• १५ कात्तिक २०८२, शनिबार

जैंनालु र दोभानबाट वार्षिक एक करोड ५० लाख बराबरको अलैँची निर्यात

blog

किसान महिला उत्पादित अलैँची सुकाउँदै । तस्बिर : बाबुराम शर्मा

बाबुराम शर्मा 
दोलखा, कात्तिक १५ गते ।
दोलखाको वैतेश्वर गाउँपालिका–३ मिर्गेको जैंनालु र दोभान क्षेत्रबाट मात्र वार्षिक एक करोड ५० लाख रुपियाँ बराबरको अलैँची निर्यात हुँदै आएको छ । यस वर्ष अलैँचीको मूल्यमा वृद्धि भएपछि यहाँका किसान उत्साहित भएका छन् ।

गत वर्ष प्रतिकेजी एक हजार नौ सय रुपियाँमा बिक्री हुने गरेको अलैँचीको मूल्य यस वर्ष तीन सय रुपियाँले बढेर प्रतिकेजी दुई हजार तीन सय रुपियाँ पुगेको छ । अहिले अलैँची घरबाट नै बिक्री भएको वैतेश्वर–३ मिर्गे जैनालुका किसान जितबहादुर तामाङले बताउनुभयो ।

उहाँका अनुसार अलैँचीको मूल्य वृद्धि भए पनि उत्पादनमा भने यस वर्ष गिरावट आएको छ । वर्षेनि भएको मूल्य गिरावट, गत वर्ष भएको सुख्खा खडेरी तथा अन्य कारण खेती विस्तारमा किसानले ध्यान नदिँदा उत्पादनमा कमी भएको हो ।

यस वर्ष उत्पादन घटे पनि मूल्यवृद्धि भएपछि किसानहरु उत्साहित छन् । सोही गाउँकी स्थानीय किसान देवीमाया तामाङले अलैँची बिक्री गरेर छ लाख रुपियाँ आम्दानी गर्ने बताउनुभयो ।

गत वर्ष उहाँले चार लाख रुपियाँ बराबरको अलैँची बिक्री गर्नुभएको थियो । तीन सय केजी अलैँची काठमाडौँ निर्यात गर्ने तयारी गरेको पनि उहाँले जानकारी दिनुभयो ।

पछिल्ला वर्षहरुमा यहाँका किसानले आम्दानीको मुख्य आधार नै अलैँची खेती बनाउँदै आएका छन् । यहाँको मिर्गे, जैनालु र दोभानबाट वार्षिक एक करोड ६५ लाख बराबरको अलैँची काठमाडौं र तराई निर्यात गर्दै आएको स्थानीय अलैँची किसान विप्लव तामाङले बताउनुभयो ।

सामान्य लगानी तथा मेहेनतले अलैँचीबाट राम्रो आम्दानी हुने हुँदा अलैँचीको भाउ घटे पनि किसान मारमा पर्दैनन् । उहाँले यस वर्ष करिब दुुई सय केजी अलैँची उत्पादन गर्नु भएको छ । गत वर्ष मिर्गेबाट एक करोड बराबरको अलैँची बिक्री गरेका थिए । जैनालु–दोभानका स्थानीय किसानहरु दिनेश तामाङ, लालकुमार तामाङ र मानबहादुर तामाङ गाउँमै सबैभन्दा बढी अलैँची बिक्री गर्ने किसान हुनु हुन्छ । अहिले यहाँका किसानलाई बोटबाट अलैँची झिक्न, केलाउन र सुकाउन भ्याइनभ्याई छ । ठेकेदारले घरबाट नै अलैँची लैजाने गरेकाले पनि मिर्गेका किसानलाई अलैँची बिक्री गर्ने चटारो रहेको छ ।