• ११ मंसिर २०८१, मङ्गलबार

राजेन्द्र सुवेदीको ८१ औं जन्मजयन्ती

राजेन्द्र सुवेदीका ‘छानिएका भूमिका’ सार्वजनिक

blog

प्रा. राजेन्द्र सुवेदीको ८१ औं जन्मजयन्तीकोको अवसरमा उहाँका ‘छानिएका भूमिका’ कृति सार्वजनिक कार्यक्रम ।

काठमाडौं, साउन २० गते। वरिष्ठ सर्जक प्रा. राजेन्द्र सुवेदीको ८१ औँ जन्मजयन्तीकोको अवसरमा उहाँका ‘छानिएका भूमिका’ कृति सार्वजनिक गरिएको छ। राजधानीमा आयोजित विशेष कार्यक्रममा संविधानसभाका अध्यक्ष एवम् पूर्व सभामुख सुवासचन्द्र नेम्वाङले सुवेदीको भूमिका संकलन गरिएको कृति सार्वजनिक गर्नुभएको हो। नेकपा (एमाले) का उपाध्यक्ष एवम् प्रतिनिधि सभाका सदस्यसमेत रहनुभएका नेम्वाङले कार्यक्रममा वरिष्ठ कलाकार के के कर्माचार्यले बनाउनुभएको सुवेदीको चित्रसमेत सार्वजनिक गर्नुभयो। 

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेम्वाङले सुवेदीसँग इलाम बस्दाका केही सम्झना सुनाउनुभयो। नेम्वाङले सुवेदीलाई आफूले सधै इलामे ठानेकोसमेत बताउनुभयो। ‘‘राजेन्द्र सुवेदी इलाममा क्याम्पस प्रमुख हुँदा उहाँले निर्वाह गर्नुभएको भूमिका अहिले पनि धेरैले सम्झिन्छन्। २०२९ सालमा इलाममा हुँदा उहाँले सधै सम्झिने आधार तयार पार्नुभएको थियो’’, सुवेदीलाई सम्झदै नेता नेम्वाङले भन्नुभयो। 

नेम्वाङले हिमाल, पहाड, तराई र सबै जातजातिलाई जोड्ने नेपाली भाषाको विकासमा राजेन्द्र सुवेदीको विशिष्ट योगदान रहेको उल्लेख गर्नुभयो। नेम्वाङले भन्नुभयो, ‘‘सबै जातजातिलाई एक ठाउँमा राखेर बाध्ने काम नेपाली भाषाले गरेको छ। हिमाल, पहाड र तराईलाई र सबै जातजातिलाई नेपाल भाषाले जोडेको छ। यो भाषाको विकासमा राजेन्द्र सुवेदीको विशिष्ट योगदान रहेको छ।’’

साहित्यकार जिवेन्द्रदेव गिरीको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा वरिष्ठ साहित्यकार अभि सुवेदी र समालोचक ज्ञानु पाण्डेले राजेन्द्र सुवेदीको बारे मन्तव्य राख्नु भएको थियो। डा. रमेश शुभेच्छुले स्वागत गर्नुभएको कार्यक्रममा सुवेदीका नातिनीसहित अन्य कविले सुवेदीका कविता वाचन गर्नुभएको थियो। कार्यक्रममा राजेन्द्र सुवेदीको जीवन र साहित्य सिर्जनाको विषयमा आधारित डकुमेन्ट्रीको प्रदर्शन पनि गरिएको थियो।  राजेन्द्र सुवेदीको २०७८ जेठ ३ गते सोमबार कोरोना सङ्क्रमणबाट निधन भएको थियो।