• ७ असार २०८२, शनिबार

झडपमा घाइतेको सङ्ख्या १० पुग्यो, सात जना पक्राउ

blog

झडप भएको स्थलमा रहेका सुरक्षाकर्मी र स्थानीय । तस्बिर : गोरखापत्र

जनार्जन खत्री

सर्लाही, असार ७ गते । सर्लाहीको बरहथवा नगरपालिका–४, खैरा टोलमा शनिबार बाटो विस्तारको विषयलाई लिएर भएको झडपमा दुई प्रहरीसहित १० जना घाइते भएका छन् । 

झडप रोक्न प्रहरीले एक राउन्ड हवाई फायर समेत गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार झडप नियन्त्रणमा लिनेक्रममा इलाका प्रहरी कार्यालय बरहथवामा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) दीवाकर गणेश र वरिष्ठ हवलदार प्रमेश्वर राय यादव घाइते भएका छन् । 

यस्तै झडपमा संलग्न सोही ठाउँका ५० वर्षका टीकाबहादुर कार्की, ५२ वर्षका कुलबहादुर कार्की, ४२ वर्षीय रमेश महतो कोहरी, उहाँकी श्रीमती ३८ वर्षीया इन्दु देवी, रमेशकै छोराहरू २८ वर्षीय अनिल कुशवाहा र २६ वर्षीय प्रदीपकुमार कुशवाहा, ३५ वर्षीय उमेश महतो र बरहथवा नगरपालिका–१४, का ३५ वर्षीय सञ्जय कुशवाहा घाइते भएका प्रहरीले जनाएको छ । 

घाइतेमध्ये इन्स्पेक्टर दीवाकर गणेश र बरहथवा–१४, का सञ्जय कुशवाहा प्राथमिक उपचारपछि डिस्चार्ज भइसकेका छन् । कुलबहादुर कार्की र टीकाबहादुर कार्कीलाई थप उपचारका लागि काठमाडौँ रेफर गरिएको छ ।

प्रहरी हवलदार प्रमेश्वर राय यादवको नगर अस्पताल बरहथवा र अन्य पाँच जना घाइतेको बलरा नगरपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्र अचलगढमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

घटनाको विषयमा सोधपुछ गर्न भन्दै बरहथवा ४ का पूर्व वडाध्यक्ष ४० वर्षीय लखेन्द्र महतो, २४ वर्षीय शिशिर कार्की, ४२ वर्षीया रीता कटुवाल, बलरा नगरपालिका–८, बस्ने ३१ वर्षीय रञ्जित महतो, २२ वर्षीय सन्तोषकुमार कुशवाहा, २५ वर्षीय अभिषेक महतो र २५ वर्षीय अरविन्दकुमार साहलाई इलाका प्रहरी कार्यालय बरहथवाले नियन्त्रणमा लिएको छ । खैरा टोलमा बाटो विस्तार गरेर ढलान भइरहँदा केहीदिन अघिदेखि नै विवाद चल्दै आएको थियो । 

आफ्नो जग्गा बढी मिचिएको भन्दै गएको बिहीबार एक जना महिला ढलान भइरहेको सडकमा आएर लम्पसार परेर सुत्नुभएको थियो । ति महिलालाई केही पुरुष र महिला मिलेर लछारपछार पारेर पन्छाएका थिए । 

सोही दिनदेखि बढ्दै गएको विवाद शनिबार बिहान भने झडपमा परिणत भएको हो । झडपमा दुवै पक्षले एक अर्काविरुद्ध बाँसका भाठा र ढुङ्गा प्रहार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । 

जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त प्रवक्ता एवं प्रहरी निरीक्षक बालिष्टर सिंहले प्रहरी घटनास्थलमै तैनाथ रहेकाले थप अप्रिय घटना हुन नपाएको जानकारी दिनुभयो । एक राउन्ड हवाई फायर गरेपछि भीड तितरबितर बनेको प्रहरी निरीक्षक सिंहले बताउनुभएको छ । 

घटनास्थलमा ठुलो सङ्ख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ गरिएको छ । बरहथवा नगरपालिका–४, का वडाध्यक्ष कृष्णकुमार साहले प्रहरीको आग्रह अनुसार शनिबार ढलानको काम स्थगित गरिएको अवस्थामा एक्कासी झडप भएको बताउनुभयो । 

वडाध्यक्ष साहले बाहिरका मानिस आएर झडप गरेकाले घटनाको छानबिन गर्न माग गर्नुभएको छ । खैरा टोलमा १११ मिटर सडक ढलान गर्न बरहथवा ४ को वडा कार्यालयले सात लाख रुपियाँ बजेट विनियोजन गरेको छ ।