नवराज श्रेष्ठ
रामेछाप, असार १८ गते । आलु उत्पादनमा ठुलो सम्भावना बोकेको रामेछापको उत्तरी भेगस्थित उमाकुण्ड गाउँपालिकाका किसान यतिबेला आलु खन्न, भित्र्याउन र बजारसम्म पुर्याउन व्यस्त छन् ।
यस वर्ष अघिल्ला वर्षको तुलनामा उत्पादन राम्रो भएकाले कृषकहरू उत्साहित छन् । “उमाकुण्ड राम्रो आलु फल्ने गाउँपालिका हो । यहाँको प्रमुख बाली नै आलु हो,” गाउँपालिका–२ का कृषक प्रदीप बस्नेतले भन्नुभयो, “अहिले बिहानदेखि साँझसम्म बारीमा आलु खन्ने, बोरामा भर्ने र गाडीमा राखेर बजार पठाउने काममै व्यस्त छौँ ।” उहाँका अनुसार जेठ महिनाको अन्तिमतिर सुरु भएको आलु खन्ने प्रक्रिया अहिले आधा भन्दा बढी सकिएको छ ।
उमाकुण्डबाट वार्षिक करिब साढे एक करोड रुपियाँभन्दा बढी मूल्यको आलु जिल्ला बाहिरका बजारहरू-जिरी, मन्थली, काठमाडौँ लगायत अन्य सहरहरूमा निर्यात हुने गरेको उमाकुण्ड गाउँपालिका–५ अगुवा कृषक महेश भण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँको माटो र मौसम आलु खेतीका लागि निकै उपयुक्त छ । गुणस्तर उत्कृष्ट भएकाले बाह्य बजारमा पनि यसको माग उत्तिकै राम्रो छ।”
उमाकुण्ड गाउँपालिकामा मुख्यतः काडिनल र रोजिटा जातका आलु उत्पादन हुने गर्छन् । तीमध्ये काडिनल जातको उत्पादन धेरै हुने र बजार माग समेत राम्रो रहेकाले यो जातलाई प्राथमिकता दिइएको गाउँपालिकाको कृषि शाखा प्रमुख अभिजना कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “बजारमा माग उच्च भएकाले कृषकलाई काडिनल जातको आलु लगाउन गाउँपालिकाले प्रोत्साहन गरिरहेको छ । सोही अनुसार आलु खेतीको विस्तार र उत्पादन दुवै बढ्दो मात्रामा छ ।”
उमाकुण्डबाट वार्षिक साढे एक करोड रुपियाँभन्दा बढीको आलु निर्यात हुने गरेको उहाँले बताउनुभयो । ७ वटै वडामा व्याप्त आलु खेती गाउँपालिकाको प्रमुख कृषि आधार हो । स्थानीय सरकारले उत्पादनलाई प्राविधिक सहयोग, बिउ प्रविधि र बजार पहुँचमार्फत व्यवस्थित गर्ने कार्यक्रमहरू सञ्चालन गर्दै आएको उहाँले बताउनुभयो ।
उमाकुण्ड बाहेक रामेछापको गोकुलगङ्गा र दोरम्बा शैलुङ गाउँपालिकामा यो सिजनमा आलु उत्पादन हुने गरेको छ । यसबाहेक मन्थली नगरपालिकाको माथिल्लो भेगमा पनि यो सिजनमा आलु उत्पादन हुने गरेको छ ।