• १२ मंसिर २०८१, बुधबार

'लम्पी स्किन'को सङ्क्रमण घट्दै

blog

अनिल पराजुली

हेटौँडा, साउन ३१ गते । जिल्लामा खोप अभियान तीव्र गतिमा सञ्चालन गरिएपछि गाईभैँसीमा लाग्ने लम्पी स्किनको सङ्क्रमणको दर क्रमशः घट्दै गएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मकवानपुरका अनुसार लम्पी स्किनको खोप कार्यक्रम तीव्र गतिमा सञ्चालन भएसँगै सङक्रमण दर घट्दै गएको हो । 

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मकवानपुरका प्रमुख डाक्टर बज्रकिशोर ठाकुरले खोप अभियानपश्चात् पशु सङ्क्रमणको बिस्तारै घट्दै गएको बताउनुभयो । बागमती प्रदेशमा पहिलो पटक मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा देखिएको लम्पी स्किन सङ्क्रमणका कारण साउन अन्तिमसम्म जिल्लामा १३ हजार ९९१ पशु प्रभावित भएकोमा पाँचसय पशु मरिसकेका छन् । गर्मीयाम सुरु भए लगतै पशुमा प्रकोपका रुपमा रहेको लम्पी स्किन नामक सङ्क्रमण रोग गत वर्ष पुस महिनाबाट मकवानपुरको मकवानपुरगढी गाउँपालिकाबाट फैलिएको थियो ।

विज्ञ केन्द्र प्रमुख ठाकुरले रोग नियन्त्रण गर्न जिल्लाका दश स्थानीय तहमा उपलब्ध गराइएको सात हजार डोजमध्ये तीन हजार ९२५ डोज खोप लगाइएको जानकारी दिनुभयो । लम्पी स्किन रोग विरुद्धको सप्ताहव्यापी खोप अभियान अन्तर्गत भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र मकवानपुरबाट स्थानीय तहलाई ६ हजार एक सय र पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयबाट एक हजार डोज प्राप्त भएको थियो भने खोप लगाउनका लागि १८ जना भ्याक्सिनेटर नियुक्त गरिएको थियो । सप्ताहव्यापी खोप अभियानपूर्व जिल्लामा २४ हजार ६०६ पशुलाई खोप लगाइएको थियो। 

लम्पी स्किन रोग नियन्त्रण तथा रोकथामको लागि प्राविधिक र कृषकहरुबीच हेटौँडा–१६, हटिया चिसापानी, जनप्रिय उच्च मावि (प्राविधिक शिक्षालय) मा भएको कार्यक्रममा कृषक, विद्यार्थी, प्राविधिक र सरोकारवाला निकायहरुको सहभागिता रहेको कार्यक्रमलाई सम्बोधन गर्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डाक्टर शरणकुमार पाण्डले लम्पी स्किन रोग नियन्त्रण गर्नुको कुनै विकल्प नरहेको बताउनुभएको छ । बागमती प्रदेशले पहिलो पटक सरकारी निकायबाट भ्याक्सिन उपलब्ध गराएको बताउँदै उहाँले लम्पी स्किन रोग नियन्त्रणमा मन्त्रालयपूर्ण रुपमा लागेको स्पष्ट पार्नुभयो । 

“खोप अभियान सकिएको होइन, अझै बढी खोप ल्याउने र लगाउने अभियानमा हामी छौं,” उहाँले भन्नुभयो । लम्पी स्किन रोगबारेको जनचेतना एक किसानले अर्को किसानसम्म पुर्याउन उहाँले आग्रह गर्नुभयो । किसानको पशुधन क्षति भएकोप्रति दुःख व्यक्त गर्दै क्षतिपूर्ति र राहतका विषयमा सङ्घीय सरकारले नै कार्यविधि तयार गरिरहेको उहाँले बताउनुभयो । “बिमा कम्पनीहरुसँग छलफल गर्छौं, पशुको बिमा गरेका किसानले बिमा वापतको रकम पाउनुपर्छ, यो रोक्न मिल्दैन”, उहाँले थप्नुभयो । “मन्त्रालयबाट मोबाइल एम्बुलेन्स सञ्चालनको प्रक्रिया अगाडि बढाएका छौं, किसानले फोन गर्दा मोबाइल एम्बुलेन्सबाट प्राविधिक सहयोग घरघरमा पुर्याउने गरि कार्यक्रम ल्याउने तयारी गरिरहेका छौं,” उहाँले भन्नुभयो । 

कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईले पशुधनको क्षति हुँदा किसानको बाँच्ने आधार नै अन्त्य हुने भएकाले प्रभावकारी रुपमा खोप अभियान, बिमा कार्यक्रम र सचेतनामूलक कामहरु गर्नपर्नेमा जोड दिनुभयो । “थप क्षति रोक्न लाग्नुपर्छ, खोप र उपचारलाई प्रभावकारी रुपमा अगाडि बढाउनुपर्छ, महामारीको समयमा १०–५ बजाएर मात्रै जागिर खाने होइन, किसानको पशुधन जोगाउन प्राविधिकहरु गोठ–गोठमै पुगेर सेवा दिनुपर्छ”, उहाँले भन्नुभयो ।