• १९ मङ्सिर २०८२, शुक्रबार

बेलिब्रिज जडान सुरु

blog

अघिल्लो वर्ष बाढीले बगाएको सुनकोशीको पक्की पुल जहाँ अहिले बेलिब्रिज जडान गर्न लागिएको छ  ।तस्बिर : भक्तिविलास पोखरेल

गाईघाट समाचारदाता 

गाईघाट, मङ्सिर १९ गते  । सगरमाथा लोकमार्ग अन्तर्गत उदयपुरको गाईघाटदेखि खोटाङको दिक्तेल जोड्ने सडकखण्डमा सिधा यातायात यही मङ्सिर महिनाको अन्तिमदेखि नियमित हुने भएको छ । 

विगत छ महिनादेखि अवरुद्ध रहेको यो लोकमार्गमा फोक्सिन्टारस्थित सुनकोशी नदीमा बेलिब्रिज जडानको काम सुरु भएसँगै दुई जिल्ला जोड्ने यातायात सञ्चालन हुने निश्चित भएको हो । 

गाईघाट–दिक्तेल सडक योजना कार्यालय उदयपुरका अनुसार ठेक्का सम्झौता भइसकेको र सम्पूर्ण सामग्री तयारी अवस्थामा पुगेकाले अबको केही दिनभित्रै काम सम्पन्न गरेर पुल सञ्चालनमा ल्याउन कुनै कसर रहने छैन ।

योजना प्रमुख डिई दीपेश रजकका अनुसार अबको बढीमा १२ दिनभित्र बेलिब्रिज तयार भइसक्ने प्राविधिकको आकलन छ । नदीमा पानीको सतह नघटेकाले काम सुरु गर्न केही ढिलाइ भए पनि अब सतह कम हुँदै गएकाले तीव्र गतिमा काम अगाडि बढाइने डिई रजकले बताउनुभयो । 

बेलिब्रिज जडान गर्ने ठेक्का एमए÷एस आर्यन कन्स्ट्रक्सन मल्टी पर्पोज प्रालि कटारी–३, उदयपुरले लिएको छ । यस कार्यका लागि कम्पनीले मूल्य अभिवृद्धि कर (भ्याट) सहित ९६ लाख ७७ हजार ९३७ रुपियाँमा ठेक्का सम्झौता गरी निर्माणको काम सुरु गरेको डिई रजकले बताउनुभयो । 

गत वर्ष असोज १२ गते राति आएको अविरल वर्षाका कारण सुनकोशी नदीमा आएको भीषण बाढीले फोक्सिन्टारको १२० मिटर लामो मोटर चल्ने पक्की पुल बगाएपछि गाईघाट–दिक्तेल सिधा यातायात विच्छेद भएको थियो । झन्डै १३ वर्ष लगाएर निर्माण भएको आर्क डिजाइनको उक्त पुल बाढीले बगाएपछि सम्पर्क जोड्न गत वर्ष पुसमा उक्त स्थानमा लगाइएको बेलिब्रिज वर्षायाम सुरु भएसँगै गत चैत महिनाको अन्तिममा निकालिएको थियो । बेलिब्रिज निकालिएसँगै यातायातको सम्बन्धविच्छेद भएका दुई जिल्लाका यात्रु झोलुङ्गे पुल तरेर गन्तव्यमा पुग्ने गरेका छन् भने सवारीसाधन रसुवाघाटको वारि र पारि रोकिँदै आएका छन् ।