• १२ मंसिर २०८१, बुधबार

त्रिविमा चाँदीको घेरा

blog

त्रिविमा राजनीतीकरण हुनु त्रिवि समुन्नतिको बाधक हो भन्ने एउटा जबर्जस्त विश्वासले आमनागरिक, बुद्धिजीवी र हरेक तह र तप्काका जनतामा गहिरो जरा गाडेको छ । त्रिविका आकाशमा राजनीतिका काला बादल मडराइरहेको र त्रिविले छर्ने ज्ञानको ज्योति त्यही बादलले छेकेको भन्ने भाष्य जबर्जस्त रूपमा स्थापित गरिँदो छ । यहाँनेर सम्झनुपर्ने एउटा कथन छ, ‘जुनसुकै बादलमा पनि चाँदीको घेरा हुन्छ ।’ हो त्रिविबारे हामी जे गर्जन सुनिरहेछौँ र जजस्ता काला बादलहरू देखिरहेछौँ त्यहाँ अलिकति गहिरिएर हेर्ने हो भने त्यसभन्दा पृथक् त्यहाँ प्रविधि र रिसर्च र आन्तरिक सुशासनलगायत विविध क्षेत्रमा त्रिविले फड्को मारेका चम्किला चाँदीका घेरा पनि हामी मनग्गे देख्न सक्छौँ । 

राजनीतिले बिगार्छ भन्ने भाष्य नै त्रुटिपूर्ण छ । असल राजनीतिले जहिल्यै सपार्छ, कहिल्यै बिगार्दैन । समग्र मानव सभ्यताको विकासको मूल उत्स नै राजनीति हो । तर के चाहिँ सत्य हो भने राजनीतिको एप्रोन लगाएर गरिने अत्याचार वा कुरूप राजनीतीकरण चाहिँ विकासको बाधक हो । त्रिविमा अहिले पेसागत सङ्गठनका नाममा जेजति वैचारिक सङ्गठन छन् तिनले नेतृत्वगत हितभन्दा माथि उठेर पेसाको हक र हितमा स्वस्थ विमर्श गरिदिए आफ्नो लिकमा सजिलैसँग गुड्न त्रिविको गाडीलाई सहज हुँदो हो । 

गठेमङ्गलमा ससाना बालबालिकाले डोरीले छेकेर पैसा असुले झैँ प्राध्यापक कर्मचारी सङ्गठनका नाममा अवैध संयन्त्र बनाइ आफ्ना र आसेपासेका नियुक्तिका लागि दबाब दिन षड्यन्त्र गर्दै डोरी मात्र थाप्ने काम गर्ने प्रवृत्तिले त्रिविमा एक प्रकारको विकृति निम्त्याएकै हो । विद्यार्थी सङ्ठनको आवरणमा आपराधिक मनोवृत्तिको एप्रोन लगाएर केहीले धम्कीपूर्ण डोरीले छेकेर पैसाका झोली थाप्ने र झोली नभरिए तालाबन्दी गर्ने, पदाधिकारीमाथि हमला गर्ने र प्राध्यापकलाई मरणासन्न हुने गरी निर्घात हमला गर्ने प्रवृत्ति विश्वविद्यालयमा मौलाएको हामीले देखे पढेकै हो । विश्वविद्यालयको प्रधानमन्त्री कुलपति हुने तर त्यही विश्वविद्यालयमा महिनौँसम्म तालाबन्दी गरी विश्वविद्यालयलाई बन्दी बनाएको जुनसुकै कुलपतिले पनि टुलुटलु हेरेर बस्न केले बाध्य बनाइरहेको छ ? 

हो, त्रिविभित्र यस्ता अनेकौँ समस्या र विकृतिका चाङ छन् । यी दृश्य सतहमा आएका छन् । यिनैका आधारमा सतही धारणा बनाएर विश्वविद्यालय पूरै खत्तम भयो भन्ने जुन भाष्य खडा गरिँदै छ, बरु तिनैबाट विश्वविद्यालयलाई खतरा हुने हो कि भन्ने भय छ । यसैबिचमा त्रिविले गरेका सकारात्मक र दूरगामी महत्वका केही कार्यहरूको चर्चा गरौँ जसले विश्वविद्यालयभित्र यस्ता सङ्कटका बिचमा केही राम्रा काम पनि भइरहेका छन् भन्ने ‘खत्तम भाष्यकारहरू’लाई पनि मनन होस् । 

