आधुनिक एथेन्सको सडकमा किनारामा उभिएको छु । देखिरहेको छु थरीथरीका मानिस । सल्बलाई रहेछन् पर्यटकका भीडमा एथेन्सवासीहरू । दृश्य कस्तो देखिन्छ भने मानौँ पर्यटक हेर्न एथेन्सवासी सडकमा आएका छन् ।
सेप्टेम्बर महिनाको दोस्रो साता सन् २०२२ मा एथेन्समा अवस्थित एक्रोपोलिसको अवलोकन भ्रमण सकेको थिएँ । त्यस नजिकै रहेको अर्को धार्मिक तथा ऐतिहासिक स्थललाई गन्तव्य बनाए सडकमा पाइला चालिरहेको थिएँ ।
सडक पारि छ खुला मैदान । मैदानमा ठडिएका छन् अग्ला पिल्लर । आकाशिएका छन् केही रुख । थकाइ मार्न बसेजस्ता छन् केही पोथ्राहरू । उत्सुकता चुलिएको छ मनभरि । हतारिएका छन् पाइलाहरू । बेग्लै आतुरता छ त्यस पवित्र भूमिमा स्पर्श गर्नका लागि । प्राचीनकालको ओलम्पियन नगरमा थिएँ म । त्यो प्राचीन नगर अहिले एथेन्स महानगरमा गाभिएको छ । त्यस नगरसँग छन् ग्रिसवासीका धर्म, संस्कृति र इतिहासका थुप्रै गाथा । त्यहाँ खोज्नु छ मैले तिनका आस्था । खोतल्नु छ भग्नावशेषमा लुकेका ग्रिसवासीका कथा ।
जब ओलम्पियन शब्द सम्झन्छु, त्यसले मलाई सिधै पहाडमा पु-याउँछ । ओलम्पियन शब्द ग्रिसमा अवस्थित माउन्ट ओलिम्पसबाट आएको हो । माउन्ट ओलिम्पस ग्रिसका बाह्र देवताको वासस्थान हो । प्राचीन ग्रिसका बाह्र देवतालाई ओलम्पियन पनि भनिन्छ । ओलम्पियन वास्तवमा देवताहरूको एक जाति हो । ती बाह्र देवताहरू जिउस, हेरा, पोसाइडन, डिमिटर, एथेना, एपोलो, आर्टिमिस, एरिस, हेफिस्टस, आफ्रोडाइटी, हर्मिज र डायोनाइसिस हुन् । यी देवताहरू आआफ्ना शक्ति र गुणका कारण प्रसिद्ध थिए । उतिबेला ग्रिसमा तिनको मूर्ति र मन्दिर बनाइएको थियो । तिनको नियमित पूजा गरिन्थ्यो । मूर्तिपूजक ग्रिसवासीहरू अहिले भेटिन गाह्रो छ तर पच्चिस सय वर्षअघि बनाइका देवताका मन्दिरका भग्नावशेषहरू भने जताततै देख्न पाइँदो रहेछ । यस पटकको एथेन्स भ्रमणमा म एक्लै फुक्काफाल भएर निस्केको थिएँ । घुमफिरमा रमाउने योजना बनाएको थिएँ । अचम्म त्यहाँ पुगेपछि मलाई देवताप्रति पो बढी चासो जागेर आयो । एक्तोपोलिसको फेदैमा रहेको मूल सडक पार गरेर देवता खोज्न लम्किन थालेँ । करिब दस मिनेटको पैदल हिँडाइमा ओलम्पियन पुरातात्त्विक क्षेत्रमा पुगेथेँ । देवता हेर्न प्रवेश शुल्क तिर्नु पर्दो रहेछ । टिकट लिएर ओलम्पियन पुरातात्त्विक क्षेत्रभित्र प्रवेश गर्दा मनभरि जिज्ञासाहरू मेरा अघि लागेका थिए । स्मृतिमा सल्बलाई रहेका थिए इतिहासका केही घटना ।
सुस्तरी बढिरहे मेरा पाइला प्राचीन एथेन्सवासीको पवित्र धार्मिक स्थलमा । उत्खनन कार्य जारिरहेको ऐतिहासिक स्थलका बिचमा पुगेर वरिपरि आँखा दौडाएँ बेस्सरी ।
