काठमाडौँ, भदौ ९ गते । कम लागतमा दिगो पूर्वाधार विकासका लागि अन्तरपालिका सहकार्य र समन्वय गरी पारस्परिक लाभ लिन सकिने भए पनि त्यसतर्फ स्थानीय तहको ध्यान जान सकेको छैन। समान समस्या, दिगो पूर्वाधार निर्माण, विपत् तथा वातावरण संरक्षण र फोहोरमैला व्यवस्थापनलगायतका क्षेत्रको योजनाका लागि पालिकाहरूले सहकार्य र समन्वय गर्न सकेका छैनन्।
स्थानीय तहले आपसमा भूगोल जोडिएका स्थानीय तहसँग समन्वय र सहकार्य गरेर दिगो पूर्वाधार योजना सञ्चालन जुन रूपमा गर्नुपर्ने हो सो गर्न नसकेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ। केही पालिकाले सहकार्य गर्ने प्रयास गरे पनि धेरै पालिकाले अन्तरपालिका सहकार्य र समन्वयमा चासो देखाएका छैनन्।
स्थानीय सरकार सञ्चालन ऐनले स्थानीय तहले आवश्यकताका आधारमा अन्तरपालिका सहकार्य र समन्वय गरी काम गर्न सक्ने व्यवस्था गरेको छ। स्थानीय शासनविज्ञ डा. शेषरमण न्यौपानेले स्थानीय तहले आपसी समन्वय र सहकार्य गर्ने भन्दै स्थानीय तहका फोरम, सञ्जाल, प्रादेशिक पालिका सहकार्यको संरचना निर्माण गरे पनि व्यवहारमा भने अन्तरपालिका सहकार्यको मोडल तयार गर्न नसकेको बताउनुभयो।
उहाँका अनुसार स्थानीय तहले सञ्जाल निर्माण गरी अन्तरपालिका सहकार्यको कार्यक्रम कार्यक्षेत्र र कार्यविधि निर्माण गरी योजना कार्यान्वयन गरी एकीकृत योजना, परियोजना र पूर्वाधार निर्माण गर्न सकेका छैनन्।
स्थानीय तहले अन्तरपालिका सहकार्य मोडलको अवलम्बनले सामूहिक लगानीमा फोहोरमैला व्यवस्थापन, निश्चित क्षेत्र समेटी पर्यटन पूर्वाधारको निर्माण, जलविद्युत् तथा नवीकरणीय ऊर्जा, वातावरण संरक्षण, विपत्को पूर्वतयारी तथा व्यवस्थापन, सूचना प्रविधि पूर्वाधार राजमार्गमा कोरिडोर निर्माणलगायत क्षेत्रमा अन्तरपालिका सहकार्य गर्न सक्छन्।
उहाँले भन्नुभयो, “अन्तरपालिका सहकार्य र समन्वयले साधन स्रोत र पूर्वाधारमा गरिने दोहोरो लागत र कैयौँ गुणा व्ययभार घट्ने छ। आर्थिक तथा उद्यमशीलताका क्षेत्रमा गरिने लगानी एवं क्रियाकलापबाट पालिकाको आन्तरिक आयमा वृद्धि हुने छ। फलस्वरूप पालिका एकीकृत र दिगो विकासको आधार तयार हुन्छ।”
उपत्यका नगरपालिका फोरमका महासचिव एवं चन्द्रागिरि नगरपालिका प्रमुख घनश्याम गिरीले अन्तरपालिका सहकार्य गर्ने उद्देश्यले उपत्यका नगरपालिका फोरम निर्माण भए पनि व्यावहारिक रूपमा काम अगाडि बढ्न नसकेको बताउनुभयो। उहाँले दीर्घकालीन रूपमा भने अन्तरपालिकाको समान समस्याको सामूहिक समाधानको उपाय खोज्ने गरी अन्तरपालिका सहकार्यको मोडल नै तयार गरी कार्यान्वयन गरिने दाबी गर्नुभयो।
नेपाल नगरपालिका सङ्घका कार्यकारी निर्देशक कलानिधि देवकोटाले केही पालिकाले नमुनाका रूपमा अन्तरपालिका सहकार्य गरेको दाबी गर्दै अन्य पालिकाले पनि दिगो पूर्वाधार विकासका लागि अन्तरपालिका सहकार्य गर्नुपर्ने बताउनुभयो।
नुवाकोटको पञ्चकन्या र शिवपुरी गाउँपालिकाको सिमानामा रहेको त्रिवेणीधामका विकासका लागि दुई पालिकाबिच सहकार्य भएको, सिद्धार्थ राजमार्ग अव्यस्थित पालिकाबिच सिद्धार्थ आर्थिक कोरिडोर निर्माणमा सहकार्य, धुलिखेल बनेपा र पनौती नगरपालिकाले आपसी सहकार्यमा काभ्रे खानेपानी आयोजना सञ्चालन गरेको नेपाल नगरपालिका सङ्घले जनाएको छ। युरोपेली देशमा अन्तरपालिका सहकार्यको मोडलको रूपमा सफल कार्यान्वयन गर्दै प्रतिफल हासिल गरिरहेको सङ्घले जनाएको छ।