• १२ मंसिर २०८१, बुधबार

ओझेलमा निषाद समुदायका मुद्दा

blog

मानव सभ्यताको विकास सँगसँगै मुख्यतः भारत र नेपाललगायत संसारभरिका निषाद (मछुआरा) समुदायले आफ्नो विकास, प्रगति, उन्नतिसहित राज्यमा हिस्सेदारीको मुद्दालाई उठाउँदै आइरहेको छ । राज्यसत्ताको हरेक संयन्त्रबाट पछाडि पारिएको यो समुदाय सामाजिक न्यायका लागि विभिन्न रूपमा सङ्घर्ष गरिरहेको छ । हरेक मानवको चाहना र भावना हुन्छ सामाजिक न्याय, समानता, स्वतन्त्रता, आर्थिक समृद्धि, राजनीतिक अधिकार प्राप्त होस् । एक सङ्गठनले अर्को सङ्गठनलाई, एक व्यक्तिले अर्कोलाई निषेधात्मक रूपमा बुझ्ने र सङ्गठित हुने ठाउँमा झन् विखण्डित हुने प्रवृत्तिले यो समुदायको अवस्था सुध्रिन सकेको छैन । यो समुदायका नेता आआफ्नो तरिकाका व्याख्या, विश्लेषण र त्यसको संश्लेषण गर्दै अघि बढ्दै छन् । भ्रमको खेती गर्दै समाजलाई गुमराहमा पार्ने प्रायः धेरै देखिन्छन् । जसले गर्दा यो समुदाय पछाडि पर्दै छ । 

विज्ञान र प्रविधि क्षेत्रमा द्रुतगतिमा विकास भइरहेको यो युगमा निषाद समुदायको मुक्ति माक्र्सवादी दर्शनबाहेक अन्य दर्शन र सिद्धान्तबाट आजको युगमा असम्भव छ । सामाजिक न्यायको प्रश्नमा न्यायोचित उद्देश्य प्राप्त गर्न कुशल नेतृत्व, सही कार्यदिशा, सिद्धान्त, व्यावहारिक सङ्गठन र ती सङ्गठनलाई सिद्धान्त र व्यवहारको उचित संयोजनसहित समाजमा व्यापक रूपमा विस्तार गरिनु पर्छ । माओ भन्छन्, “हरेक कुरोको फैसला सही विचारले गर्छ । विचार सही छ भने आफूसँग नभएको हरेक कुरो प्राप्त हुन्छ र विचार गलत भएमा आफूसँग भएको चिज पनि सबै गुम्छ ।” त्यसकारण हामीले हाम्रो उद्देश्य प्राप्ति गर्न दृढतापूर्वक सङ्गठनलाई निर्दिष्ट गर्नु पर्छ । हाम्रो समुदाय श्रममा आधारित श्रमिक वर्गको जबरजस्त हिस्सा हो । माक्र्सवादले श्रमिक वर्गको पक्षधरता अपनाउँछ । त्यसैले निषाद समुदायको समस्या सामाधान माक्र्सवादी दर्शन, सिद्धान्त र व्यवहारले मात्रै हल गर्न सकिन्छ । 

माक्र्सवादी दर्शनको प्रयोग गर्ने ठेक्का केवल कम्युनिस्ट पार्टी र तिनका नेतालाई मात्र हुँदैन । माक्र्सवाद भनेको मानव मुक्तिका लागि चलाइने सर्वोत्तम हतियार हो । माक्र्सवाद दर्शन, विचार र सिद्धान्त हो, यसलाई हरेक उत्पीडित समुदायले बुझ्न र आत्मसात् गर्न जरुरी छ । हो, कम्युनिस्ट पार्टीले सर्वहारा वर्ग र उत्पीडित जातिको मुद्दालाई हल गर्छ, त्यसलाई माक्र्सवादी भन्छन् तर जब कम्युनिस्ट पार्टीबाट जातिको उत्पीडन सही ढङ्गले हल हुँदैन भने उत्पीडित जातिले पनि स्वयम् माक्र्सवादी दर्शनलाई न्यायोचित प्रयोग गरिनु पर्छ । 

लेनिनले भनेका छन्, “कम्युनिष्ट पार्टीभित्र सिद्धान्ततः जाति हुँदैन, कुनै प्रकारको विभेद हुँदैन । व्यवहारतः उत्पीडक जातिबाट आएका कम्युनिस्टहरू र उत्पीडित जातिबाट आएका कम्युनिस्टहरू बिचमा कहीँ न कहीँ र केही न केही अन्तर हुन्छन्, विभेद हुन्छन्, पर्खाल हुन्छन् ।” निषाद समुदायमाथि हजारौँ वर्षदेखि नेपालको शासक जाति र वर्गबाट उत्पीडन, अत्याचार, अन्याय, शोषण हुँदै आएको छ । त्यो क्रम अझै रोकिएको छैन । निषाद समुदायमाथि हुने गरेको हरेक प्रकारको भेदभाव, दमन, शोषण र उत्पीडनका बारेमा सरकारले क्षतिपूर्तिसहित निषाद समुदायको अधिकार सजिलै सुनिश्चित गर्न सक्दैन । 

