मनोरञ्जन एवं सिङ, एन्टलर, छाला, टाउको जस्ता वन्यजन्तुका आखेटोपहार सङ्कलन गर्ने उद्देश्यले वन्यजन्तुको सिकार गर्ने कार्यलाई सिकार पर्यटन भनिन्छ । यसलाई कानुनी सिकार वा ट्रफी हन्टिङ पनि भन्ने गरिन्छ । सिकार पर्यटनको मुख्य उद्देश्य वन्यजन्तु संरक्षणका लागि आर्थिक स्रोत जुटाउनु हो । त्यसका लागि वन्यजन्तुको प्राकृतिक वासस्थानमा गएर बथानको सबैभन्दा ठुलो, बुढो, लामो र मोटो सिङ वा एन्टलर भएको गेम एनिमलको सिकार गरिन्छ । यसबाट स्वस्थ पपुलेसन कायम राख्न सहयोग पुग्छ । सिकार खेल्ने नाउर, झारल, थार, घोरल जस्ता वन्यजन्तुलाई गेम एनिमल भनिन्छ । ढोरपाटनमा सिकार खेल्ने मुख्य गेम एनिमल नाउर अर्थात् ‘ब्लु सिप’ भनिने जङ्गली भेडो र झारल अर्थात् हिमालयन थार भनिने जङ्गली बाख्रो हुन् ।
विश्व परिवेश
विश्वभर सिकार पर्यटन वन्यजन्तु व्यवस्थापनको सबैभन्दा बढी विवादित विषय बन्दै आएको छ । विश्वका एक सयभन्दा बढी देशले सिकार पर्यटनसम्बन्धी कानुनी व्यवस्था गरेको पाइन्छ । विश्वमा मुख्यतः अफ्रिका, उत्तर अमेरिका, मध्य एसिया र युरोपका केही भागमा सिकार पर्यटन सञ्चालन गरिन्छ । सिकार पर्यटन सभ्रान्त र सौखिन वर्गले मात्रै गर्ने महँगो एवं साहसिक पर्यटकीय गतिविधि हो । यसबाट विश्व पर्यटन बजारमा बर्सेनि २०० देखि ४०० मिलियन अमेरिकी डलर आर्जन हुने गरेको अनुमान छ ।
नेपालको अवस्था
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावली, २०३० ले सिकार व्यवस्थापनसम्बन्धी कानुनी व्यवस्था गरेको छ । ढोरपाटनमा सिकार पर्यटनलाई व्यवस्थित गर्न सन् १९७६ मा विश्व खाद्य तथा कृषि सङ्गठनका जीवशास्त्री पेयर वेगी आएर सिकार ब्लकहरूको विभाजन र सिकार कोटा निर्धारणसम्बन्धी अध्ययन गरेका थिए । उनकै अध्ययनको आधार लिई विसं २०३९ मा रुकुम पूर्व, बागलुङ र म्याग्दीको एक हजार ३२५ वर्ग किलोमिटर भूभागलाई समेटेर सिकार आरक्ष स्थापना गरियो र सिकार व्यवस्थापनका लागि आरक्षलाई सुनदह, सेङ, दोगाडी, घुस्तुङ, बार्से, फागुने र सुर्तिबाङ गरी सात वटा ब्लकमा विभाजन गरिएको छ ।
सिकार गरिने वन्यजन्तुको पाँच/पाँच वर्षको अन्तरालमा गणना गरी सिकार कोटा निर्धारण गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ । सोही मुताविक यहाँ नाउर र झारलको गणना गरी सिकार कोटा निर्धारण गरी ब्लकपिच्छे सिकार खेल्ने अनुमति दिने गरिन्छ । ढोरपाटनमा पछिल्लो पटक सन् २०२१ मा नाउर र झारलको गणना गरिएको थियो । त्यस गणनामा नाउरका ७९ वटा र झारलका ५० वटा बथान भेटिएका थिए । ति बथानमा नाउर र झारलको सङ्ख्या क्रमशः एक हजार २९० र ७४४ रहेको गणना प्रतिवेदनमा उल्लेख छ । यसै गणनाका आधारमा सन् २०२२ देखि सन् २०२६ सम्म बर्सेनि २० वटा नाउर र १४ वटा झारलको सिकार गर्न सकिने भनी सिकार कोटा निर्धारण गरिएको छ । यहाँ असोज, कात्तिक, चैत र वैशाख गरी वर्षको दुई पटक सिकार खेल्ने गरिन्छ ।
