काठमाडौँ, भदौ ५ गते । काठमाडौँमा डेंगु रोग फैलन नदिन लामखुट्टेको लार्भा नष्ट गर्न सुरु गरिएको छ । काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरका अनुसार महानगरपालिकाले हाल महामारीको रूपमा फैलिएको डेंगु रोग नियन्त्रणका लागि लामखुट्टेको लार्भा नष्ट गर्ने बायो लार्भासित (जैविक औषधि) छर्किन लागेको हो ।
लामखुट्टेको लार्भा नष्ट गर्न नेपालमै पहिलो पटक बायो लार्भासित (जैविक औषधि) छर्किन लागेको मानन्धरले जानकारी दिनुभयो । महानगरपालिकाले काठमाडौँ महानगरपालिकाका ३२ वटै वडामा नगर प्रहरीको सहायताले उक्त औषधि छर्कन लागेको हो ।
यो औषधि जैविक भएकाले यसले लामखुट्टे र त्यसका लार्भालाई बाहेक कसैलाई पनि हानी नगर्ने मानन्धरले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “यो विषादी होइन । औषधिलाई पानीको माथिल्लो भागमा छर्कनु पर्दछ । यसले लार्भाको पेटमा विष उत्पन्न गर्छ । यसबाट उसको पाचन प्रक्रिया नष्ट हुन्छ । यसबाट पूर्ण विकसित हुन नपाउँदै लार्भा मर्छ ।”
औषधिले डेंगुसहित, फिलारिया, औलो, मलेरिया, चिकन्नीया जस्ता रोग फैलाउने सबै प्रजातिका लामखुट्टेका लार्भा र प्युपा नष्ट हुनेछ ।
यससँगै डेंगु रोगको बारेमा परामर्श दिन महानगरपालिकाले निःशुल्क हटलाइन टेलिफोन ११८० बाट २४ सै घण्टा सञ्चालनमा ल्याएको छ । डेंगु सङ्क्रमित भएर इमर्जेन्सीमा अस्पताल जानु परे १०२ नम्बर सम्पर्क गरेर निःशुल्क एम्बुलेन्स प्रयोग गर्न सक्ने व्यवस्था मिलाइएको उहाँको भनाइ छ । साथै नगरपालिकाभित्रका सबै अस्पताललाई तयारी अवस्थामा राखेको उहाँको भनाइ छ ।
स्वास्थ्य प्रवर्द्धन केन्द्रहरूमा डेंगु रोगको उपचारका लागि चाहिने सिटामोल, जीवन जल लगायत आवश्यक औषधिको वितरणको व्यवस्था मिलाइएको जानकारी उहाँले दिनुभयो ।
१६ हजारभन्दा बढीमा डेंगु पुष्टि
स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हालसम्म ७५ जिल्लाबाट १६ हजार २६७ जनामा डेंगु पुष्टि हुनुका साथै १२ जना सङ्क्रमितको मृत्यु भएको छ । काठमाडौँमा ३९० जनामा डेंगु पुष्टि भएको छ । डेंगु सङ्क्रमित सबैभन्दा बढी कोशी प्रदेशमा १२ हजार २१ जनामा पुष्टि भएको छ ।
त्यसैगरी, मधेश प्रदेशमा १०४, बागमती प्रदेशमा दुई हजार ६५७, गण्डकी प्रदेशमा ६१८, लुम्बिनी प्रदेशमा ३१३, कर्णाली प्रदेशमा ३९, सुदूरपश्चिम प्रदेशमा ४७९ जनामा डेंगु पुष्टि भएको छ ।
डेंगु के हो ?
सरुवा रोग विशेषज्ञ डा.विमल चालिसेका अनुसार डेंगु एक प्रकारको लामखुट्टेको टोकाइबाट सर्ने सरुवा रोग हो । डेंगु भाइरसको कारणले यो रोग लाग्ने गर्छ । चालिसेका अनुसार डेंगु भाइरसका चार प्रकारका सेरोटाइप हुन्छन् ।
एक पटक एउटा सेरोटाइपको डेंगु लागिसकेपछि जीवनभर त्यसै सेरोटाइपबाट पुनः डेंगु रोग नलाग्ने चालिसे बताउनुहुन्छ । तर अन्य सेरोटाइपको भाइरसबाट डेंगु लाग्न सक्छ जुन पहिलो स्वरूपको तुलनामा बढी खतरनाक हुने डा.चालिसेको भनाइ छ ।
डेंगु रोगले रोग प्रतिरोधात्मक क्षमता कम भएका र दीर्घरोगी, बालबालिका, गर्भवती महिलालाई जोखिममा पार्ने भएकाले विशेष ध्यान दिन चिकित्सकको आग्रह छ । उच्च ज्वरो आउनु, आँखाको गेडी दुख्ने, डाढ, जोर्नी तथा मांसपेशीहरू दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने यसका प्रमुख लक्षण हुन् ।
यसका साथै लगातार बान्ता हुने, बान्तामा रगत देखा पर्ने, धेरै पेट दुख्ने, श्वासप्रश्वासमा समस्या आउने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने बेहोस हुने आदि जटिल लक्षण देखिने डा. चालिसेको भनाइ छ ।
दुःखाइ कम गर्ने औषधि नखान आग्रह ?
डेंगु भाइरसबाट हुने भएकाले यसको खास उपचार छैन । यो भाइरस एक दुई हप्तामा आफैँ निको हुन्छ । उच्च ज्वरो कम गर्न प्यारासिटामोल खाने तर दुःखाइ कम गर्ने औषधि नखान चिकित्सकको सुझाव छ ।
पानी, झोलिलो तथा पोसिलो खानेकुरा प्रशस्त मात्रामा खाने, पूर्णरूपमा आराम गर्ने चिकित्सकको सुझाव छ । डेंगुका जटिल लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्था लैजान डा.चालिसेले सुझाव दिनुभयो ।
डेंगु भाइरसबाट बच्ने उपाय ?
लामखुट्टेको वासस्थान सफा गर्नु नै डेंगु नियन्त्रणको प्रमुख कारण भएको विज्ञ बताउँछन् । डा.चालिसेका अनुसार बच्ने उपाय डेंगु ज्वरोबाट बच्न लामखुट्टेको टोकाइबाट बच्ने, घरभित्र लामखुट्टे छिर्न नदिन घरको झ्याल ढोकामा जाली लगाउने, बिहान दिउँसो राति जुनसुकै बेला झुल लगाएर सुत्ने, पूरा बाहुला भएको पूरा शरीर ढाक्ने लुगा लगाउने, शरीरका खुला भागमा लामखुट्टे धपाउने विधि अपनाउन चिकित्सकको सुझाव छ ।