• २२ वैशाख २०८१, शनिबार

कहाँ छैन चुनौती ?

blog

नेपाली मिडियामा पछिल्ला दिनमा मुलुकको भविष्यबारे राम्रै बहस थालिएको छ । मुलुक बनाउने दायित्वबाट सम्बद्ध पक्ष चुकेकै हो त ? जिज्ञासा स्वाभाविक हो । खास गरी मुलुकको पछिल्लो अवस्था कहालीलाग्दो रहेको भन्दै देशमा बस्नै नसकिने अवस्थाको चित्रण पनि कतिपयले गर्ने गरेका छन् । निराशावादी पक्षले उठाएका प्रश्न र गरिएको चित्रणले मुलुक समाप्तै हुन लागेको पो हो कि भन्ने आशङ्का बढाउनु स्वाभाविक हो । वास्तविकता फरक छ, मुलुकमा केही वर्षयता अभूतपूर्व परिवर्तन भएका छन् । स्वास्थ्य, शिक्षा, यातायात र सञ्चार क्षेत्रमा नेपालले अकल्पनीय प्रगति गरेको छ । निराशा र क्रोध अलग पक्ष हो तर निष्पक्ष भएर बहस गर्ने हो भने हामीले धेरै सुधार गरेका छौँ । त्यसमा केही कमजोरी अझै होलान्, सुधार गरेर अघि बढियो भने सकारात्मक परिणामको अपेक्षा गर्न सकिन्छ ।

नेपालको अवस्था देखेर दिक्क लाग्यो भन्नेमध्ये कतिपय अहिले अमेरिका र अस्ट्रेलियामा बसोबास गर्छन् । कुनै बेला राजनीतिक प्रणाली परिवर्तनका लागि ज्यानै हत्केलामा राखेर आन्दोलनमा होमिएका समेत यतिबेला विदेश पलायन भएका छन् । सायद त्यही देखेर हो वा राजनीतिमा बेलाबेला देखिने गरेका विकृति र विसङ्गतिले हो, सम्भावना बोकेकाहरू पनि सम्भावनाको खोजीमा भौँतारिने गरेका छन् । उनीहरूको निराशावादी सोचलाई पत्याउने हो भने लाग्छ अबको केही दशकपछि नेपालमा बूढापाका मात्रै बाँकी रहने छन् । हुनेखाने र पढेलेखेका युवा युरोप, अमेरिका र अस्ट्रेलियातिर बाँकी खाडी मुलुक जाने प्रवृत्ति बढेको स्थितिलाई गलत ढङ्गले व्याख्या गर्ने गरिएको छ । 

राजनीतिक र प्रशासनिक क्षेत्रमा देखिएका केही विकृति र विसङ्गतिलाई समग्रमा राष्ट्र नै असफल भएको भाष्य निर्माण गर्न यो जमात लागिपरहेको छ । नेपालमा त केही भएकै छैन, अनि अब पनि केही हुँदैन भन्ने गलत भाष्य प्रवाह गर्न खोजिएको छ । नयाँ पुस्तालाई मुलुक निर्माणमा जोड्नुको बदला विदेश जान प्रेरित गर्नेतिर धेरैको ध्यान केन्द्रित छ । यद्यपि हामीले धेरै पक्षमा अझै सुधार गर्न जरुरी छ । केही नभएको र भविष्य पनि अन्धकार छ भन्ने सोच र अवधारणा भने बिल्कुलै गलत हो । आज समस्या र चुनौती नभएका विश्वमा कुनै मुलुक छन् र ? अमेरिका, चीन, भारत होस् वा रुस सबै समस्याग्रस्त छन् । समस्या र चुनौतीका आयाम फरक होलान् । विश्वकै सबैभन्दा ठुलो प्रजातन्त्र मानिने भारतमा अहिले लोकतान्त्रिक मूल्य मान्यता कमजोर भएको बताइन्छ । भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदी सत्तामा आएपछि लोकतन्त्र नै कोमामा पुगेको सम्मको चर्चा हुने गरेको छ । कुनै बेला इन्दिरा गान्धीको अधिनायकवादी सोच र प्रवृत्ति पनि आलोचित भएकै हो । यथासमयमा त्यसलाई सुधार गर्ने काम भारतीय जनताले नै गरे । त्यसैले नेपालमा पनि केही समस्या र चुनौती छन् भनेर पलायन हुने सोच सही मान्न सकिन्न । हामीकहाँ विकृति र विसङ्गतिका चाङ छन् । त्यसलाई सुधार्न वा निस्तेज पार्न प्रयास गर्नु पर्छ, न कि गलत भाष्य निर्माण गर्न । 

