न्युयोर्क, असार ७ गते । टेस्लाले ऊर्जा भण्डारणका लागि चीनको मुख्य भूमिमा आफ्नो पहिलो ‘ग्रिड स्केल पावर स्टेशन प्रोजेक्ट’ निर्माण गर्न सम्झौतामा हस्ताक्षर गरेको शुक्रबार घोषणा गरेको छ । टेस्लाले चिनियाँ सामाजिक सञ्जाल वेइबोमा लेखेको एक पोस्टमा भनिएको छ, “यो परियोजनाले ग्रिड संसाधनहरूको लचिलो समायोजनमा मद्दत गर्नेछ र शहरी विद्युत आपूर्तिसँग सम्बन्धित दबाबहरू प्रभावकारी रूपमा समाधान गर्नेछ ।”
टेस्लाले भनेको छ, “यो परियोजना चीनको सबैभन्दा ठूलो ग्रिड साइड ऊर्जा भण्डारण परियोजना बन्ने अपेक्षा गरिएको छ ।”यस्ता ऊर्जा भण्डारण प्रणालीहरूले सौर्य र वायु ऊर्जाको अधिक आपूर्ति भएको समयमा विद्युत ग्रिडमा स्थिरता बढाउन मद्दत गर्दछ । टेस्ला साङ्घाईका अधिकारी र चाइना काङफु इन्टरनेसनल लिजिङ कम्पनीबीच शुक्रबार उक्त परियोजनाका लागि हस्ताक्षर समारोह सम्पन्न भएको चिनियाँ सञ्चार माध्यम यिकाइले जनाएको छ ।
उक्त सम्झौतामा चार अर्ब युआन (५६ करोड अमेरिकी डलर) को लगानी समावेश गरिएको बताइएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको कर वृद्धिपछि दुवै पक्षले दीर्घकालीन व्यापार सम्झौता गर्न बाँकी रहेका बेला वासिङ्टन र बेइजिङबिच तनाव उत्पन्न भएको बेला यो सम्झौता भएको हो । चीन र संयुक्त राज्य अमेरिकाले यसै महिनाको सुरुमा यस परियोजनाका लागि लण्डनमा ‘फ्रेमवर्क’ सम्झौतामा वार्ता गरेका थिए । रासस/एएफपी