बँदेल र रतुवा मृगको सिकार खेल्न सामान्य सिकार अनुज्ञापत्र लिए पुग्छ भने नाउर र झारलको सिकार खेल्न पूरक सिकार अनुज्ञापत्रसमेत लिनुपर्ने हुन्छ । सिकार खेल्ने म्याद बढीमा २१ दिन हुने गर्छ र यो कार्य नेपालमा कार्यरत आठ वटा सिकार कम्पनीमार्फत गरिन्छ । सिकारी कम्पनीहरूले पेसेवर सिकार गाइडको सहयोग लिई सिकार खेलाउने गर्छन् । नेपालमा बर्सेनि २० देखि २७ जना सिकारी पर्यटक अमेरिका, स्पेन, नेदरल्यान्ड, अर्जेन्टिना, रसियालगायतका देशबाट आउने गरेका छन् । पर्यटकको मुख्य सोख लामो र मोटो सिङ भएको नाउर र झारलको सिकार गर्ने र तिनको सिङ, छाला र खुर आफूसँगै लैजाने हुन्छ ।
आर्थिक लाभ
सिकार पर्यटन प्रशस्त अर्थोपार्जन गर्न सकिने पर्यटकीय गतिविधि हो । नेपालमा सिकार खेलिने मुख्य वन्यजन्तु नाउर र झारल हुन् । यिनको मूल्य निर्धारण बोलकबोल प्रथाबाट हुने गर्छ । पछिल्ला पाँच वर्षको मूल्य निर्धारण हेर्दा प्रति नाउरको न्यूनतम मूल्य १० लाख र अधिकतम मूल्य २३ लाख रुपियाँसम्म परेको छ । झारलको मूल्य भने न्यूनतम सात लाख र अधिकतम १८ लाखसम्म पुगेको छ । सिकार पर्यटनबाट नेपाल सरकारलाई आर्थिक वर्ष २०७९/८० मा तीन करोड ४८ लाख ३८ हजार ६०२, आव २०८०/८१ मा चार करोड २६ लाख ८८ हजार ७०० र आव २०८१/८२ मा दुई करोड ७५ लाख ६० हजार चार सय राजस्व प्राप्त भएको छ ।
सामान्यतया सिकार कम्पनीले एउटा सिकार प्याकेजबापत ३० हजारदेखि ३५ हजार अमेरिकी डलरमा लिने गरेको पाइएको छ । यो प्याकेज भित्र एक/एक वटा नाउर र झारल पर्छन् । यसरी हेर्दा सन् २०२४ मा सिकार पर्यटन वापत झन्डै एक मिलियन अमेरिकी डलर नेपाल भित्रिएको देखिन्छ । यो रकम नेपाल सरकारलाई तिर्नुपर्ने राजस्व, हेलिकप्टर र गाडीको भाडा, त्यसमा खटिने जनशक्तिको पारिश्रमिक, बन्दोबस्तीका सामान खरिदमा खर्च हुने गर्छ ।
सुधारका क्षेत्र
सिकार पर्यटनको माध्यमबाट नेपालमा पर्यटन उद्योगको दायरालाई अझै फराकिलो बनाउन सकिने प्रशस्त सम्भावना रहेको छ । यसलाई अझै व्यवस्थित गर्न केही व्यवस्थापकीय पक्षमा सुधार गर्नुपर्ने देखिएको छ । नाउर र झारलको आखेटोपहार विदेश निकासी गर्न दुई वर्षसम्म ढिलो हुने गरेको छ भनी सिकार कम्पनीले बताएका छन् । यस्तै कमजोरी सिकार खेल्ने वन्यजन्तुको सङ्ख्या र प्रजातिमा पनि रहेको छ । यहाँ सिकार खेल्न आउने पर्यटकको चाहना एकै ट्रिपमा चार÷पाँच वटा वन्यजन्तुको सिकार गर्ने भन्ने हुन्छ । आरक्षमा घोरलको सङ्ख्या राम्रो छ । यो पनि कानुनी सिकार गर्न मिल्ने ‘गेम एनिमल’ हो तर सिकार खेल्न दिने गरिएको छैन । घोरललाई साइटिस महासन्धिले अनुसूचि–२ मा राखेको हुँदा साइटिस महासन्धिका सदस्य राष्ट्रहरूको बैठकबाट सिकार कोटा नलिएसम्म सिकार खेल्ने अनुमति दिन मिल्दैन ।
नेपाल सरकारबाट यसतर्फ पहल हुन नसक्दा धेरै धनराशि खर्च गरेर आएका पर्यटकले थोरै सङ्ख्यामा मात्रै वन्यजन्तुको सिकार गर्नु परेको छ र सिकारी पर्यटक पाकिस्तान, मङ्गोलिया, काजकिस्तान र ताजकिस्तान जस्ता एसियाली राष्ट्रहरूमा बढी आकर्षित भएका छन् । त्यस्तै अर्को सुधार गर्नुपर्ने पक्ष सिकार आरक्षको मध्यवर्ती क्षेत्र तोकेर सिकार पर्यटनबाट प्राप्त लाभ स्थानीय समुदायलाई दिलाउनु रहेको छ । ढोरपाटनमा सिकार पर्यटन सञ्चालन गरेको पाँच दशक बितिसक्दा पनि सिकार पर्यटनबाट स्थानीय समुदाय लाभान्वित हुन सकेका