इतिहासको गर्तमा धुलिसात विभिन्न भवन र स्मारकहरूले धर्तीमाथि अलिकति टाउको उठाएका देखेँ । त्यहीँ देखेँ तिनका अस्तित्वका अंशहरू । तिनले भनिरहेका थिए अमुक भाषामा आफ्ना कथाव्यथाहरू । छेउमा टाँसिएका ससाना सूचनापाटीले बताइरहेका थिए तिनका छोटो परिचय । प्राचीन समयका मानव बस्ती रहेको भग्नावशेष क्षेत्रमा उभिएको थिएँ । मानव जातिको पौरखको उज्यालोमा दौडाउन थालेँ दृष्टि ।
सामुन्ने देखा प-यो रोमन बाथ । सबैभन्दा पहिले रोमनहरूले बनाएको सामूहिक स्नान गृहको भग्नावशेष केही वर्षअघि रोम भ्रमणको व्रmममा देखेको थिएँ । रोमनहरूले त्यहाँ पनि सामूहिक स्नानगृह बनाएक रहेछन् ।
सामूहिक रूपमा स्नान गर्न सबैभन्दा पहिले रोमनहरूले संसारलाई सिकाएका हुन् । रोमनहरू जहाँ पुग्थे त्यहाँ सामूहिक स्नान गृह बनाई हाल्थे । कुनै बेला रोमन साम्राज्यको अधीनमा रहेको बेलायतमा पनि रोमनहरूले विशाल र कलात्मक स्नान गृह बनाएका थिए । बेलायतमा अवस्थित उक्त स्थान बाथ सहरको नामले प्रसिद्ध छ । उतिबेला बनाइएको रोमन बाथ अहिले पनि बेलायतमा पर्यटकको आकर्षणको केन्द्रका रूपमा रहेको छ । उक्त बाथ अवलोकन गरेको स्मृति मेरो मनमा ताजा भएर आयो ।
ओलम्पियन पुरातात्त्विक क्षेत्रमा रोमन बाथको अस्तित्व देखाउने केही अंश सुरक्षित थिए । भुइँमा बिछ्याइएका कलात्मक बुट्टे टाइल वर्तमानको उज्यालोमा टल्किरहेको देखेँ । ती टाइल उतिबेलाको सिप र कलाका अद्भूत नमुना थिए । त्यस समयमा मानिसहरू रोमन बाथको तातो पानीमा आनन्द लिन्थे । तातो पानीमा विभिन्न रोग निको पार्ने गुण हुन्छ भनेर उपचार गर्न जान्थे । रोमन बाथलाई छाडेर अलिक परसम्म आँखा दौडाउँछु । भग्न अवस्थामा रहेका इसापूर्व पाँचौँ शताब्दी भवनका जगहरूलाई नियाल्न थालेँ । भेट्टाउँछु त्यहाँ ओलम्पियन बाजिलिका, डेल्फिनियोस, कोर्नोस र रियाको मन्दिरका भग्नावशेषहरू ।
प्राचीन ग्रिसवासीहरू देवीदेवतालाई पुज्ने भएकाले एथेन्समा थुप्रै मन्दिरहरू निर्माण गरेका थिए । हिन्दुका झैँ उनीहरूका पनि देवदेवीका मूर्तिहरू थिए । अवलोकनका व्रmममा भुइँमा जग मात्र बाँकी रहेका मन्दिरहरू देखेँ । मन्दिर देख्ने बित्तिकै मनमा श्रद्धा पलाउँछ । ती अवशेषहरूलाई शिर झुकाएर नमन गरेँ ।
हिँड्दै जाँदा ठाउँठाउँमा देखिरहेछु अग्ला अग्ला धुपीका रुखहरू र घाम तापिरहेका झाडीहरू । देखिए लटरम्म फलिरहेका जैतुनका थुप्रै बोटहरू । मैले चिन्न नसकेका अन्य वनस्पतिहरू पनि प्रशस्त देखिए । त्यहाँका केही वनस्पतीहरू त प्राचीन समयका हुन् भन्ने थाहा लाग्यो । धार्मिक महìवका ती वनस्पतिलाई नियाँलेर हेरेँ । केहीलाई हातले सुम्सुम्याएँ । मन प्रफुल्ल भयो ।
