• १२ मंसिर २०८१, बुधबार

आँखा पाक्ने रोगमा ‘इन्टेरो भाइरस’ सङ्क्रमण धेरै

blog

काठमाडौं, भदौ ५ गते । नेपालमा अहिले देखिएको आँखा पाक्ने रोग (भाइरल कन्जङ्क्टिभाइटिस) मा इन्टेरो भाइरस सङ्क्रमण बढी भएको पाइएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको १० नमुना परीक्षणमा ८० प्रतिशतमा इन्टेरो भाइरस सङ्क्रमण देखिएको प्रयोगशालाका सूचना अधिकारी कृष्णप्रसाद जैसीले जानकारी दिनुभयो । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट नमुना सङ्कलन गरिएको थियो ।

यसअघि प्रयोगशालाले गरेको नमुना परीक्षणमा एडिनो भाइरस देखिएको थियो । यस्तै प्रयोगशालाले सातवटै प्रदेशमा रहेका अस्पतालबाट आँखा पाक्ने रोगको भाइरसको नमुना सङ्कलन गरेर पठाउन आग्रह गरेको छ । प्रयोगशालाले नेत्र ज्योति सङ्घलाई प्रत्येक प्रदेशबाट एक सय ५० नमुना सङ्कलन गरेर पठाउन निर्देशन दिएको सूचना अधिकारी जैसीले जानकारी दिनुभयो ।

आँखा पाक्ने रोगका लक्षण आँखा रातो हुनु र चिलाउने, आँखाबाट आँसु बगिरहने वा कचेरा/चिप्रा लाग्ने, आँखाको ढकनी रातो हुनु, सुन्निने, आँखा बिझाउने/दुख्ने र घाममा वा उज्यालोमा हेर्न गाह्रो हुनेजस्ता समस्या भाइरल कन्जङ्क्टिभाइटिसमा हुने गर्दछ ।

भाइरल कन्जङ्क्टिभाइटिस सङ्क्रमण भएपछि जथाभाबी आँखा नछुने, आँखा छुनु परेमा साबुन पानीले राम्ररी हात धुने गर्नुपर्दछ । यस्तै बाहिर घाममा निस्कँदा कालो चस्मा प्रयोग गर्ने, सङ्क्रमित व्यक्तिले प्रयोग गरेका सामान अन्य व्यक्तिलाई प्रयोग गर्न नदिने जस्ता स्याहार आँखाको गर्नुपर्दछ । रासस