यज्ञप्रसाद सापकोटा
गुलरिया (बर्दिया), असार ७ गते । बर्दियाको बारबर्दिया नगरपालिकाले एकै पटक नगरपालिका भित्रका दुईसय २६ जना कृषकलाई कृषिऔजार वितरण गरेको छ ।
कृषि क्षेत्रको आधुनिकीकरण गर्न र किसानको जीवनस्तर उकास्न ५० प्रतिशत अनुदानमा पावरट्रेलर मिनिपावर ट्रिलर र सिँचाइ मोटर वितरण गरेको हो ।
नगरपालिकाले ८७ वटा पावर ट्रेलर, १०० वटा मिनिपावर ट्रेलर र ३९ वटा सिँचाइ मोटर वितरण गरेको छ । किसानलाई वितरण गरिएका उपकरणहरू नगरपालिकाले २ करोड ४४ लाखको लागतमा खरिद गरेको हो । जसमध्ये १ करोड २२ लाख रुपियाँ नगरपालिकाले र बाँकी रकम किसान स्वयम्ले बेहोरेको बारबर्दिया नगरपालिका प्रमुख प्रशासकीय अधिकृत टिकानाथ गोसाईंले बताउनुभयो ।
उहाँले वितरण गरिएका औजारको सदुपयोग गरी यसको दीर्घकालीन लाभ लिन किसानलाई सुझाव दिनुभएको छ । नगरप्रमुख छबिलाल थारूले परम्परागत खेती प्रणालीबाट आधुनिक कृषिमा रूपान्तरण आवश्यक भएको बताउँदै, युवाहरूलाई कृषि क्षेत्रमा आकर्षित गर्न यस्ता योजनाहरू ल्याइएको स्पष्ट गर्नुभयो । उहाँले अब बारबर्दिया नगरपालिकामा कृषि क्रान्ती आउने विश्वास व्यक्त गर्नुभयो ।
कृषि सामग्री पाएपछि किसानहरू हर्षित भएका छन् । कृषि सामग्री पाउने बारबर्दिया नगरपालिका वडा १ जोधिपुरका रामबहादुृुर थारूले किसानहरूको भावनाअनुरुप नै नगरपालिकाले काम गरेको बताउनुभयो । उहाँले पछिल्लो समयमा राँगा र गोरु पाल्ने किसान घट्दै गएकाले पावरट्रेलर किसानको लागि उपयुक्त हुने बताउनुभयो ।