सूर्य देवको चर्को राप टाउको माथि बर्सिरहेको थियो । पसिनाको धारा पुछ्दै सङ्गमरमरले बनेका गोलाकार अग्ला पिल्लरहरू भएको ठाउँतिर गोडा चले । त्यहाँ पुग्दा दस बाह्र जना अवलोकनकर्ताहरू सल्बलाई रहेको देखेँ । त्यही नै रहेछ प्राचीन समयको सातौँ आश्चर्यमध्येको एक जिउस देवताको मन्दिर । जसलाई टेम्पल अफ ओलम्पियन जिउस भनिन्छ ।
सातौँ आश्चर्य हेर्न बेलायतदेखि मनभरी उत्सुकता बोकेर ग्रिस पुगेको थिएँ । अचम्म त्यहाँ न मन्दिर थियो न त मूर्ति नै । आँखा मिचेर फेरि हेर्दछु । मन्दिर भनिएको ठाउँमा अग्ला अग्ला सङ्गमरमरका तिनै पिल्लरहरू ठिङ्ग उभिएका थिए । मानिसहरू ढुङ्गा खोज्दा देवता भेटियो भन्दछन् । मैले चाहिँ देवता खोज्दा त्यहाँ ढुङ्गा भेटाएँ । सातौँ आश्चर्य नदेखेर म घोर आश्चर्यमा परेँ । मेरा लागि त्यो क्षण आठौँ आश्चर्य जस्तो भयो । मेरा उत्साह तातो घाममा बाफ बनेर उडे । म जस्तै निराश अनुहार बोकेका त्यहीँ भेटिए दुई जना जापानी पर्यटक । बुद्ध धर्म मान्ने ती जापानीले बुद्ध जन्मेको देशको नागरिक भेट्दा औधी खुसी माने । म जस्तै उनीहरू पनि संसारको सातौँ आश्चर्य हेर्नकै लागि त्यहाँ पुगेका थिए । तिनका निराश मनमा मेरा भावना मिसाएर मैले दुई पटक जापान भ्रमण गरेको कुरा सुनाएँ । अन्त्यमा बुद्ध जन्मेको देश नेपाल घुम्नका लागि निम्ता दिएँ । त्यसलाई उनीहरूले सहर्ष स्वीकार गरे ।
जिउस देवताको मन्दिर भएको प्रमाण दिने भौतिक सामग्री तिनै पिल्लरहरूलाई हेरेर चित्त बुझाउनुको विकल्प मसँग थिएन । तिनलाई हेर्दाहेर्दै मेरो मानसपटलमा ताजा भएर आए मैले पढेको जिउस देवताको कथा ।
जिउस देवताको मन्दिर बनाउन इसापूर्व छैठौँ शताब्दीमा सुरु गरिएको थियो । विभिन्न कारणले निर्माण कार्य पूर्ण रूपमा सम्पन्न हुन सकेन । सार्वभौम ग्रिस रोमन साम्राज्य अन्तर्गत परिसकेको थुप्रै समय बितेको थियो । आयोजना सुरु गरिएको छ सय वर्षपछि उदार मनका रोमन सम्राट् हेड्रियनको शासन कालमा पुनः मन्दिर निर्माण कार्य सुरु गरियो । बल्लतल्ल इस्वीको दोस्रो शताब्दीतिर मन्दिर निर्माण कार्य सम्पन्न भयो ।
एक सय चार वटा विशाल अग्ला, मोटा र आकर्षक सङ्गमरमरको पिल्लरमा ठडिएको भव्य मन्दिर बन्यो । अहिले पनि पन्ध्र वटा पिल्लरले मन्दिरको इतिहास बोकेर गर्वसाथ उभिएको छ । टुक्रा टुक्रा भएर भुइँमा लडिरहेका केही पिल्लरहरूले मन्दिरको अस्तिव बताइरहेका थिए ।
