दैलेख समाचारदाता
दैलेख, मङ्सिर १८ गते । जिल्लाको डुङ्गेश्वर गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा देवी चालिसे २०७३ चैत ४ गते हाजिर हुनुभयो । हाजिर भएको पाँच महिनामा उहाँको २०७४ भदौ १२ गते सरुवा भयो ।
जिल्लाका ११ स्थानीय तहमध्ये एक मात्र महिला प्रमुख प्रशासकीय अधिकृतको समय अवधि नपुग्दै सरुवा हुनुले कार्यालय प्रमुखमा महिलालाई नपत्याउने समस्या भएको देखिन्छ ।
उहाँ एउटा उदाहरण हुनुहुन्छ, जिल्लाका स्थानीय तह तथा प्रदेश र सङ्घीय सरकारका कार्यालयमा महिला कार्यालय प्रमुखमा नपत्याउने जिल्ला प्रशासन कार्यालयले राखेको विवरणले पुष्टि गरेको छ । जिल्ला प्रशासन कार्यालयले राखेको ५० वटा कार्यालय प्रमुखको विवरणमा छ वटा कार्यालय प्रमुख महिला भएको उल्लेख छ ।
प्रशासनले राखेको कार्यालय प्रमुखको सूचीमा जिल्ला हुलाक कार्यालय दैलेखको प्रमुखमा निर्मला थापा, मालपोत कार्यालय दुल्लुमा डिलकुमारी योगी, नापी कार्यालय दैलेखमा निमित्त कार्यालय प्रमुख उषा खत्री, नापी कार्यालय दुल्लुमा साधना ढकाल, कृषि विकास बैङ्कमा विद्या सापकोटाबाहेक अन्य कार्यालय प्रमुखमा पुरुष मात्र रहेका छन् । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कार्यरत उपसचिव अनिताकुमारी ज्ञवालीले महिलालाई दोहोरो जिम्मेवारी भएका कारण पनि महिला कार्यालय प्रमुखमा नहुने बताउनुभयो । उहाँले समाजमा अझै पनि महिलालाई जिम्मेवारी दिनुहुँदैन भन्ने मान्यता र सुगममा बस्न खोज्ने समस्याले पनि महिला कार्यालय प्रमुखको जिम्मेवारी कम हुने गरेको पाइएको जनाउनुभयो ।
उहाँले भन्नुभयो, “महिला कर्मचारीसँग काम गर्न स्थानीय तहका जनप्रतिनिधि नै अप्ठेरो मान्ने समस्याले पनि प्रमुख प्रशासकीय अधिकृतमा महिला नल्याउने समस्या छ ।” जिल्ला हुलाक कार्यालय प्रमुख निर्मलाकुमारी थापाले लोक सेवा आयोगले आरक्षण कोटा थपेका कारण पछिल्लो समय निजामती क्षेत्रमा महिला कर्मचारीको सङ्ख्या बढेको भए पनि पुरुष कर्मचारीको तुलनामा महिला कर्मचारी कम रहेको बताउनुभयो । उहाँले पछिल्लो समय सिफारिस भएका महिला कर्मचारी कार्यालय प्रमुख वा प्रमुख प्रशासकीय अधिकृतका रूपमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पठाउने गरेको जानकारी दिनुभयो ।
मालपोत कार्यालय दुल्लुका कार्यालय प्रमुख डिलकुमारी योगीले अहिले पनि धेरै जना सेवाग्राही पुरुष कार्यालय प्रमुखको खोजीमा हुने गरेको बताउनुभयो । उहाँले महिला कार्यालय प्रमुख भएका ठाउँमा आएर हाकिम हुनुहुन्न भन्नुहुन्छ त्यो भनेको महिला कार्यालय प्रमुख भएर आउनै सक्दैनन् भन्ने परम्परागत सोच भएको अनुभव उहाँले सुनाउनुभयो । उहाँले भन्नुभयो, “महिला कर्मचारीको जागिर खाने उमेर र सन्तान हुर्काउनुपर्ने बाध्यता भएका कारण धेरै महिला कर्मचारी हाकिम भएर नआउने अवस्था भएको छ । स्थानीय तहमा रातिसम्म काम गर्नुपर्ने, त्यसलाई समाजले हेर्न दृष्टिकोण, ठेकेदार, जनप्रतिनिधिसँग छलफल गर्नुपर्ने बाध्यतालगायतले पनि स्थानीय तहमा महिला प्रमुख भएर आउन समस्या हुने गरेको कार्यालय प्रमुख योगीको भनाइ छ ।
नापी कार्यालय दुल्लुका प्रमुख साधना ढकालले सेवा प्रवाह गर्दा आमनागरिकको सहयोगमा सेवा प्रवाह गरिरहेको बताउनुभयो । उहाँले दुर्गम क्षेत्रमा गएर सेवा प्रवाह गर्न कठिन भए पनि स्रोत साधन भएको खण्डमा सेवा प्रवाह गर्न आफूहरूलाई समस्या नहुने जनाउनुभयो । उहाँले भन्नुभयो, “महिला कार्यालय प्रमुख भएको कार्यालयमा नागरिकले सहजै पहुँच राख्ने र सेवा लिने गर्नुहुन्छ ।”
महिला अधिकारका क्षेत्रमा क्रियाशील अधिकारकर्मी सुनिता चन्दले राज्यका हरेक निकायमा महिला सहभागिताको सवाल उठाइरहेको भए पनि राज्यका निकायमा महिला कर्मचारीलाई नपत्याउने समस्या रहेको बताउनुभयो । उहाँले महिला कर्मचारीलाई दोहोरो समस्या भए पनि सेवा प्रवाहमा अब्बल हुँदाहुँदै पनि प्रमुख पदमा महिलाको उपस्थिति कमजोर हुने गरेको उल्लेख गर्नुभयो ।