• ८ वैशाख २०८१, शनिबार

एसियाड पूर्वावलोकन/बास्केटबल

पदकभन्दा पनि खेल जित्ने लक्ष्य

blog

काठमाडौँ, साउन २६ गते । नेपालमा बास्केटबल निकै लोकप्रिय छ । स्कुल र कलेज स्पोर्ट्समा बास्केटबल नम्बर एक खेल हो । स्वदेशमा यति लोकप्रिय भइसक्दा पनि अन्तर्राष्ट्रिय मञ्चमा नेपाली बास्केटबलको सहभागिता र उपलब्धि त्यत्ति उल्लेखनीय छैन । यद्यपि दक्षिण एसियाली क्षेत्रमा नेपाली बास्केटबल प्रायः पदकबाट वञ्चित हुने गरेको छैन । एसियाली खेलकुदमा भने नेपाली बास्केटबल सहभागितामा मात्र सीमित हुँदै आएको छ । यसपालि चीनको हाङजोउमा हुने १९ औँ एसियाली खेलकुदमा पनि नेपाली खेलाडीले बास्केटबल प्रतियोगितामा सहभागिता जनाउँदै छन् । नेपालको महिला थ्री बाई थ्री बास्केटबल टिमले एसियाको सबैभन्दा ठुलो मेलामा प्रतिस्पर्धा गर्ने छ । महिला बास्केटबल टिमले तेस्रो पटक एसियाली खेलकुदमा सहभागिता जनाउन लागेको हो ।

कप्तान श्रेया खड्का

सो टिमकी कप्तानमा श्रेया खड्का हुनुहुन्छ । अन्य खेलाडी मिना गुरु , गरिशा सिलवाल र रिन्जिङ मोक्तान रहनुभएको छ । एसियाडका लागि विगत दुई महिनादेखि यी महिला बास्केटबल खेलाडीहरू निकै मेहनतका साथ प्रशिक्षण लिइरहेका छन् ।  

नेपाल बास्केटबल सङ्घका महासचिव नरेन्द्र थापा महिला थ्री बाई थ्रीमा मात्र भाग लिने भएपछि त्यति धेरै खुसी हुनुहुन्न । राष्ट्रिय खेलकुद परिषद् र नेपाल ओलम्पिक कमिटीलाई एसियाडका लागि महिला र पुरुष दुवैको सहभागिता जनाउनका लागि निवेदन दिएको थियो तर महिला थ्री बाई थ्री मात्र एसियाडमा जाने भयो । उहाँ भन्नुहुन्छ, “महिला बास्केटबल फाइन अन फाइभमा राम्रो हुँदाहुँदै पनि थ्री बाई थ्रीमा भाग लिन बाध्य भयो ।  थ्री बाई थ्री संरचनाकै कुरा गर्ने हो भने यसमा नेपाल पुरुष टिम राम्रो छ । तर पुरुष थ्री बाई थ्री टिमलाई पनि एसियाडमा लान अस्वीकार गरियो ।”

प्रशिक्षक विकास शाही १७ औँ एसियाली खेलकुद नेपाली बास्केटबलका लागि विशेष प्रतियोगिता बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “एसियाली खेलमा पदक जित्छु भनेर दाबी गर्नु यथार्थपरक हुँदैन । एसियाली खेलकुदमा हामीभन्दा उच्चस्तरका टिमको सहभागिता रहेको हुन्छ तर यस्तो प्रतियोगितामा सहभागिताले अन्य खेलाडीलाई प्रेरणा दिन्छ । यद्यपि हामी कमजोर छौँ भन्न खोजेको पनि होइन । नेपाल अहिले महिला बास्केटबलमा  राम्रो वरीयतामा रहेको मङ्गोलियालाई हराइसकेको टिम हो । त्यसैले मलाई विश्वास छ हामी केही खेल पक्का जित्ने छौँ ।”

रिन्जिङ मोक्तान

उहाँले प्रशिक्षण राम्रो भइरहेको जानकारी पनि दिनुभयो ।  बास्केटबलको अभ्यास मात्र होइन, इन्डुरेन्स बढाउन जिम सेसन पनि छ । प्रतियोगिता नहुँदा खेलाडीको फिटनेसमा डर थियो तर सबैले आफ्नो फिटनेसमा एकदम काम गरिरहेको छ । यसै गरी खेलाडीको पोषणमा पनि त्यत्तिकै ध्यान दिइएको छ । यस टिममा नयाँ र युवा खेलाडी छन् । त्यसैले पनि विगतमा भन्दा अझ राम्रो हुन्छ भन्ने आशा प्रशिक्षकले गर्नुभएको छ । 

प्रशिक्षक विकास शाही

कप्तान श्रेयाले पनि राम्रो अभ्यास, जिम सेसन र सन्तुलित भोजनले आफूहरू बलियो महसुस गरिरहेको जानकारी दिनुभयो । उहाँले पहिलेभन्दा यसपालिको प्रशिक्षण धेरै राम्रो भएको धारणा व्यक्त गर्नुभयो । उहाँ नेपाली बास्केटबलको आफ्नै कोर्ट नभएको गुनासो भने गर्नुहुन्छ । उहाँका अनुसार एसियाडमा उच्चस्तरका टिमसँग प्रतिस्पर्धा गर्न वैदेशिक प्रशिक्षण अहिलेको आवश्यकता हो । 


प्रशिक्षक विकासले दक्षिण कोरिया, भारत र थाइल्यान्डमध्ये एक राष्ट्रमा वैदेशिक प्रशिक्षण गर्न सुझाएका बताउनुहुन्छ । त्यसमा नेपाल बास्केटबल सङ्घले पनि पहल गरिरहेको जनाएको छ । बास्केटबल टिमकी सदस्य रिन्जिङले देशले यस खेललाई उपेक्षा गरेको गुनासो गर्नुहुन्छ । सम्बन्धित निकायको नजरमा नपरेको यस खेललाई हामी महिला बास्केटबल टिमले विश्वमा चिनाउने प्रयासमा गर्ने छौँ ।” पहिलो पटक एसियाडमा खेल्ने अवसर पाउँदा  रिन्जिङ निकै खुसी र उत्साहित हुनुहुन्छ ।    

तस्बिर : विकाश द्वारे ।