निर्माणवाद भनेर चिनिने दार्शनिक धारणा २० औँ शताब्दीको उत्तरार्धमा फ्रान्सेली चिन्तक ज्याक डेरिडाद्वारा प्रस्तुत गरिएको उत्तरआधुनिक विचार हो । प्रारम्भमा यो कुनै राजनीतिक वा सामाजिक क्रान्तिको औजार नभई पाठ र भाषाको सूक्ष्म विश्लेषण गर्ने बौद्धिक विधि थियो । यसको आशय कुनै विचार, साहित्यिक रचना वा दर्शनभित्र लुकेका विरोधाभास, बहुअर्थ, मौन आवाज र दमन गरिएका अर्थलाई उजागर गर्नु थियो । डेरिडाको तर्क अनुसार शब्द र अर्थ स्थिर हुँदैनन्; तिनीहरू सन्दर्भ, समय, शक्ति र व्याख्या अनुसार बदलिन्छन् । त्यसैले कुनै पनि पाठ वा विचारलाई ‘अन्तिम सत्य’ का रूपमा स्वीकार गर्नु नै सबैभन्दा ठुलो भ्रम हो ।
यही आधारमा विनिर्माणवादले परम्परागत ज्ञान संरचनालाई प्रश्न गर्न सुरु ग¥यो । धर्म, राजनीति, इतिहास र नैतिकताका स्थापित मान्यतामाथि यसले ‘सत्य कसले निर्माण गर्छ ?’ भन्ने मूल प्रश्न उठायो । मिसेल फुको जस्ता विचारकले थपे–सत्य ज्ञानबाट होइन, शक्तिबाट निर्माण हुन्छ । जसको हातमा सत्ता छ, उसैले मूल्य, नैतिकता र यथार्थको परिभाषा तय गर्छ । यस सोचले कमजोर, सीमान्त र उत्पीडित आवाजलाई सुन्ने पर्याप्त ठाउँ दियो । विनिर्माणवाद केहीका लागि मुक्ति थियो, केहीका लागि अराजकता ।
यसै कारण विनिर्माणवाद सबैभन्दा विवादास्पद दर्शन बन्यो । समर्थकका अनुसार यसले शोषणकारी संरचना, अन्यायपूर्ण परम्परा र अन्धविश्वासलाई भत्काएर मानव चेतनालाई स्वतन्त्र बनायो । आलोचकहरू भन्छन्, यसले मूल्य, सत्य र उद्देश्यमै अनिश्चितता ल्याएर मान्छेलाई दिशाहीन बनायो । परम्परा, नैतिकता र आध्यात्मिक आधार नै भत्किएपछि समाज स्वार्थ र शक्ति सङ्घर्षको अखडा मात्रै बन्छ । विनिर्माणवाद वास्तवमा न पूर्ण रूपमा ध्वंसात्मक हो, न पूर्ण रूपमा मुक्तिदायी । यो एउटा शक्तिशाली बौद्धिक औजार हो । जसलाई कसरी, किन र कता प्रयोग गरिन्छ, त्यसैमा यसको परिणाम निर्भर हुन्छ ।
शक्ति, सत्य र भ्रमको राजनीति
विचारक मिसेल फुकोको प्रसिद्ध तर्क अनुसार ‘सत्य’ सधैँ निष्पक्ष वा सार्वभौमिक हुँदैन; धेरै जसो अवस्थामा यसलाई शक्ति र सत्ताले निर्माण, नियन्त्रण र प्रसार गर्छ । राज्य, धर्म, शिक्षा प्रणाली, न्यायालय र मिडिया जस्ता संस्थाले समाजलाई एउटा निश्चित ‘सत्य’ मा विश्वास गर्न तयार पार्छन् । जनताले त्यो नै अन्तिम यथार्थ हो भन्ने ठान्छन् र त्यसकै आधारमा सोच, निर्णय र जीवनशैली निर्माण गर्छन् । विनिर्माणवादले यही स्थापित संरचनामाथि प्रश्न तेस्र्याउँछ–के हामीले स्वीकार गरेको सत्य वास्तवमै सत्य हो वा सत्ताले सिर्जना गरेको भ्रम मात्र ? यसै विन्दुबाट विनिर्माणवादले विद्रोही चेतनाको जन्म गराउँछ । यसले घोषणा गर्छ कि कोही पनि पूर्ण आधिकारिक हुँदैन, कुनै विचार अन्तिम सत्य हुँदैन र कुनै संस्था सर्वशक्तिमान हुँदैन । यो दृष्टिले हेर्दा विनिर्माणवाद स्वतन्त्रताको दर्शन हो, जसले व्यक्तिलाई आँखा खोल्न, प्रश्न गर्न, आलोचनात्मक सोच विकास गर्न र नयाँ सम्भावनाको खोजी गर्न प्रेरित गर्छ । तथापि, यही शक्ति सीमाहीन र असन्तुलित रूपमा प्रयोग भयो भने यसले सबै कुरा नकारात्मकताले ढाक्न सक्छ । निरन्तर शङ्का, अविश्वास र सन्देहले समाजमा अराजकता र नैतिक शून्यता पनि निम्त्याउन सक्छ, जसले स्वतन्त्रताको सट्टा भ्रम र दिशाहीनता जन्माउन सक्छ ।