आज नेपालमा निषाद समुदाय जातिय मुक्ति, सामाजिक न्याय, संवैधानिक पहिचान र राजनीतिक अग्राधिकारका लागि छटपटाइरहेको छ । यो समुदायको मुद्दा न कसैले सुनिरहेको छ न त सुन्न चाहेको छ । स्वयम् निषाद समुदायले नयाँ ढङ्गबाट सचेत पहलकदमीको साथ नयाँ प्रकारको सङ्घर्षको उद्घोषसहित नयाँ प्रकारको चेतनशील सङ्गठन निर्माण र परिचालन गर्नु सिवाय अर्को विकल्प छैन । जहाँ सामाजिक विभेदमा आधारित शोषण, उत्पीडन अन्याय कायम रहन्छ, त्यहाँ सङ्घर्ष अनिवार्य सर्त बन्न जान्छ । हरेक प्रकारको विभेद, अन्याय, अत्याचारको विरुद्धमा मानव जातिलाई विद्रोह नै सचेत एवं सशक्त हतियारको रूपमा प्रदान गरेको छ । माक्र्स, ऐंगेल्स, लेनिन, स्टालिन, माओ, चे–ग्वेभेरादेखि हो–चि–मिन्हसम्मले उत्पीडित जातिलाई अग्राधिकारका रूपमा व्याख्या मात्र गरेको छैन, अपितु उत्पीडित समुदायको जायज अधिकारलाई माक्र्सवादी दर्शनकै जगमा स्थापित पनि गरेको इतिहास हामीसँग ताजा छ । जनताको विद्रोह गर्ने नैसर्गिक अधिकार स्थापित र सुरक्षित पनि गरेका छन् । लेनिनले सर्वोच्च सोभियत निर्माण जातिहरूको आत्मनिर्णयको अधिकार र स्वायत्त शासनका आधारमा नै गरेको थियो । 

जब सोभियत सङ्घमा जातीय अहङ्कारवादी, तानाशाहबाट भ्रष्ट गैरमाक्र्सवादी चिन्तन भएको शासकको उदय भयो त्यहाँ जातिहरूको आत्मनिर्णयको अधिकार खारेज गर्ने काम भयो । तत्पश्चात् सोभियत सङ्घ विघटन भयो । हामीलाई थाहा छ विश्वको हरेक मुलुकको विशुद्ध जातीय, भाषिक, रङ्गभेद र क्षेत्रीय आन्दोलन होस् वा लिङ्गीय आन्दोलन जहाँ सचेत पहलकदमी माक्र्सवादी दर्शनमा आधारित भएर अगाडि बढे त्यहाँ सफलता पनि प्राप्त भएका छन् । जहाँ माक्र्सवादलाई अस्वीकार गरियो, त्यहाँ सफलता होइन क्षति बेहोर्दै समाप्त भए । वा गतिहीन हुँदै विलयको सँघारमा पुगेका तथ्य दुनियाँमा पर्याप्त भेटिन्छन् । 

विज्ञान र प्रविधिको युगमा विशुद्ध एकल जातीय आन्दोलन सफल हुन हरेक दृष्टिकोणले सम्भव छैन । तसर्थ नेपालमा निषाद समुदायद्वारा खोलिएको विभिन्न सङ्गठन, सङ्घसंस्थाले मात्र एक्लै निषाद समुदायको मुक्ति आन्दोलनलाई सफलतामा पु-याउँछन् भन्ने मलाई लाग्दैन । निषाद समुदायले आफ्नो अस्तित्व रक्षा विकास र पहिचान सिद्ध गर्दै आफ्नो मुद्दालाई सही समाधान गर्न सचेत सङ्गठनका साथै निषाद समुदाय र सोसरहको उत्पीडन झेलिरहेको अन्य जाति समुदाय र मुख्यतः श्रमिक वर्गसँग एकतासहित मुद्दा मिल्ने सबै पक्षसँग कार्यगत एकता हुनु आवश्यक छ । माक्र्सवादी दर्शनले यही दिशा निर्दिष्ट गर्छ । 

आजसम्मको मानव जातिद्वारा विकास गरिएको विज्ञानमध्ये श्रेष्ठ विज्ञान, विचार र दिशा माक्र्सवादबाहेक अरू हुन सक्दैन । माक्र्सवादी दर्शन मात्र यस्तो दर्शन हो, जसले समाजको हरेक समस्याको हल दिएको छ । माक्र्सवादलाई बुझौँ र यो विज्ञानको जगमा निषाद समुदायको मुद्दाको हल खोजौँ । अवश्य हाम्रो अस्तित्व, पहिचान, संवैधानिक अधिकारसहित हामी अधिकार सम्पन्न हुने छौँ । बाटो कठिन भए पनि भविष्य उज्ज्वल र जित सुनिश्चित हुने छ । 

   

Author

सत्यनारायण भगत