सन्तोषी रावल
बाजुरा, कात्तिक १५ गते । भौगोलिक विकटता र गुणस्तरीय स्वास्थ्य सेवाको अभावका कारण बाजुराका आमाहरू अझै पनि बाटोमै बच्चा जन्माउन बाध्य छन् । पर्याप्त स्वास्थ्य सेवा, प्रसूतिसम्बन्धी शिक्षा र परामर्श नहुँदा हरेक वर्ष यहाँका महिलाहरूले यस्तै जोखिमपूर्ण परिस्थितिमा सुत्केरी हुनुपरेको छ ।
गत चार वर्षको तथ्याङ्कले मात्रै पनि देखाउँछ-दर्जनौं आमाहरूको ज्यान गइसकेको छ भने कैयौंले बाटोमै बच्चा जन्माएका छन् । यही समस्याको पछिल्लो उदाहरण हुन् बाजुराको बुढीगंगा नगरपालिका–७ सिमलकोटकी सिर्जना केसी ।
सिर्जनाले स्वास्थ्य संस्था पुग्नुअघि नै बाटोमै आफ्नो सन्तानलाई जन्म दिनुभयो । स्वास्थ्य संस्था टाढा भएको र समयमै सहायता नपाएका कारण उहाँले बाटोमै बच्चा जन्माउन बाध्य भएको बताइन्छ । खबर पाएलगत्तै सिमलकोट स्वास्थ्य केन्द्रकी अनमी बिनिता बिष्ट घटनास्थल पुग्दा सिर्जनाले बच्चा जन्माइसक्नुभएको थियो ।
“हामी खबर पाउने वित्तिक्कै पुग्यौं, तर सिर्जनाले पहिले नै बच्चा जन्माइसकेकी रहिछिन्,” अनमी बिष्टले भन्नुहुन्छ । उहाँका अनुसार, सालनालको व्यवस्थापनपछि अवस्था सामान्य देखिएकाले चेकजाँच गरेर घर पठाइएको छ ।
हाल आमा र बच्चा दुबैको अवस्था सामान्य रहेको जनाइएको छ । बुढीगंगामा यस वर्ष मात्रै दुई अन्य आमाले पनि बाटोमै बच्चा जन्माएका छन् । अन्य पालिकाहरूको तुलनामा स्वास्थ्य सेवा केही राम्रो भए पनि यस्तो समस्या अझै अन्त्य हुन सकेको छैन ।
यो एक मात्र उदाहरण होइन-बाजुराका नौवटै स्थानीय तहमा यस्ता घटनाहरू वर्षैभरि दोहोरिने गरेका छन् । स्वास्थ्य संस्था टाढा हुनु, नियमित गर्भजाँच नहुनु, पौष्टिक आहारको कमी र भौगोलिक कठिनाइजस्ता कारणले यहाँका महिलाहरू जोखिममा छन् ।
स्वास्थ्य कार्यालय बाजुराका अनुसार, हरेक महिनामा दुईदेखि तीन महिलाहरू बाटोमै सुत्केरी हुने गरेका छन् । सरकारको ‘सुत्केरी हवाई उद्धार कार्यक्रम’ सञ्चालनमा रहे पनि यसले पर्याप्त प्रभाव देखाउन सकेको छैन ।