भएका कारण बर्खास्त गरेको अनुमान छ । उहाँले यसअघि अधिवेशन सुरु भएको दिन साउन ८ गते पनि प्रदेश सभाको बैठकमा सहभागिता जनाउनु भएको छ ।

नेपाली काँग्रेस र नेकपा (एमाले) सहितका दलले माग गरेपछि प्रदेश प्रमुख नजिर मियाले साउन ८ गतेदेखि प्रदेश सभाको विशेष अधिवेशन बोलाउनु भएको छ ।  सरकारले सो बैठक अध्यादेशबाट बजेट ल्याउन रोक्नका लागि आव्हान गरिएको भन्दै प्रदेश सभामा सहभागी नहुने नीति लिएको छ । 

सङ्घीय सरकारको समीकरण फेरबदल भएपछि प्रदेशमा एमालेले समर्थन लिएकोले सरकार अल्पमतमा छ । सो सरकारले साउन १८ गते भित्र विश्वासको मत लिनु पर्ने हुन्छ ।

बर्खास्तमा पर्नु भएकी थापा नागरिक उन्मुक्ति पार्टीका तर्फबाट सरकारमा हुनुहुन्थ्यो । सो पार्टीले नयाँ समीकरणलाई समर्थन गरेको छ । सोही कारण मन्त्री थापाले प्रदेश सभाको विशेष अधिवेशनमा भाग लिइरहनु भएको छ ।