• ७ असार २०८२, शनिबार

‘प्रसारण लाइन निर्माण नगरिए दुर्घटना हुनसक्छ’

blog

नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यसहित पदाधिकारीहरु ।

गोरखापत्र अनलाइन

काठमाडौं, असार ७ गते । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले विद्युत प्रसारण लाइनमा निजी क्षेत्रको लगानी बढाएर पर्याप्त निर्माण गर्न नसके दुर्घटना हुनसक्ने बताउनुभएको छ । नेपालमा विभिन्न आयोजनाबाट विद्युत उत्पादन बृद्धि भइरहेको भए पनि सोअनुसार प्रसारण लाइन निर्माण गर्न नसक्दा समस्या आउने अवस्था आइसकेको उहाँको भनाइ छ । 

प्रबन्ध निर्देशक शाक्यसहित प्राधिकरण पदाधिकारीको टोलीले शनिबार केही पत्रकारसँग यहाँ छलफल गर्दै सो कुरा बताउनुभयो । प्रबन्ध निर्देशक शाक्यले भन्नुभयो, “अब हाम्रो प्रयासले मात्र विद्युत प्रसारण लाइन निर्माण सम्भव हुने देखिएन, निजी क्षेत्रले पनि यसमा लगानी बढाउन अनिवार्य छ । त्यसो नगर्ने हो भने दुर्घटना हुन सक्छ । विद्युत उत्पादन मात्र गरेर भण्डारण क्षमता नढाउँदा ठुलो समस्या निम्तिनद सक्छ ।”

प्राधिकरणलाई सरकारले दिने अनुदान सहयोगमा क्रमशः कतौटी भइरहेको चर्चा गर्दै प्रबन्ध निर्देशक शाक्यले भन्नुभयो, “तीन वर्षअघि २१ अर्व सहयोग आएको थियो, त्यसपछि घटेर १३ अर्वमा झ¥यो, सोपछि ८ अर्व हुँदै २ अर्वमा झरेको छ । सरकारको लगानी क्रमशः घट्दै गएकाले निजी क्षेत्रले लगानी बढाउनुपर्छ । त्यसको प्रतिफल प्राधिकरणले उपलब्ध गराउँछ ।”

अरुको मुख ताक्दा कतिपय आयोजनाहरु सम्पन्न गर्न विलम्ब भएको बताउँदै प्रबन्ध निर्देशक शाक्यले प्राधिकरणमा यसअघि विश्व बैंक र एडिबीले मुख्यगरी लगानी गर्ने गरे पनि कतिपय आयोजनामा सहयोग रोकिदा आयोजना सम्पन्न हुन विलम्ब भएको उहाँको भनाइ छ । अब नेपाल विस्तारै आत्मनिर्भरतातर्फ गएकाले लगानी पनि आफै गर्नुपर्ने अवस्था आएको उहाँले बताउनुभयो । 

प्राधिकरणको मुख्य ध्यान गुणस्तरीय काममा रहेको बताउँदै प्रबन्ध निर्देशक शाक्यले भन्नुभयो, “हामीले विद्युत गुणस्तरीयतामा लगानी बढाएका छौं, यसको परिणाम आउन केही समय लाग्छ । विद्युतको गुणस्तर, विद्युत सुरक्षाअ र स्रोत सुनिश्चित्ताका लागि काम गरिरहेका छौं ।”

अरुण थर्डको निर्माणको काम प्राधिकरणको प्राथमिकतामा रहेकाले ऋण लिएर भए पनि त्यसलाई आफैले निर्माण गर्ने उहाँले बताउनुभयो । त्यसलाई चिलिमे मोडलमा निर्माण गर्ने लक्ष्य उहाँले सुनाउनुभयो । 

क्रस बोर्डर लाइनमा प्रगति

प्रबन्ध निर्देशक शाक्यले क्रस बोर्डर प्रसारण लाइनको काम भइरहेको बताउनुभयो । भारततर्फ १२० किलोमिटर प्रसारण लाइनमा भारतीय निजी संस्थाले समेत लगानी गरिरहेको र नेपालतर्फ निर्माण हुने १८ किलोमिटर प्रसारण लाइनको काम पनि प्रक्रियामा रहेको बताउनुभयो । यो वर्ष थप २०० मेगावाट विजुली राष्ट्रिय प्रसारण लाइनमा थपिने उहाँले जानकारी दिनुभयो । 

प्राधिकरणका प्रवक्ता राजन ढकालले पूर्वाधार निर्माणमा ठुलो लगानीको आवश्यकता भएकाले  स्रोत सुनिश्चित गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । प्राधिकरण आफैले कमाएर काम गर्नुपर्ने अहिलेको अवस्था रहे पनि त्यसले चाहेजति काम गर्न नसकिने उहाँको भनाइ छ । अब उपभोक्ता केन्द्रित कार्यक्रमहरु प्राधिकरणले ल्याउन आवश्यक रहेको उहाँले बताउनुभयो । चुनौती भए पनि अघि बढ्नुको विकल्प नरहेको उहाँले चर्चा गर्नुभयो ।

विद्युत प्राधिकरणका पदाधिकारीहरुका अनुसार अहिले नेपालमा विद्युत सेवा प्रयोगकर्ता ग्राहकको संख्या करिब ५६ लाख पुगिसकेको छ । त्यसैगरी ९० प्रतिशत बढी जनसंख्यामा विजुली पुगिसकेको छ ।  विद्युत प्राधिकरणलाई बक्यौता उठाउने चुनौती रहेको र अहिलेसम्म ४४ अर्व बक्यौता उठ्न बाँकी रहेको पदाधिकारीहरुको भनाइ छ ।