छैनन् । फलस्वरूप आरक्ष क्षेत्र वरिपरि बसोबास गर्ने मगर र छन्त्याल समुदायमा गरिबी व्याप्त छ र उनीहरूमध्ये कतिपय जीविकोपार्जनका लागि चोरी सिकारमा संलग्न हँुदै आएका छन् । चोरी सिकारकै कारण सुनदह, सेङ र ‘वार्से ब्लक’ मा सिकारयोग्य नाउर र झारल भेट्न मुस्किल हुँदै गएको छ भन्ने सिकार कम्पनीको गुनासो रहेको छ । सन् २०२१ को गणना प्रतिवेदनले समेत ती ब्लकहरूमा विगतको तुलनामा नाउर, झारलको सङ्ख्या घट्दै गएको औँल्याएका छन् । सिकार पर्यटनबाट वन्यजन्तुको जीवविज्ञान एवं जनसाङ्ख्यिक स्थितिमा के कस्तो असर पारेको छ भन्ने विषयमा वैज्ञानिक अध्ययन हुन नसक्नु पनि अर्को सुधार गर्नुपर्ने पक्ष रहेको छ ।
चुनौती
सिकार पर्यटनको दिगोपना सिकार आरक्षका पारिस्थितिकीय प्रणालीहरूको सन्तुलनमा निर्भर हुने गर्छ । यसका मुख्य अवयव वन्यजन्तुको बासस्थानको रूपमा रहेका वन र खर्क क्षेत्र हुन् । ढोरपाटनका समथर र फराकिला वन र खर्कहरू नाउर र झारलका प्रमुख वासस्थान हुन् । खर्कमा घुम्ती चरिचरन गर्ने गाईवस्तुको सङ्ख्या घट्दै जानु, काठ, दाउराको माग बढ्दै जानु, सडक सञ्जालको विस्तारले वासस्थान खण्डीकरण हुनु र जलवायु परिवर्तनले यिनको संरक्षणमा चुनौती थपेका छन् । सिकार पर्यटनबाट स्थानीय समुदाय लाभान्वित हुन नसक्नु, बढ्दो चोरी सिकार र अध्ययन अनुसन्धानको कमी जस्ता चुनौती पनि छन् । यहाँका खर्कमा सदियौँदेखि गाईवस्तुको घुम्ती चरिचरन हुँदै आएको छ । घुम्ती चरिचरनले गर्दा खर्कमा अनावश्यक झाडीहरू फैलिनबाट रोकिएको हुन्छ । साथै खर्कको माटोलाई मलिलो बनाई पोषिलो घाँस उत्पादन गर्न गाईवस्तुको मलमूत्रको ठुलो योगदान रहेको हुन्छ ।
केही वर्षदेखि खर्कमा घुम्ती चरिचरन गर्ने गाईवस्तुको सङ्ख्या निरन्तर रूपमा घट्दै गएको छ र यसको असर वन्यजन्तु संरक्षणमा पनि पर्न सक्ने देखिएको छ । जलवायु परिवर्तनले गर्दा हिमाली क्षेत्रमा हिउँदमा हिउँ कम पर्न थालेसँगै सुक्खा बढेको छ । सुक्खा बढेसँगै खर्कमा पानीको अभाव र घाँसको उत्पादन घट्दै गएको छ । सिकार आरक्ष बाहिरका बस्तीहरूमा मोटरबाटोको सञ्जाल विस्तार हुँदै गएकाले वन्यजन्तुको चोरी सिकार र वन पैदावारको अवैध ओसारपसार बढेको छ । आरक्ष सुरक्षार्थ नेपाली सेनाको एक गुल्म तैनाथ भए पनि सडक सञ्जालको विस्तारबाट खुलेका नाकाहरूमा चेकजाँच गर्न जनशक्तिको अभाव भएको छ । आरक्षको भ्रमण गर्ने आन्तरिक पर्यटकको सङ्ख्या बढेसँगै फोहोर व्यवस्थापन जटिल समस्याका रूपमा देखा परेको छ । साथै पर्यटकको सुविधाका लागि होटल निर्माण गर्न काठ र आगो बाल्न दाउराको माग बढेको छ ।
निष्कर्ष
ढोरपाटन सिकार आरक्ष नेपालमा कानुनी रूपमा वन्यजन्तुको सिकार गर्न पाइने एक मात्र स्थान हो । यहाँ सशस्त्र द्वन्द्व र कोरोना महामारीको समयमा बाहेक विसं २०३० देखि निरन्तर रूपमा सिकार पर्यटन सञ्चालन हुँदै आएको छ । तैपनि सिकार पर्यटनको लाभ स्थानीय समुदायलाई उपलब्ध गराउन नसक्नाले वन्यजन्तु संरक्षणमा स्थानीय समुदायको सक्रिय सहभागिता जुटाउन सकिएको छैन । यो समस्याको समाधान गरेमा यहाँको सिकार पर्यटनलाई भविष्यसम्म निरन्तरता दिन सकिने छ ।