मन्दिरका ती पिल्लर साढे पचपन्न फुट अग्ला रहेछन् । त्यति अग्लो पिल्लरमा बनेको मन्दिर त्यसबेला ग्रिसको सबैभन्दा ठुलो र अग्लो भवनका रूपमा रहेको थियो । त्यस विशाल मन्दिरभित्र जिउसको अग्लो मूर्ति राखियो । उक्त मूर्ति त्यस बेला संसारको सबैभन्दा अग्लो मूर्तिको रूपमा ख्याति कमाएको थियो । प्रविधिको राम्ररी विकास नभएको त्यस समयमा त्यत्रो विशाल भवन कसरी बनाए होलान् ? ढुवानीको साधन गाडी नभएको बेला त्यत्रा सङ्गमरमर कहाँबाट कसरी ल्याए होलान् ? केही अनुमान गर्न नसकेर हैरान भएँ ।
प्राचीन ग्रिस धर्मका सर्वोच्च देवता हुन् जिउस । उनी देवताहरूका पनि राजा र धेरै देवताका पिता हुन् । बादल, आकाशमा चम्किने बिजुली, चट्याङ र बज्रका देवता हुन् जिउस । शक्ति, गुण र कार्यका हिसाबले जिउस देवताका समतुल्य रोमनका देवता जुपिटर थिए भने हिन्दु धर्मका वृहस्पति र इन्द्र भगवान्सँग उनको तुलना गर्न सकिन्छ ।
तत्कालीन समयका प्रसिद्ध मूर्तिकार फिडायसले बनाउन सुरु गरेको जिउसको मूर्ति बाह्र वर्षपछि पूरा भएको रहेछ । बसेको अवस्थामा रहेको जिउसको मूर्तिको उचाइ बयालिस फिट रहेको थाहा पाउँदा अचम्मित हुन्छु ।
इतिहासका पानामा भेटेको छु जिउसको मूर्तिको । देखेको छु उनको तस्बिर । जिउस देवताको मूर्तिको अधिकांश भाग हात्तीको दाँतबाट बनाइएको थियो । उनको शरीर, दाह्री र कपाल सुनबाट बनाइएको थियो । मूर्तिको शिरमा चाँदीले बनेको जैतुनको माला लगाइएको थियो । जिउसको सिंहासन सुन, काँस्यलगायत कैयौँ महँगा पत्थरहरूले सजाइएको थियो । सिंहासनमा प्राचीन ग्रिसको पौराणिक कथामा वर्णित चित्रहरू पनि थिए । जिउसको दाहिने हातमा विजयकी देवी एथेनाको सानो मूर्ति र बायाँ हातमा भाला थियो । मूर्ति बनाउन थुप्रै हात्तीका दाँत प्रयोग गरिएको थियो । भनिन्छ एक हजारभन्दा बढी हात्ती मारेर निकालिएका तिनका दाँतबाट मूर्ति बनाइएको थियो । मूर्ति राखिएको मन्दिरको भित्तामा अनेक देवदेवीका आकृति र आकर्षक पेन्टिङहरू थिए । मूर्तिको खुट्टा अगाडि जैतुनको तेलले भरिएको एक कुण्ड बनाइएको थियो । मूर्ति र मन्दिरको भव्यतालाई सम्झँदै गर्दा साक्षात देवताको छवि मेरो मानसपटलमा तयार भइसकेको थियो । झल्यास्स हुन्छु, अहो मलाई त शब्दमा पढेका र चित्रमा देखेका अदृश्य भगवान्को दर्शन पो मिले जस्तो भएछ । प्रत्यक्ष रूपमा जिउसको मूर्ति हेर्न पाएको भए मेरो मनमा कस्तो प्रभाव पर्दथ्यो होला ? आफैँलाई सोधेथेँ ।