हाम्रै पुस्ता हो, कुनै बेला मोटर गाडी देख्दा अनौठो र आश्चर्य मान्थ्यो । आज इन्टरनेटको जमाना छ । सारा विश्व हत्केलामा सीमित छ । नेपालमा पनि सबैखाले अभ्यास गर्न थालिएको छ । अर्काे कोणबाट हेर्ने हो भने अनगिन्ती सकारात्मक काम पनि भएका छन् । आर्थिक प्रगति, स्वतन्त्रता, स्वाभिमान र गुणस्तरीय लोकतन्त्रको अविचलित यात्रामा मुलुकले फड्को मार्दै छ । संवैधानिक निकाय, न्यायालय, नागरिक समाज र मिडियाले समाज रूपान्तरणमा केही न केही भूमिका निर्वाह गरिरहेका छन् । राजनीतिक वा प्रशासनिक क्षेत्रबाट भएका कमीकमजोरी सच्याउन यी निकायले खबरदारी मात्र गरेका छैनन्, अपितु दण्डित गर्ने प्रक्रियासमेतको थालनी गरेका छन् । चाहे भुटानी शरणार्थी प्रकरण होस् वा ललिता निवास या सुन तस्करी प्रकरण नै किन नहोस् । यद्यपि यी प्रकरण कत्तिको स्वतन्त्र ढङ्गबाट छानबिन भएका छन्, त्यसबारे आआफ्ना दृष्टिकोण होलान् । केही आशा र भरोसा त यसले जगाएको छ । साथै, अन्य चर्चित भ्रष्टाचार प्रकरणका फाइलसमेत खोल्ने प्रतिबद्धता सरकारले गरेको छ । जसले बिस्तारै सुशासनको क्षेत्रमा ठोस प्रगति हुने अपेक्षा गर्न सकिन्छ । 

कतिपयले पञ्चायतकालमा एउटा मात्रै राजा थिए, अहिले धेरै राजा भए भनेर प्रजातन्त्रको दोहोलो काढ्ने दुष्प्रयास गर्ने गरेका छन् । पञ्चायतकालमा राजा निरङ्कुश थिए, पारदर्शिता थिएन । आलोचना गर्ने छुट थिएन तर अहिले जनताले चुनेर पठाएकाले मात्रै शासन सत्तामा बस्न पाउँछ । सत्ताधारीका हरेक काम कारबाही पारदर्शी बनाउने प्रयास भइरहेको छ । आलोचना गर्न कुनै रोकटोक छैन । आर्थिक प्रगतिकै कुरा गर्ने हो भने पञ्चायत र प्रजातान्त्रिक प्रणालीबिच तुलना गर्दा विचित्रको तस्बिर फेला पर्छ । प्रजातन्त्र पुनस्र्थापनायता नीति निर्माण तहमा भुइँ मान्छेको समेत उपस्थिति रह्यो । त्यसैको प्रभावले गर्दा ०४७ सालपछि मुलुकले आर्थिक प्रगतिको क्षेत्रमा छलाङ मारेकै हो । २०४८ सालमा बनेको सरकारले उदार अर्थनीति अवलम्बन गरेकै कारण अर्थतन्त्र चलायमान बन्यो, जसको प्रभावले नै आजसम्म अर्थतन्त्रले मुलुकलाई धानिरहेको छ । 