विनिर्माणवादी प्रयोगशाला
आजको नेपाली समाजलाई नियाल्दा एउटा ‘भत्काउने मनोदशा’ स्पष्ट रूपमा देखिन्छ । राजतन्त्र पतन गरियो, पञ्चायती व्यवस्था हटाइयो, पुराना शक्ति संरचना, परम्परा र मूल्यहरू विस्थापित गरिए । जनताको आवाज निरङ्कुश शासनभन्दा बलियो बन्यो र नागरिक चेतनाले ऐतिहासिक मोड लियो । यी परिवर्तन अन्याय, विभेद र सत्ताको एकाधिकार अन्त्य गर्न आवश्यक पनि थिए । परिवर्तनको त्यो लहर आशाको बिउ बोकेको थियो, समानता र न्यायको सपना बोकेको थियो ।
आज प्रश्न उठ्छ, भत्काइएपछि के बन्यो ? स्थापित राजनीतिक दलहरू आफ्नै सिद्धान्तबाट विचलित हुन थाले, गुटबन्दी र स्वार्थले नेतृत्वलाई नै दिशाहीन बनायो । सत्ता प्राप्ति नै एक मात्र लक्ष्य बन्दै गयो, जहाँ जनहित र नैतिकताले स्थान गुमायो । कानुनी संरचना त बने तर ती संरचनाभित्रको ‘आत्मा’ हराउँदै गयो । जनताका अपेक्षा र वास्तविकताबिच निकै ठुलो खाडल उत्पन्न भयो । परिणामतः अस्थिरता, भ्रष्टाचार, अवसरवाद र नैतिक पतनले समाजलाई जकडिरहेको छ ।
आजको राजनीतिक बहस निर्माणभन्दा बढी निन्दा, आलोचना र ध्वंसमा सीमित छ । जनताले अब व्यक्तिलाई मात्र होइन, सम्पूर्ण प्रणालीलाई नै अविश्वास गर्न थालेका छन् । ‘सबै गलत छन्, सबै झुटा छन्, सबै स्वार्थी छन्’ भन्ने भावना जनमानसमा गहिरिँदै गएको छ, जुन सिधा वा परोक्ष रूपमा विनिर्माणवादी सोचको प्रभाव पनि हो । विकल्प के ? समाधान निरन्तर भत्काउनुमा होइन, नयाँ चेतनासहित पुनर्निर्माणमा छ । नैतिक नेतृत्व, उत्तरदायी शासन प्रणाली, पारदर्शिता, सामाजिक न्याय र मूल्य आधारित राजनीति नै अबको मार्ग हो । नागरिकले आलोचनासँगै समाधान पनि प्रस्तुत गर्न सिक्नु पर्छ । नेताले सत्ताको होइन, सेवाको मार्ग अवलम्बन गर्नु पर्छ । नेपाललाई अब विनिर्माण होइन, सन्तुलित नवनिर्माणको दर्शन आवश्यक छ– जहाँ प्रश्न पनि गरिन्छ तर उत्तर र बाटो पनि खोजिन्छ ।
प्रश्न गर्ने पुस्ता कि भत्काउने
जेनजी अर्थात् डिजिटल युगमा हुर्किएको पुस्ता नेपालमा पनि तीव्र रूपमा उदीयमान छ । इन्टरनेट, सामाजिक सञ्जाल, कृत्रिम बुद्धिमत्ता र विश्वव्यापी सम्पर्कको बिचमा हुर्केको यो पुस्ता अघिल्ला पुस्ताभन्दा धेरै जागरूक, सूचनामा पहुँचयुक्त र अभिव्यक्तिमा निर्भीक देखिन्छ । उनीहरूको सबैभन्दा ठुलो शक्ति नै प्रश्न गर्ने साहस हो । जेनजीले सोध्ने प्रश्नहरू यस्ता हुन्छन, किन हामी अझै विकासमा पछि परिरहेका छौँ ? किन नेताहरू जनताको साँचो प्रतिनिधि बन्न सकेका छैनन् ? किन समाजमा नैतिकता कमजोर हुँदै गएको छ ? किन हाम्रो शिक्षा प्रणाली समयानुकूल हुन सकेको छैन ?