जिउसको मन्दिर भएको नजिकै पानाथेनाइक स्टेडियम छ । उक्त स्टेडियम जिउस देवतासँग सम्बन्धित छ । त्यस स्टेडियममा पानाथेनिया उत्सव भव्यताका साथ मनाइन्थ्यो । पानाथेनाइक स्टेडियम र जिउस मन्दिरमा उनको सम्मानमा पशुबलि दिइन्थ्यो । त्यसपछि स्टेडियममा खेलकुद कार्यक्रमको आयोजना गरिन्थ्यो ।
खेलकुद कार्यक्रम आयोजना हुनुअघि पवित्र मसाल बोकेर नगर परिव्रmमा गरिन्थ्यो । त्यस मसालले खेलको सन्देश बोकेको हुन्थ्यो । सम्पूर्ण जनसमुदायलाई उक्त उत्सवमा सहभागी हुन त्यही मसालले आग्रह गर्दथ्यो ।
उतिबेला धार्मिक प्रयोजनका लागि प्रयोग गरिने मसाल अहिले राजनीति गर्नेहरूको हातमा पुगेको छ । उनीहरू विरोध जनाउन मसाल बोकेर सडकमा प्रदर्शन गर्दछन् । मसाललाई राजनीतिकरण गरिएको कुरा एथेन्समा पुगेर थाहा पाएँ । कुन नेताले सिकाए यस्तो कुरा ? किन झोँसिन्छ हाम्रो मष्तिस्कमा विरोधको मसाल ? मेरो मनमा यस्तै प्रश्नरूपी मसालहरू सल्कन थाले । भग्न अवस्थाको जिउसको मन्दिरले मलाई विगततिर पु-यायो । पल्टिन थाले मस्तिष्कमा इतिहासका पानाहरू । त्यहाँ भेट्टाउँछु विचित्रका घटनाहरू ।
उतिबेला जिउस देवताको मन्दिर र मूर्तिको ख्याति संसारभर फैलिएको थियो । रोमन सम्राट् कालिगुलाले जिउसको मूर्तिलाई त्यहाँबाट रोम ल्याउन आदेश दिए । त्यति मात्र होइन उनले जिउसको टाउको हटाएर त्यस मूर्तिमा दुरुस्त आफ्नो टाउकोको आकृति बनाएर राख्ने आदेशसमेत दिए । सम्राट् कालिगुलाले आदेश दिनेबित्तिकै ‘तेरो चाँडै मृत्यु हुने छ’ भनेर अट्टहाससाथ जिउसको मूर्तिबाट आवाज आएको थियो रे । नभन्दै त्यसको केही समयपछि अट्ठाइस वर्षको युवा उमेरका रोमन सम्राट् कालिगुलाको हत्या गरियो । यसलाई दैवी शक्ति भन्ने कि संयोग ? म अलमल्ल परेको छु । कालिगुला सनकी सम्राट् थिए । रोममा आयोजना हुने विभिन्न समारोहमा उनी देवताका जस्तै लुगा लगाएर सहभागी हुन्थे । त्यति मात्र होइन, आफूलाई देवता हुँ भन्थे । हर समय देवताको जस्तै मान सम्मान खोज्दथे । उनको शासन कालमा रोममा भएका थुप्रै देवताका मूर्तिको टाउको हटाएर आफ्नै टाउकोको आकृति बनाएर राख्न लगाएका थिए । यस्तै मूर्ख र सनकी राजा र सम्राट्का कारण संसारभरबाट राजतन्त्र हराउँदै गएको हो । जुन देशमा राजतन्त्र बाँकी छ, त्यहाँ जनताका सेवक भएर राजाहरूले काम गरेका छन् । मेरो विचारमा संसारमा राजतन्त्रको आयु त्यति धेरै लामो छैन । ग्रिसको महìवपूर्ण धर्म र संस्कृतिको पतन भएको स्थानमा उभिएर उधिन्छु इतिहासको कठोर कालखण्ड । ठोकिन्छन् मेरा आँखामा नमिठा शब्दचित्रहरूमा । अनौठो मान्दछु देवता मान्ने रोमन सम्राट्का पछिल्ला पुस्ताहरू क्रिस्चियन भएको देखेर ।