बहुदलीय प्रजातन्त्रको पुनर्बहालीपछि देशले धेरै क्षेत्रमा अप्रत्यासित प्रगति गरेको तथ्यले भन्छ । खास गरी अर्थतन्त्रमा देखापरेको तीव्रतर विकासले नेपालीको जीवनस्तर नयाँ उचाइमा पुगेको हो । यो पक्षलाई हामीले ओझेलमा राख्न किमार्थ मिल्दैन । घरघरमा बिजुली बत्ती बलेका छन् । टोलटोलमा विद्यालय र अस्पताल खुलेका छन् । उत्पादन गर्न सके भरपर्दाे बजार निर्माण भएको छ । यातायातको सुविधाले किसानका उत्पादन खेर गएका छैनन् । सँगसँगै एउटा विकृति चाहिँ थपिएको छ । युवा स्वदेशमा भन्दा विदेश जान बढी हौसिएका छन् । देशको उर्वरा जमिन बाँझै छाडेर खाडी मुलुकमा खेती गर्न पलायन भइरहेका छन् । यसलाई रोक्न सक्ने हो भने समृद्ध नेपाल बनाउने अभियान सपनामा मात्र सीमित हुने छैन । देशका बुद्धिजीवीले गलत सन्देश प्रवाह चाहिँ गर्नु भएन । 

सन् १९९० मा नेपाली अर्थतन्त्रको आकार झन्डै साढे तीन अर्ब अमेरिकी डलर थियो । सन् २०२१ मा आइपुग्दा नेपाली अर्थतन्त्रको आकार ३७ अर्ब अमेरिकी डलरमा उक्लियो । यो तीन दशकको अवधिमा नेपाली अर्थतन्त्र करिब १२ सय गुनाले उकालो लागेको चित्र देखिन्छ । आर्थिक उदारीकरण र कर प्रणालीमा सुधार गर्दा यस्तो प्रभाव देखिएको हो । अर्थतन्त्र चलायमान बन्दा शिक्षा, स्वास्थ्य, सडक, भौतिक पूर्वाधारमा महत्वपूर्ण उपलब्धि भएका छन् । आज उपचारका लागि नेपालीले बिदेसिनु पर्दैन, यद्यपि ठुला नेताको विदेशमा हुने उपचारका केही छिटपुट घटना नभएका भने होइनन् । तिनमा पनि बिस्तारै अङ्कुश लगाउने कानुन बन्दै छन् । निजी क्षेत्रले लगानी गर्ने वातावरण तयार भएको छ । सरकारी तहबाट समेत गुणस्तरीय सेवा सुविधा उपलब्ध हुन थालेका छन् । यातायात क्षेत्रमा भरपर्दो लगानी र विकास भएका छन् । निजी क्षेत्रको खर्बौं रुपियाँ मिडिया क्षेत्रमा लगानी भएका छन् । पत्रकारिताको व्यावसायिक विकास हुन थालेको छ । 

शासन सत्तामा बस्नेहरूको खबरदारी गर्ने र राम्रो गर्नेको तरफदारी गर्ने काम नेपाली मिडियाले गरेका छन् । जसले गर्दा आममानिसमा विश्वास र भरोसा चुलिएको छ । समावेशिताका उच्चतम् अभ्यास भइरहेका छन् । संवैधानिक रूपमै समावेशितालाई स्थापित गरिएको छ । नीति निर्माण तहमा यतिबेला कम्लरी, हलिया, महिला, पिछडा, अपाङ्गता भएकाहरू पुगेको अवस्था छ । त्यसैले देशमा केही परिवर्तन भएन भनेर रोइलो गर्ने अवस्था छैन । 

नेपाल बनाउने जिम्मेवारीमा रहेका व्यक्तिप्रति विश्वास र भरोसा टुटेकै हो ? कतिपयले अब नेपाल बन्दैन भन्ने चर्का कुरा गर्दा सर्वसाधारणमा यस्तो प्रश्न उठ्ने गरेको छ । फेरि पनि हामीले अहिलेसम्म भएका प्रगति नियाल्ने हो भने सकारात्मक पक्ष धेरै पाइन्छन् । त्यसैले आज युवा जमातलाई स्वदेशमै बस्ने र देश बनाउने जिम्मेवारीमा आमन्त्रण गर्नै पर्छ । सधैँ नकारात्मक कुरा गरेर देशका ऊर्जाशील जनशक्तिलाई बिदेसिन बाध्य बनाउने प्रवृत्ति रोक्न सबै पक्षको इमानदार प्रयास अपेक्षित छ ।