चन्द्र पन्दाक
ताप्लेजुङ, असार ७ गते। ताप्लेजुङमा घरेलु हिंसाका घटनामा वृद्धि भएको पाइएको छ। पछिल्लो छ महिनाको अवधिमा भएका मानवअधिकार उल्लङ्घनका घटना विवरणअनुसार घरेलु हिंसाका घटना वृद्धि भएको पाइएको हो।
सदरमुकाम फुङ्लिङमा शनिबार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ताप्लेजुङले आयोजना गरेको अर्ध वार्षिक समीक्षा कार्यक्रममा प्रस्तुत प्रतिवेदनअनुसार जिल्लामा सबैभन्दा घरेलु हिंसाका घटना हुने गरेका छन्। इन्सेक जिल्ला प्रतिनिधि एलिना दियालीले तयार पार्नुभएको प्रतिवेदनअनुसार पछिल्लो छ महिना अर्थात गत पुसदेखि हालसम्मको अवधिमा जिल्लामा विभिन्न ३५ वटा घटना भएका छन्।
मानवअधिकार उल्लङ्घनका ३५ घटनामध्ये ११ वटा घरेलु हिंसासम्बन्धी रहेको इन्सेक प्रतिनिधि दियालीले जानकारी दिनुभयो। घरेलु हिंसासहित अधिकांस घटनामा पीडित हुनेमा महिलाको सङ्ख्या बढी रहेको उहाँले बताउनुभयो। दियालीका अनुसार यस अवधिमा जबरजस्ती करणीका सातवटा घटना भएको छ। करणी धटनामा छ जना बालिका र एक जना महिला पीडित भएका छन्।
यस्तै छ महिनाको अवधिमा अभद्र व्यवहारका सात, ज्यान मार्ने उद्योगका पाँच र अपराधिक उपद्रव व्यवहारका तीन वटा घटना भएका छन्। कर्तव्य ज्यान, बहुविवाह र जबरजस्ती करणी उद्योगसम्बन्धी एक–एक वटा घटना भएको इन्सेकले जनाएको छ। यसैगरी जिल्लामा लागुऔषध दुर्व्यसन सम्बन्धीका घटना पनि तीब्र रूपमा बढेको पाइएको इन्सके प्रतिनिधि दियालीले उल्लेख गर्नुभएको छ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा, प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतम, राजनीतिक दलका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो। इन्सेकको नियमित कार्यक्रमअनुसार अर्ध वार्षिक समीक्षा कार्यक्रम आयोजना गरिएको जिल्ला प्रतिनिधि दियालीले जानकारी दिनुभयो।