पूर्णरूपमा क्रिश्चियन बनेको रोमन साम्राज्यले ग्रिसलाई आफ्नो नियन्त्रणमा लिइसकेको थियो । त्यसपछि रोमनहरूले जिउस देवताको सम्मानमा हुने ओलम्पिक खेललगायत अन्य खेलकुद कार्यव्रmममा रोक लगाए । रोमन सम्राट् थियोडस द्वितीयले ग्रिसभरि गैरइसाई धार्मिक गतिविधिमाथि प्रतिबन्ध लगाउँदै जिउसको मन्दिर बन्द गराए । उनैले ग्रिसमा रहेका सारा मन्दिर नष्ट गर्न लगाएका थिए ।
इतिहासकारहरूले जिउसको मूर्ति जलाइएको दाबी गरेका छन् । सबैभन्दा ठुला देवताको मन्दिर र मूर्ति नष्ट गरेपछि व्रिmश्चियन धर्मलाई स्थापित गर्न सजिलो भएको हुनु पर्छ । ‘नरहे बाँस नबजे बाँसुरी’ उक्तिलाई सम्झन पुग्छु ।
जल्न बाँकी रहेको जिउसको मन्दिरको केही अंश र परिसरभित्रका अन्य भवनहरू विभिन्न समयमा आएको शक्तिशाली भूकम्पका कारण ध्वस्त भए । धार्मिक दमन गर्ने त्यतिबेलाका क्रिश्चियनहरूले मन्दिरको संरक्षण गर्ने कुरा भएन । आधुनिक समयमा इतिहासको महìव बुझेर माटोमुनि पुरिएको मन्दिरहरूको उत्खनन कार्य सुरु गरेका छन् । त्यसमा युनेसको ठुलो सहयोग रहेको छ । त्यस कार्यको सह्राना गर्दछु ।
जिउस देवताको मन्दिरका केही अंश त्यहीँ हेरेँ । सुरक्षित राखिएका केही महìवपूर्ण अवशेषहरू केही वर्षअघि फ्रान्सको भ्रमणको बेला पेरिसमा अवस्थित लुभ्र म्युजियममा अवलोकन गरेको थिएँ । यस अर्थमा आफूलाई भाग्यमानी ठान्छु । शक्ति र सामथ्र्य सधैँ एकनास रहँदैन । संसारभर कब्जा जमाएको रोमन साम्राज्य पतन भयो । अलिकपछि टर्कीको ओटोमन साम्राज्य विस्तार हुन थाल्यो ।
नियतीको खेल भनूँ कि कमजोर शासकको उपस्थिति ? तावाबाट खसेको माछा भुङ्ग्रामा भने जस्तै ग्रिस फेरि ओटोमन साम्राज्यको अधीनमा पुग्यो । इतिहासको त्यस कटु यथार्थलाई स्वीकार नगरी धर थिएन ।
मुसलमान धर्म मान्ने टर्कीले ग्रिसमा मुसलमान धर्म फैलाउन सक्दो प्रयास गरे । जिउसको मन्दिर भएको क्षेत्रका केही सग्ला भवनहरू मर्मत गरेर टर्कीका उच्च पदस्थ कर्मचारीहरू बस्ने बासस्थान बनाए । त्यति मात्र होइन जिउस देवताको मन्दिर परिसरको खुला क्षेत्रलाई मस्जिद र प्रार्थाना गर्ने स्थानका रूपमा प्रयोग गरे । ग्रिसवासीका सर्वोच्च देवताको परिसरमा रोमन कालमा व्रिmस्चियनको चर्च बन्यो । ओटोमन साम्राज्यको समयमा त्यस स्थानलाई मस्जिदका रूपमा प्रयोग गरे । विगतका इतिहास पढेर ग्रिसवासीको मनमा कस्तो प्रभाव पर्दो हो म अनुमान पनि गर्न सक्दिनँ ।