यी प्रश्न अस्वस्थ होइनन्, बरु समाजका लागि आवश्यक र परिवर्तनका सङ्केत हुन् । इतिहास सधैँ प्रश्न गर्नेहरूकै कारण अगाडि बढेको छ । यदि कसैले पुरानो व्यवस्थामाथि प्रश्न उठाउँदैन भने नयाँ सम्भावनाको ढोका कहिल्यै खुल्दैन । त्यस अर्थमा जेनजी आशाको प्रतीक पनि हो । नयाँ सोच, नयाँ दृष्टिकोण र नयाँ सम्भावनाको वाहक । समस्या तब सुरु हुन्छ, जब यही प्रश्न गर्ने प्रवृत्ति मात्र नकरात्मक आलोचनामा सीमित हुन्छ । जब संवादको सट्टा व्यङ्ग्य, गाली, अपमान र विरोध संस्कृति नै अभिव्यक्तिको प्रमुख माध्यम बन्छ; जब समाधान खोज्नुको सट्टा दोष देखाएर रमाइन्छ, तब चेतना र विद्रोहबिचको स्वस्थ रेखा मेटिन थाल्छ । त्यसपछि प्रश्न सशक्त साधन होइन, विनाशको हतियार बन्छ ।
यहीँ विनिर्माणवादको खतरा देखा पर्छ । किनभने भत्काउन सजिलो हुन्छ तर नयाँ र बलियो संरचना बनाउनु गाह्रो; अनि त्यो बनेको संरचना जोगाइराख्नु झन् कठिन हुन्छ । त्यसैले यो पुस्ताको कर्तव्य पुरानो भत्काउनु मात्र होइन, भन्दा धेरै ठुलो नयाँ सिर्जना गर्नु, सुधार गर्नु र भविष्य जोगाउनु पनि हो । जेनजीले आफ्नो ऊर्जा र विवेकलाई सन्तुलनका साथ प्रयोग गर्न सक्यो भने, यही पुस्ताले नेपाललाई साँच्चिकै रूपान्तरणको दिशातर्फ लैजान सक्छ ।
विनिर्माणवाद आवश्यक छ कि छैन
निष्पक्ष भएर हेर्ने हो भने, नेपालका लागि विनिर्माणवाद दुई रूपमा उपस्थित छ । आवश्यक थियो, किनभने– विनिर्माणवादी चिन्तनले समाजमा जरा गाडेका अन्यायपूर्ण संरचनामाथि प्रश्न उठाउन महìवपूर्ण भूमिका खेलेको छ । परम्पराको नाममा स्वीकार गरिँदै आएका सत्ताकेन्द्रित नियम, संस्था र विचारधारालाई यसले ‘सामान्य’ वा ‘स्वाभाविक’ मान्न इन्कार ग¥यो । फलस्वरूप, मानिसमा स्थापित व्यवस्थामाथि आलोचनात्मक दृष्टिले हेर्ने चेतनाको विकास भयो । विशेष गरी जातीय, लैङ्गिक र वर्गीय विभेद जस्ता समस्यामा विनिर्माणवादले मौनतामा प्रश्नको आवाज भरेको देखिन्छ । समाजमा गरिने विभेद केवल जैविक वा प्राकृतिक नभई, ऐतिहासिक र राजनीतिक निर्माण हुन् भन्ने बोध गराउन यसले मद्दत ग¥यो । यसले पीडित समुदायलाई आफ्नै कथन प्रस्तुत गर्ने ठाउँ सिर्जना गरेको छ र सत्ताको एकल व्याख्यालाई चुनौती दिएको छ । यस चिन्तनले युवालाई सोच्ने, विश्लेषण गर्ने र खुला रूपमा बोल्ने हिम्मत पनि दियो । प्रश्न गर्नु अवज्ञा होइन, चेतनाको अभ्यास हो भन्ने बुझाइ विस्तार भयो । यसले नागरिकलाई अन्धविश्वास र सत्ता–प्रदत्त ‘सत्य’ बाट मुक्त गर्दै वैकल्पिक दृष्टिकोण खोज्न प्रेरित ग-यो । यसरी हेर्दा, विनिर्माणवाद विघटन मात्र होइन, चेतनाको पुनर्निर्माणतर्फको प्रक्रिया हो,
जसले समाज अझ न्यायपूर्ण र समावेशी बनाउने सम्भावना बोकेको छ ।
खतरनाक पनि बन्यो किनभने विनिर्माणवादी चिन्तनले सामाजिक अन्यायमाथि प्रश्न उठाउने सकारात्मक भूमिका खेले पनि यसको एक नकारात्मक पाटो पनि स्पष्ट देखिन्छ । निरन्तर सबै संरचना, सबै मूल्य र सबै आधिकारिक कथनलाई शङ्काको दृष्टिले मात्र हेर्दा, समाजमा विश्वासको स्थान व्रmमशः अविश्वासले लिन थाल्छ । जब प्रत्येक विचार, संस्था र व्यक्तिलाई ‘शङ्कास्पद’ का रूपमा मात्र बुझिन्छ, तब सामूहिक भरोसा कमजोर हुन्छ र सहकार्यको आधार नै भत्किन पुग्छ ।