त्रिभुवन विश्वविद्यालयले यस कालमा प्रविधिमा फड्को मारेको छ, अनुसन्धानमा निकै अघि बढेको छ, सुशासनका क्षेत्रमा आशलाग्दा किरणहरू देखापरेका पनि छन् । कोभिड १९ को महामारी विश्वभर कहर बनेर आयो तर यसले त्रिविलाई प्रविधिमय बनाउने चुनौती र अवसर दियो । यस समयमा त्रिविमा पनि महिनौँ महिना पठनपाठन हुन सकेन । यो र यस्ता भावी कहरसँग जुध्न र यस्ता सङ्कटबाट तात्कालिक र दीर्घकालिक रूपमा मुक्ति दिन आफूलाई प्रविधिमय बनाउने अभियानमा यसैबिच त्रिवि युद्धस्तरमा होमियो । पहिले जुम र त्यसपछि माइक्रोसफ्ट टिम्सबाट कक्षा सञ्चालन गरिए । ल्यापटप अन गर्न पनि नजानेका कतिपय शिक्षक र विद्यार्थी ल्यापटप, कम्प्युटर र स्मार्ट फोनमार्फत ‘टिच एन्ड स्टडी फर होम’ मा जोडिए । 

समयको गतिअनुसार शिक्षक र विद्यार्थीहरू प्रविधिमैत्री भए, उनीहरू अपडेट अर्थात् अद्यावधिक भए । चार लाख माइक्रोसफ्ट आइडीमार्फत ५०० भन्दा बढी कर्मचारी र ६००० भन्दा बढी प्राध्यापकलाई जोडियो । प्रविधि युगले चक डस्टर र मार्कर युगलाई उछिन्न थाल्यो । त्रिविले आफ्नै नयाँनयाँ सफ्टवेयर बनायो र सबै क्याम्पस जिपिएस् प्रविधिमार्फत जोडिए । लेखासम्बन्धी काम सबै सफ्टवेयरमा लिन्क भयो । यसै बिचमा नेपाल सरकारको सहयोगमा सबै आङ्गिक र सामुदायिक क्याम्पस अप्टिकल फाइबरमा जोडिने क्रम जारी छ । 

यसै बिचमा त्रिविले अनुसन्धानमा पनि फड्को मा-यो । बजेटको अभावमा तलबभत्ता पनि खान मुस्किल परिरहेका त्रिविका अनुसन्धान र यससँग सम्बन्धित केन्द्र र संस्थाहरूमा प्रचुर बजेटमार्फत रक्तसञ्चार हुनाका साथै अनुसन्धानको धमनी सुचारु भयो । २०७६–७७ मा पहिलोपल्ट अनुसन्धानका लागि भनेर पहिले ९ करोड र पछि थप ३ करोड सरकारले छुट्याएपछि त्यसमा त्रिविले ३१ करोड बजेट थप ग-यो । शिक्षक र कर्मचारीलाई अनुसन्धानका लागि चाहिने जति पनि स्तरीय पठनीय सामग्री छन् ती सबै त्रिवि केन्द्रीय पुस्तकालयले एब्स होस्ट, डाटाबेस र डिजिटल लाइब्रेरी अफ इन्डियाका सामग्री घरमै बसेर पढ्न मिल्ने व्यवस्था ग-यो । 

अनुसन्धान कार्य र स्नातकोत्तर, एमफिल तथा पि एच्डीमा हुने बौद्धिक चोरी अर्थात् प्लेजारिज्म (भावहरण) व्यापक भएको भनी त्रिवि बदनाम भएको थियो । त्यसलाई रोक्न त्रिविले बौद्धिक चोरी रोक्ने सफ्टवेयर खरिद गरी प्रयोगमा ल्याएर अनुसन्धान कार्यलाई व्यवस्थित र निकै गुणस्तरीय बनाउने प्रयास गरिरहेको छ । 

त्रिविले गरेको अर्को महत्वपूर्ण कार्य सुशासनको प्रयास र प्रयोगसमेत हो । त्रिविभित्रका पदमा नियुक्त हुने डिन, सहायक डिन, क्याम्पस प्रमुखलगायत पदमा नियुक्तिका लागि ज्येष्ठताका साथै निश्चित योग्यताको मापदण्ड बनायो । यसले गर्दा वैचारिक पेसागत सङ्गठन मिलेर संयन्त्र बनाउने तिनले भागबन्डाका नाममा होटल रिसोर्टमा बसेर नियुक्तिका लागि पदाधिकारीलाई अनुचित दबाब र धम्की दिने कार्य करिब निस्तेज हुँदो छ । सरकारले पनि उपकुलपति, रेक्टर र रजिष्ट्रार नियुक्ति गर्नका लागि एउटा मापदण्ड बनाई आवश्यक परे तिनको सार्वजिक सुनुवाइसमेत गर्न सकिने गरी कुनै पद्धति अपनाउने हो भने उपकुलपतिलगायत पद प्राप्त गर्न बालुवाटार वा सिंहदरबारका दैला ढुक्ने र नियुक्ति खाने प्रवृत्ति निरुत्साहित हुँदो हो । साथै केही यस्ता पनि छन्, जसले ललाटमा लेखेर ल्याए झैँ पटकपटक नियुक्त खाइरहेछन् । यसरी एउटै व्यक्तिलाई पटकौँ पटक नियुक्ति दिने कुराको उपयुक्तताको पनि पुनरवलोकन भइदिए हुन्थ्यो । 