पुरातात्त्विक स्थल ओलम्पियामा रहेका ऐतिहासिक धरोहरका सुरक्षित केही अंश देखेँ । केही पढेँ । केहीका बारेमा त्यहीँ सुनेँ । केहीलाई स्पर्श गरेँ । कस्ता कस्ता अवस्थाबाट मानिस, समाज र राष्ट्रले गुज्रनु पर्दछ भन्ने कुरा त्यहीँ थाहा पाएँ । इतिहासबाट शासक र जनताले सिक्ने यस्तै कुरा त हो नि ।
जिउसको मन्दिर परिसरमा एउटा गजबको कार्य सम्पन्न भएको कुरा त्यहाँ थाहा पाउँदा उदेक मानेँ । २१ जनवरी, सन् २००६ का दिन ग्रिसका केही मूर्तिपूजकहरूले जिउस देवतालाई सम्मान तथा स्मरण गर्न त्यहाँ एउटा भव्य समारोह आयोजना गरेका रहेछन् । उक्त कार्य ग्रिसको प्राचीन धर्ममा विश्वास गर्नेहरूको समूह ‘एलेनेइस’ ले आयोजना गरेको थियो । क्रिश्चियनहरूले प्रतिबन्ध लगाएको अठार सय वर्षपछि ग्रिसवासीहरूले आफ्ना पुर्खाले मान्ने धर्मलाई सम्झे । त्यो घटना आफैँमा अर्थपूर्ण र महìवको हो भन्ने मलाई लागेको छ । के थाहा विस्तारै ग्रिसवासीहरू व्रिmश्चियन धर्म छाडेर आफ्ना पुर्खाले मान्ने गरेको देवता पो मान्ने हुन् कि ? मेरा मनमा एउटा झिनो सम्भावनाको दियो बल्यो ।
धर्मप्रति मानिसका आआफ्नै आस्था, श्रद्धा र विश्वास हुन्छ । कतिले धर्मलाई अफिम पनि भन्लान् । म सबै धार्मिक विश्वासलाई अन्धविश्वास भनिहाल्न मन पराउँदिनँ । जिउस देवताको परिसरमा उभिएको बेला एउटा रोचक घटनालाई सम्झन्छु । टिभीमा देखेको र पत्रिकामा पढेको उक्त समाचारले जिउस देवताको स्मरण गराउँदछ ।
अमेरिकी अन्तरिक्ष संस्था नासाको मङ्गलग्रहमा रकेट पठाउने अभियानलाई सफलता मिलोस् भनेर आकाशका देवता जिउसलाई स्मरण गर्दै सन् २००१ मा मन्दिर परिसरमा सहगान अर्थात् कोरस कार्यक्रमको आयोजना गरिएको थियो । विभिन्न देशका प्रमुख टेलिभिजनमा प्रत्यक्ष प्रसारण भएको उक्त कार्यक्रम मन्दिरको खुला चौरको चारैतिर, एथेन्सको मुख्य चोक र सडकहरूमा लगाइएका ठुलठुला स्व्रिmनमा करोडौँ मानिसले हेरेका थिए । यसो विचार गर्दछु, मङ्गलग्रह जाने रकेट आकाश हुँदै जानु पर्दछ । आकाशका देवता जिउसबाट खोजिएको सुरक्षालाई अन्धविश्वास भन्ने कि नभन्ने ? त्यसलाई धर्मसँग जोड्ने कि नजोड्ने ? मेरा मनमा यस्तै विचार र प्रश्नहरू धेरै समयदेखि उठिरहेका छन् ।
रोमन र ओटोमन साम्राज्य पतन भएको धरतीमा घामको चर्को साम्राज्य चलिरहेको थियो । हायलकायल पारेको थियो घामले मलाई । खुला सङ्ग्रहालयका रूपमा रहेको जिउसको मन्दिर परिसरका पुरातात्त्विक महìवका सम्पूर्ण क्षेत्र धीत मरुन्जेल अवलोकन गरिसकेको थिएँ । बाहिर निस्कनुको अघि फेरि जिउस देवतालाई सम्झेँ । प्राचीन ग्रिसवासीले मान्ने सम्पूर्ण देवताहरूका पिता जिउसलाई श्रद्धापूर्वक शिर झुकाएर नमन गरेँ ।