यस अवस्थाले रचनात्मक मूल्यभन्दा नकारात्मक सोचलाई प्रोत्साहित गर्न थाल्छ । ‘कसैले ठिक गरिरहेको छ’ भन्दा पनि ‘सबै गलत छन्’ भन्ने धारणा बलियो बन्छ । यसले युवापुस्तामा निरन्तर असन्तोष र तिरस्कारको भावना जन्माउँछ, जसले समाधान खोज्ने चेतनालाई कमजोर बनाउँछ । विद्रोहलाई विचार र लक्ष्यभन्दा बढी, एउटा ‘फेसन’ वा पहिचान देखाउने साधन जस्तो बनाइन्छ । यसले परिवर्तनलाई सतही बनाउँछ र वास्तविक समस्याको गहन समाधानको सट्टा भावनात्मक प्रतिव्रिmया मात्र दिन प्रेरित गर्छ ।
निरन्तर नकारात्मकता र उद्देश्यहीन असन्तोषले अन्ततः मानिसभित्र आत्मिक शून्यता र निराशा बढाउँछ । जब कुनै कुरामा विश्वास गर्न गाह्रो हुन्छ, तब भविष्यप्रतिको आशा पनि क्षीण बन्छ, जसले सामाजिक र व्यक्तिगत दुवै स्तरमा अस्थिरता निम्त्याउँछ । नेपाल जस्तो संस्कृतिले भरिएको, आध्यात्मिक जरा बोकेको समाजमा मात्र भत्काउने दर्शन दीर्घकालीन समाधान हुन सक्दैन । यहाँ पुनर्निर्माण, सन्तुलन र समन्वय चाहिन्छ ।
विनिर्माण होइन, नवनिर्माणको समय
अबको युग परिवर्तनको नारा होइन, रूपान्तरणको चेतनाको खोजीमा छ । आजको मानवता भौतिक रूपमा प्रगति गरेको देखिए पनि, आत्मिक रूपमा थाकेको, विभाजित र दिशाहीन बनेको सत्य हामी सबैका अगाडि छ । व्रmोध, असन्तोष, प्रतिस्पर्धा र अहङ्कारले भरिएको चेतना अब कुनै पनि राष्ट्र, समाज वा पुस्तालाई दीर्घकालीन शान्तिको बाटोमा लैजान सक्दैन । त्यसैले अहिलेको सबैभन्दा ठुलो आवश्यकता भनेको ‘भत्काएर जित्ने’ होइन, ‘जोडेर बचाउने’ दर्शन हो । साहित्यको भूमिका अब विद्रोह अभिव्यक्त गर्नु होइन, विछोडिएको मनलाई जोड्नु, आशा जगाउनु र मानवता पुनर्जीवित गर्नु हो । राजनीति पनि अब सत्ता जित्ने खेल मात्र नभएर, सेवा, निष्ठा र उत्तरदायित्वको अभ्यास बन्नु पर्छ । साँचो नेता त्यो होइन, जसले भाषणमा आगो ओकल्छ तर त्यो हो, जसले समाजमा शान्ति, न्याय र समानताको बिउ रोप्छ ।
जेनजीलाई इतिहासले एउटा गम्भीर दायित्व दिएको छ । उनीहरू डिजिटल क्रान्तिका साक्षी मात्र होइन, नैतिक र आत्मिक पुनर्जागरणका वाहक बन्न सक्छन् । व्रmोध र व्यङ्ग्यभन्दा माथि उठेर करुणा, संवाद र समझदारीलाई अपनाउनु नै उनीहरूको सबैभन्दा ठुलो शक्ति बन्न सक्छ । प्रश्न गर्नु विनिर्माणवादको देन हो तर अब ती प्रश्नका उत्तर खोज्नु, तिनलाई जीवन र नीतिमा रूपान्तरण गर्नु नै नयाँ युगको पुकार हो । नेपाललाई अब नयाँ दर्शन चाहिएको छ, जहाँ सत्य सत्ताले होइन, करुणा, निष्ठा, विज्ञान र चेतनाले निर्माण गर्छ । जहाँ प्रतिस्पर्धा होइन, सहकार्य मूल मन्त्र बन्छ । यही नै अहिलेको यथार्थपरक, मानवतावादी र दिगो क्रान्ति हो । शान्तिको क्रान्ति, चेतनाको क्रान्ति र पुनर्जागरणको क्रान्ति ।