रेखीराम राना
तानसेन, कात्तिक १४ गते । पाकिसकेको धानबाली भित्र्याउने बेलामा लगातारको वर्षातले खेतमै धान उम्रिने हो कि भन्ने चिन्ता पाल्पाका किसानलाई परेको छ । धान काटेर सुकाउन खेतमा पाजो राखेका किसानलाई मोन्था चक्रवतका कारण दुई दिनदेखिको परेको पानीले धान खेतमै उम्रिने हो कि चिन्ता परेको हो ।
बिहीबार बिहानैदेखि लगातार पानी परेपछि पाल्पाको रामपुर, माडी, कचल, अर्गली, पूर्वखोला, गेझा, झडेवा, तिनाउ, सर्देवा, गल्धाफाँटमा किसानले काटेर राखेका धान भिजेको छ । धान पाकेर काटेका धान खेतमै उम्रिने अवस्था बनेपछि स्याहार्न नपाउने हो कि भनेर चिन्ता थपिएको बगनासकाली–१, का किसान यज्ञ कुमालले बताउनुुभयो ।

वर्षभरि खाने खेती केही दिनभित्रै स्याहार्न सकाउने किसानको योजनासमेत पानीले बिथोलेको छ । धान काटेर घरमा भित्र्याउने बेलामा पानीले बिथोलेको तानसेन–९, का किसान चन्द्रकान्त न्यौपानेले गुनासो गर्नुभयो ।
धान खेती पाल्पाको प्रमुख बालीको रुपमा रहेकाले पनि यहाँका किसानलाई स्याहार्न नपाउँदा थप पिडा थपेको छ । वर्षभरि खाने अन्न स्याहार्ने बेलामा पानी पर्दा खेतमै धान उम्रिने अवस्था आएको बगनासकाली–३, पोखराथोकका किसान जमानसिंह चिदीले बताउनुभयो । ठुलो पानी नपरेपनि मध्यम खालको लगातार पानी परेकाले खेतमै धान उम्रिए घरमा भित्र्याउन नपाउने उहाँले बताउनुभयो ।

पाल्पामा यो वर्ष आठ हजार ६२० हेक्टर क्षेत्रमा धानखेती भएको थियो । जिल्लाका अधिकांश स्थानका किसानलाई यतिबेला धान स्याहार्ने माचो नै थियो । पाल्पाका ५० प्रतिशत किसानले तिहारअघि नै धान काटेर पाजा र मुठा बनाई खेतमै सुकाएका थिए । ५० प्रतिशत भूभागका किसानले धानबाली काट्ने तयारी र योजना बनाएका कृषि ज्ञान केन्द्र पाल्पाले जनाएको छ ।









 
                                 
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                