विश्वविद्यालयमा ई हाजिरीको व्यवस्था र करोडौँ बेरुजु न्यून गर्न र बेरुजु फस्र्योट गर्ने जस्ता कार्य यस अवधिमा विश्वविद्यालयमा भएका छन्, जसलाई सुशासन र आर्थिक अनुशासन कायम गर्ने अभियानको आरम्भका रूपमा लिन सकिन्छ । पूर्वपदाधिकारीले विश्वविद्यालयको जग्गा विभिन्न संस्थालाई प्रसाद बाँडे झैँ बाँड्ने काम अहिले भएको छैन । गणतन्त्र टावरका नाममा दिने निर्णय भएको साठी रोपनी जग्गासमेत फिर्ता ल्याउने कार्य भएको देखिन्छ । 

यति हुँदाहुँदै पनि स्वायत्त भनिएको त्रिवि पूरै सुध्रेको मान्न सकिन्न । यहाँ सरकारले समयमै पदाधिकारी नियुक्त नगर्नु, नियुक्त गर्दा राम्राभन्दा पनि हाम्रा नियुक्तिमा ध्यान जानु, दैलो ढुक्नेले प्राथमिकता पाउनु, दशकभन्दा बढी विश्वविद्यालयमा काम गरेका करारलगायत प्राध्यापक कर्मचारीलाई स्थायी सेवाका लागि सेवामा नियमित प्रक्रिया पूरा नगर्नु, पदाधिकारीले आफ्नो काम र समस्यालाई समयसमयमा पत्रकार सम्मेलनमार्फत सूचना नदिनु र विश्वविद्यालयमा अनुगमन संयन्त्र झारा टार्ने काममा व्यस्त रहनु उचित होइन । 

प्राध्यापक र कर्मचारीमाथि फौजदारी हमला हुँदा पनि निरीह हुनु, परीक्षा र परीक्षा परिणाम निकाल्न लामो समय लाउनु, जग्गादाता कीर्तिपुरका आदिवासी समुदायसँग सम्झौता गर्नु तर लागु नहुनु, परीक्षामा देखिने गम्भीर त्रुटिलाई राम्ररी सम्बोधन गर्न नसक्नु कमजोर पक्ष हो । अनुसन्धान सङ्ख्यात्मक रूपमा बढे पनि त्यसले सम्बन्धित विषय वा राष्ट्रको नीति निर्माणमा योगदान दिन सक्ने गरी गुणस्तरीय अनुसन्धान भए नभएको मूल्याङ्कन नगरिनु जस्ता दुर्बलता यहाँ प्रचुर छन् । 

अहिलेको विश्वविद्यालय राजनीतिले बिगारेको होइन । कुरूप राजनीतिक आवरणमा मात्र देखिने केही प्राध्यापक कर्मचारी, आपराधिक आवरणमा र हिंस्रक रूपमा प्रस्तुत हुने कतिपय विद्यार्थी र वैचारिक रूपमा आफूसँग आस्था मिल्नेलाई भान्सा पसाल्ने र अरूलाई आँगनका डिलमा टुक्रुक्क बसाउने पदाधिकारीका कारण यो केही दशकदेखि परम्परागत रूपमा घाइते छ । प्रधानमन्त्री नै कुलपति बन्ने हुँदा प्रधानमन्त्रीको पहलमा यी विकृति रोक्न र त्रिवि पदाधिकारीका काममा बाधा प-याउने तत्वलाई थन्को लाउन राज्य नै सचेत हुनुपर्ने देखिन्छ । त्यसो भयो भने यहाँ तालाबन्दीलगायतका विकृतिको अन्त्य हुने र विश्वविद्यालयको अस्वस्थ प्राज्ञिक गतिविधि स्वस्थ हुने छ ।    

Author

प्राडा ऋषिराम शर्मा